राजनीति

टिप्पणी

विश्व स्वास्थ्य संगठनलाई हरण गर्न खोज्दैछ अमेरिका

अजय अलौकिक |
साउन ११, २०७८ सोमबार १०:३२ बजे

बेइजिङ- हालै विश्व स्वास्थ्य संगठनद्वारा प्रस्तुत चीनमा दोस्रो चरणको कोभिड-१९ (कोरोनाभाइरस) स्रोतको छानबीन गर्ने योजनालाई चीनले अस्वीकार गरेको छ । विश्व स्वास्थ्य संगठने फेरि एक पटक चीनमा कोभिड-१९ को स्रोत खोज्ने योजना सार्वजनिक गरेको हो । यस योजनामा चीनको ऊहान प्रयोगशालामा नियम उल्लंघनका कारण भाइरस चुहिएको विषयको उत्थान् गर्न खोजिएको छ । तर गत मार्चमा विश्व स्वास्थ्य संगठनले नै कोभिड-१९ चीनको प्रयोगशालाबाट निस्किएको होइन भन्‍ने ठोस कुरा सार्वजनिक गरिसकेको छ । 

यसैबीच, कोभिड-१९ को स्रोत खोजी सम्बन्धी अध्ययनमा चीनको वास्तविक परिस्थितिबारे अन्तर्राष्ट्रिय समाजलाई जानकारी गराउनका लागि चीनले जुलाई २२ तारिख एक पत्रकार सम्मेलनको आयोजना गरेको छ । सो सम्मेलनमा चीनका अधिकारी तथा विज्ञहरूले वास्तविक तथ्याङ्क तथा ठोस विषय प्रस्तुत गरेर अमेरिका तथा केही पश्चिमा मुलुकद्वारा सिर्जना गरिएको झुटको खण्डन गरेका छन् । 


साथै चीनले व्यावाहरिक ज्ञान तथा वैज्ञानिक नियम विपरीत जाने गरी दोस्रो चरणको भाइरस स्रोत खोज्ने योजनालाई अनुमोदन नगर्ने पनि प्रष्ट पारेको छ । हालसम्म ऊहान प्रयोगशालामा कोरोना भाइरस सम्बन्धित कुनै अध्ययन भएको छैन साथै कुनै पनि कर्मचारी वा रिसर्चरहरूमा कोभिड-१९ संक्रमण भएको छैन । यसबाहेक उक्त भाइरस प्रयोगशालामा मानवद्वारा निर्मित नभएको पनि प्रष्ट पारेको छ । 

चीनको विज्ञान प्रतिष्ठान अन्तर्गत ऊहान राष्ट्रिय बायोसेफ्टी प्रयोगशालाका प्रमुख युवान चमिङका अनुसार उच्च जैविक सुरक्षा र उच्चस्तरीय सुरक्षा भएको ऊहान पि-फोर प्रयोगशाला सन् २०१८ मा सञ्चालनमा आएदेखि कुनै पनि भाइरस स्रोत लिक हुने र कोही व्यक्ति संक्रमित हुने घटना भएको छैन । 

यसै गरी, चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपप्रमुख चङ यीसिनले हालसम्म सो ऊहान प्रयोगशालाका कुनै कर्मचारी वा रिसर्चरहरू कोभिड-१९ संक्रमित नभएको साथै उक्त प्रयोगशालामा कुनै कोरोना भाइरससित सम्बन्धित अध्ययन नगरेको र मानवबाट निर्मित भाइरस नभएको पनि प्रष्ट पारे । उनले भने, अनुमानको भरमा प्रयोगशालामा नियम कामको उल्लंघनले भाइरस चुहिएको भन्‍ने भनाइ व्यावाहरिक ज्ञान तथा वैज्ञानिक नियम विपरीत भएकोले चीनले त्यस योजनालाई स्वीकार गर्ने छैन । 

गत जनवरीमा विश्व स्वास्थ्य संगठनका अन्तर्राष्ट्रिय विज्ञ र चिनियाँ विज्ञबाट गठित संयुक्त विज्ञ दलले चीनमा २८ दिने कोभिड-१९ स्रोतको खोजी अनुसन्धान गरेका थिए । गत मार्च ३० तारिख विश्व स्वास्थ्य संगठनले औपचारिक रूपमा संयुक्त अनुसन्धान प्रतिवेदन सार्वजनिक गरी स्पष्ट निश्कर्ष पेश गर्दै प्रयोगशालाबाट भाइरस लिक बिल्कुलै असम्भव भएको उल्लेख गरेको थियो । त्यस बेला, चीनले विश्व स्वास्थ्य संगठनलाई स्रोत खोजी कार्यमा समर्थन गरेको थियो । 

राष्ट्रिय स्वास्थ्य आयोगका उपप्रमुख चङ यीसिनका अनुसार, चीनले विश्व स्वास्थ्य संगठनको विज्ञ दलको कार्यलाई पूर्ण रूपमा समर्थन गरेको थियो साथै विज्ञहरूको भ्रमण चाहनालाई पूरा गरेको थियो । भ्रमण गर्न चाहेको ठाउँ र भेट्न चाहेका व्यक्ति सबैको व्यवस्थापन गरेको थियो । अनुसन्धान खुला तथा पारदर्शी रहेको निश्कर्ष थियो । 

तर, अहिले अमेरिका विश्व स्वास्थ्य संगठनमा फर्केपछि आफूले चाहे जस्तो गर्न खोजेको देखिन्छ । त्यस्तो निश्कर्ष अमेरिकालाई मनपरेको थिएन । यसकारण उक्त प्रयोगशालामा नियम उल्लंघनका कारण भाइरस उत्पत्ति भएको भनाइ व्यावाहरिक ज्ञान तथा वैज्ञानिक नियम विपरीत मात्रै होइन हालको भाइरसको स्रोत खोज्ने योजनामा राजनीतिक हस्तक्षेप स्पष्ट रूपमा देखिन्छ । यसमा अमेरिका हात धोएरलागेको छ । 

त्यसबेला, तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा विदेशमन्त्रीले समेत चीनमाथि आरोप लगाएका थिए । हाल पनि अमेरिका तथाकथित चीन कोभिड-१९ उद्गमस्थलको धारणा लिएर विश्व स्वास्थ्य संगठन फर्केको छ र संगठनलाई हरण गरी चीनको बदनाम र थप दबाव दिन खोजेको छ । यसै क्रममा, विश्व स्वास्थ्य संगठन महामारीलाई राजनीतिकरण गर्न चाहेको अमेरिकाको पछि लागेको छ । 

विश्व स्वास्थ्य संगठनले अघिल्लो वैज्ञानिक निश्कर्षलाई अस्वीकार गरी चीनको ऊहानका सबै प्रयोगशाला र बजारलगायत क्षेत्रमा दोस्रो चरणको अनुसन्धान गर्न चाहेको छ । संगठनका महानिर्देशक टेड्रोस अढानोम गेब्रेयससले समेत प्रयोगशालाबाट भाइरस लिकको बिल्कुलै असम्भव भन्‍ने मूल्याङ्कन अपर्याप्त रहेको र यस सम्बन्धमा थप अनुसन्धान गरिनुपर्छ भन्‍ने भनाइ सार्वजनिक गरेका छन् । 

कोभिड-१९ सर्वप्रथम चीनमा पत्ता लगाइए तापनि यसको उद्गमस्थल चीन नै हो भन्‍ने ठोस प्रमाण छैन । बरू अमेरिका, स्पेन, फ्रान्स, इटाली, ब्राजिललगायत विभिन्‍न मुलुकमा चीन अगावै भाइरस देखिएको प्रमाणहरू फेला परिसकेका छन् । 

एक अनुसन्धान अनुसार, सन् २०१९ को मार्च १२ मा स्पेनको फोहोर पानी नमूनामा गरिएको न्यूक्लिक एसिड परीक्षणमा कोभिड-१९ भेटिएको थियो । यसै गरी सन् २०१९ अक्टुबरमा इटालीमा लिइएको रक्त नमूनामा र त्यसै गरी नोभेम्बरमा नै अमेरिकामा फेला परेको अनुसन्धानबाट देखिएको छ । 

हाल, कोभिड-१९ महामारी फैलिएको डेढ वर्ष भइसकेको छ । यता, चीनका प्राय क्षेत्रहरू सामान्य बनिसकेको अवस्था छ र अर्थव्यवस्था पनि पुनरूत्थान भइसकेको छ । तर अमेरिकालगायत विभिन्‍न मुलुकमा अझै स्थिति सामान्य भइसकेको छैन । अमेरिकाले आन्तरिक रूपमा महामारी नियन्त्रण विफल भएको अवस्थामा भाइरस उद्गमस्थलको प्रश्न उठाएर विश्वको ध्यान तान्‍न खोजेको देखिन्छ । 

विशेषत अमेरिका चीनमाथि भाइरस चुहावट सिद्धान्तको प्रचार-प्रसार गरिरहेको छ । यो अमेरिकाले विगतमा इराकमा आम विनाशकारी हतियार रहेको उल्लेख गरी आक्रमण गरे जस्तै चीनप्रति जबरजस्ती गर्न खोजेको देखिन्छ । 

यसैबीच, जेनेभास्थित संयुक्त राष्ट्र संघका ४८ वटा स्थायी प्रतिनिधि कार्यालयले विश्व स्वास्थ्य संगठनका महानिर्देशकलाई पत्र पठाई विश्वव्यापी कोभिड-१९ को स्रोत खोजी अध्ययनमा राजनीतिकरण गर्न खोजिएको प्रति ध्यानाकर्षण गराएका छन् । विश्व स्वास्थ्य संगठनले पुनःअनुसन्धान गर्ने निर्णय गरेपछि ५५ वटा मुलुकले भाइरस स्रोत खोजीलाई राजनीतिकरण नगर्न विरोध सन्देश समेत पठाएको छ । 

मानव जातिको शत्रु भाइरसको विषयमा वैज्ञानिक अनुसन्धान तथा विज्ञानलाई पन्छाएर राजनीतिकरण गरिनु उचित होइन । सम्पूर्ण मानव जातिको हितका लागि यस खतरनाक भाइरसको अन्त्य गर्न आवश्यक अध्ययन र सहकार्य तथा खोपको निर्माण र सहजीकरणमा लाग्नु जरूरी छ ।


Author

थप समाचार
x