राजनीति

कुन प्रदेशमा कति क्रियाशील ?

कांग्रेस क्रियाशील सदस्य आठ लाख ५२ हजार, जनसम्पर्क समितिको तथ्यांक जोड्नै बाँकी

सन्तोष अधिकारी |
साउन १२, २०७८ मगलवार १३:३१ बजे

काठमाडौँ - नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । आज बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा समितिका संयोजक रमेश लेखकले १३ पृष्ठको प्रतिवेदन सभापति देउवालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।  प्रतिवेदनमा कांग्रेसको क्रियाशील सदस्यको संख्या आठ लाख ५२ हजार सातसय ११ पुगेको उल्लेख छ । यो संख्या नेपाली जनसम्पर्क समितिबाहेक भनिएको छ । 

'पार्टीको १४ औं महाधिवेशनको प्रयोजनका लागि देशभरबाट जम्मा कूल ८ लाख ५२ हजार ७११ सदस्यहरूलाई पार्टीको क्रियाशील सदस्यता प्रदान गरिएको छ । जसमध्ये जम्मा ४ लाख नौ हजार ३३ जनाको क्रियाशील सदस्यता नवीकरण गरिएको छ भने ४ लाख ४३ हजार ६७८ जनालाई नयाँ क्रियाशील सदस्यता प्रदान गरिएको छ,' प्रतिवेदनमा भनिएको छ,' क्रियाशील सदस्यताको नयाँ र नवीकरणको तर्फको प्रदेश, जिल्ला, र क्षेत्र अनुसारको छुट्टाछुट्टै संख्या, आठ वटा समावेशी समूहका क्रियाशील सदस्यको छुट्टाछुट्टै संख्या, विभिन्न उमेर समूहको क्रियाशील सदस्यता संख्याको विस्तृत विवरण संलग्न गरिएको छ ।' 


कांग्रेसमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको विषयमा विवाद चर्किँदो छ । केही जिल्लाका प्रतिनिधि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनसनसमेत बसेका छन् । केही धर्ना दिइरहेका छन् ।  छानबिन समितिले पनि प्रतिवेदनमा केही व्यक्तिको सदस्यता छुट भएको स्वीकार गरेको छ ।

प्रतिवेदनको ५ नम्बरको 'निष्कर्ष र सुझाव' शीर्षकको ४ नम्बरमा भनिएको छ, 'यस पटक नवीकरण उदारताका साथ गर्ने नीति पार्टीले लिए पनि कतिपय व्यक्तिको छुट हुन गएको अवस्थामा क्रियाशील सदस्यहरूको सूची तयार गर्ने अन्तिम समयसम्म पनि जानकारी भइरहेको हुँदा आगामी १४औं ‍‌महाधिवेशनको लगत्तै निरन्तरता कायम रहने गरी नवीकरण गर्नु आवश्यक देखिएको छ । यो कार्य पार्टीको तोकिएको संरचनामार्फत निरन्तर गर्नुपर्ने अवस्था छ ।'

कुन प्रदेशमा कति क्रियाशील ?

प्रतिवेदन अनुसार प्रदेश १ मा नयाँ ८९ हजार २९० र नवीकरण भएकाहरू ८५ हजार ४९२ गरी जम्मा १ हजार ७४ हजार ७८२ जना सदस्य पुगेका छन् । त्यस्तै प्रदेश २ मा नयाँ ५९ हजार ४६५ र नवीकरण भएको ५३ हजार ४८१ गरी जम्मा १ लाख १२ हजार ९४६ सदस्य पुगेका छन् । बागमती प्रदेशमा नयाँ ९६ हजार ३२८ र नवीकरण भएका ८९ हजार ८१५ गरी जम्मा १ लाख ८६ हजार १४३ सदस्य पुगेका छन् ।

गण्डकी प्रदेशमा नयाँ ६१ हजार ५२४, नवीकरण भएकाहरू ५७ हजार १०९ गरी जम्मा १ लाख १८ हजार ६३३ सदस्य भएका छन् । लुम्बिनी प्रदेशमा नयाँ ६७ हजार ११६ नवीकरणबाट ६३ हजार ७६९ गरी जम्मा १ लाख ३० हजार ८८५ सदस्य पुगेका छन् । कर्णालीमा नयाँ ३० हजार ९१७ नवीकरण भएकाहरू २३ हजार ६४९ गरी ५४ हजार ५६६ जना सदस्य पुगेका छन् । सुदूरपश्चिम प्रदेशमा नयाँ ३९ हजार ०३८ नवीकरणमा ३५ हजार ७१८ गरी जम्मा ७४ हजार ७५६ पुगेको प्रतिवेदनमा उल्लेख छ ।  

प्रतिवेदनमा विदेशस्थित जनसम्पर्क समितिहरूबाट केन्द्रमा प्राप्त हुन आएका क्रियाशील सदस्ता पार्टी विधानको धारा ४(९) बमोजिम गठन हुने सदस्यता व्यवस्थापन केन्द्रीय सदस्यता व्यवस्थापन समितिले नियमावलीको ८(२) बमोजिम हेर्ने भएकोले अहिले सार्वजनिक भएको तथ्यांकमा समावेश नगरिएको भनिएको छ । कांग्रेसले १३ ‌‌औं महाधिवेशनको भन्दा दोब्बर सदस्य संख्या बनाउने निर्णय नै गरेको थियो । यसपटक चारलाख भन्दा धेरै नयाँ सदस्य थपिएका हुन् ।  

क्रियाशीलमा युवा बढी 

यसपटकको क्रियाशील सदस्यमा युवाहरू धेरै छन् । सबैभन्दा बढी ४१ देखि ६० वर्ष उमेर समूहका सदस्य छन् । १६ देखि २५ वर्षसम्मका ४ दशमलब ५९ प्रतिशत, २६ देखि ४० वर्ष उमेर समूहका २८ दशमलब ३८ प्रतिशत, ४१ देखि ६० वर्षसम्मका ३७ दशमलब ३० प्रतिशत छन् । त्यस्तै ६१ देखि ७५ वर्षसम्मका ९ दशमलब ४३ प्रतिशत क्रियाशील सदस्य छन् । त्यस्तै ७५ वर्षभन्दा माथिका १ दशमलब ३३ प्रतिशत सदस्य छन् । प्रतिवेदनमा  ६ लाख ५३ हजार ४३८ जना पुरुष, १ लाख ९९ हजार ९७ जना महिला क्रियाशील सदस्य र अन्य १७६ जना क्रियाशील सदस्य पुगेका उल्लेख छ ।   

 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x