राजनीति

कांग्रेस महाधिवेशन

‘क्रियाशील सदस्यता छानबिन प्रतिवेदन’मा गुरुङका ६ असहमति

ढुंगाना, परियार र घिमिरेको पनि ‘नोट अफ डिसेन्ट’

मधुसुधन भट्टराई |
साउन १२, २०७८ मंगलबार १६:११ बजे

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य कल्याण गुरुङले समितिको निर्णयका ६ विषयमा लिखित असहमति राखेका छन् । मंगलबार बिहान बुढानीलकण्ठस्थित प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा समिति संयोजक रमेश लेखकले बुझाएको प्रतिवेदनमा गुरुङले ६ विषयमा असहमति राखेका हुन् ।

पार्टीका वडा, गाउँ/नगर, प्रदेश सभा क्षेत्रीय समिति, प्रतिनिधि सभा क्षेत्रीय समिति र जिल्ला कार्यसमितिको निर्णयको ‘माइन्युट’ बिना क्रियाशील सदस्यतासम्बन्धी निर्णय गरिएको, पहिला भएका सदस्य जती शतप्रतिशत भनिएकोमा त्यो भन्दा बढी आएका स्थानमा पनि सदर गरिएको, समितिसहित पार्टी सभापति र महामन्त्रीद्वारा हस्ताक्षरित ‘हार्डकपी’ प्रमाणित प्रतिलिपीका रूपमा नराखिएको ६ विषयमा आफूले प्रतिवेदनमा लिखित असहमति जनाएको जानकारी दिए । ‘मैले प्रक्रियागत र यसअघि भएका सहमति र निर्णय बेगर गरिएका ६ विषयमा प्रतिवेदनमा लिखित असहमति जनाएको छु,’ गुरुङले इकागजसँग भने । 


समितिले क्रियाशील सदस्यको संख्या आठ लाख ५२ हजार सातसय ११ पुर्‍याएर प्रतिवेदन बुझाएको छ । त्यो संख्यामा नेपाली जनसम्पर्क समितिमा आबद्ध सदस्यहरू जोडिएका छैनन् । समितिका अनुसार, ४ लाख नौ हजार ३३ जनाले पुरानो क्रियाशील सदस्यता नवीकरण गरेका छन् । ४ लाख ४३ हजार ६७८ जनालाई नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय समितिले गरेको छ ।

कांग्रेसमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको विषयमा विवाद चर्किँदो छ । प्रतिवेदनमा बारा, सप्तरी, रसुवार सिन्धुपाल्चोकको क्रियाशील सदस्यतासम्बन्धी फाइल केन्द्रीय समितिले गर्नेगरी पठाइएको छ । धनुषा-४ र सर्लाही-२ को नयाँ क्रियाशील टुंग्याउन नसक्दा पुरानो मात्रै सिफारिस गरिएको छ । धनुषा-४ मा समिति सदस्य आनन्दप्रसाद ढुंगाना र जीवन परियारले असहमति जनाएका छन् । त्यो असहमति पनि प्रतिवेदनमा समेटिएको छ । हेटौँडा नगरपालिका-२ को विवादमा श्यामकुमार घिमिरेले असहमति जनाएका र त्यो पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । 

मोरङमा राप्रपाबाट आएका, रसुवामा नयाँ शक्तिबाट आएका, डोल्पामा राप्रपाबाट कर्ण बुढासँगै आएकाहरूका विषयमा पनि सहमति हुन नसकेपछि केन्द्रीय समितिले निर्णय गर्नेगरी पठाइएको प्रतिवेदनमा उल्लेख छ ।सर्लाहीमा राजपा र समाजवादीबाट आएका जंगीलाल राय, शम्भुलाल श्रेष्ठ र कृष्णदेव यादवसहितका नेता कार्यकर्ता, बागलुङ, सिन्धुपाल्चोक, काठमाडौं, कपिलवस्तु, सुनसरी, काभ्रेपलाञ्चोक, सुर्खेत, बाजुराका अरु पार्टीबाट आएकाको समायोजन नगरी प्रतिवेदन बुझाइएको छ । 

गुरुङले असहमति राखेका ६ बुँदा

१.  ६७४३ वडा, ७५३ पालिका, ३३० प्रदेश सभा निर्वाचन क्षेत्र, १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ७७ जिल्लाको कार्यसमितिको बैठकको निर्णयको प्रमाणित प्रतिलिपी आउनु पर्ने हो, त्यो नआइकन समितिले निर्णय गर्‍यो, त्यसरी गर्नु गलत हो, गर्नु हुदैनथ्यो भनेर असहमति राखे ।

२. शतप्रतिशत भन्दा बढी सदस्यता दिएका फाइल समितिमा आएका थिए । हामीले १३ औं महाधिवेशनमा जहाँ जति संख्यामा क्रियाशील सदस्य छन्, त्यसको शतप्रतिशत बढाउन भनेका थियौं । तर शतप्रतिशतभन्दा बढी आएका ठाउँहरूमा पनि हामीले सहमति भन्दै थप्ने निर्णय गर्‍यौं, त्यसले सदस्यतामा असमानता हुन्छ भन्दै मैले असहमति राखे । 

३. आफूहरूलाई न्युनतम सदस्य संख्या पुर्‍याउन पनि सदस्यताको ठेली पुगेन भन्दै केही ठाउँले केन्द्रबाट क्रियाशील सदस्यताको ठेली लगे । तर, बुझाउने बेलामा उनीहरूले भने अनुरुप नभई थपिएको पाइयो । अर्थात् बुझ्दा संख्या बढी देखियो । त्यो सम्बन्धमा हामीले स्पष्ट निर्णय गर्नु पर्नेमा गरेनौ, त्यसमा पनि मैले असहमति राखे ।

४. क्रियाशील सदस्यता छानबिन समितिका सबै सदस्यहरू, पार्टी सभापति र महामन्त्रीको हस्ताक्षर भएको एउटा प्रमाणित प्रतिलिपिका रूपमा ‘हार्डकपी’ राख्नुपर्छ । भोलि सदस्यतासम्बन्धमा केही विवाद आयो भने त्यही प्रमाणित प्रतिलिपिलाई अन्तिम नजिर मानेर निर्णय गर्न आवश्यक पर्छ, त्यो ‘हार्डकपी’ भने । त्यो प्रमाणित प्रतिलिपि पनि राखिएन । त्यसमा पनि मैले असहमति राखे ।

५. समितिले सदस्यता सम्बन्धमा गरेको निर्णय पार्टीको वेबसाइटमा प्रकाशित गर्नुपर्छ भनेको थिए । निर्णय गरिएका नवीकरण र नयाँ क्रियाशील सदस्यहरूको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गर्ने प्रस्ताव पनि मानिएन, त्यसमा पनि मेरो अहमति रह्यो । 

६. कतिपय स्थानमा प्रक्रिया पुगेर आयो तर दुई जनाबीच सहमति भएन भनेर रोकियो । त्यो सरासर गलत भयो । अर्को प्रक्रिया पुगेर आएको छैन तर दुई जनाबीच सहमति भयो भनेर निर्णय भएको छ । ती दुवै गलत हुन्, यसो गर्न हुँदैन भनेर मैले ‘नोट अफ डिसेन्ट’ लेखे ।  


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x