राजनीति

प्रधानमन्त्रीज्यू, विश्वविद्यालयहरूलाई प्राज्ञिक, सक्षम र स्वतन्त्र बनाउन पहल थाल्नुहोस्

मधुसूदन सुवेदी |
साउन १३, २०७८ १८:२७ बजे

पाँचौँ पटक प्रधानमन्त्री बन्नु भएकामा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा सफल कार्यकालको शुभकामना । तपाईं बहुदलपछिका ३० वर्षमा राजनीतिक लाभ पाउने अगुवा व्यक्ति हुनुहुन्छ । यस अवधिमा एकपटक गृहमन्त्री र पाँच पटक प्रधानमन्त्री, वर्तमान पार्टी सभापति र पटकपटक प्रतिपक्ष दलको नेता भइसकेको हुँदा, सत्ता स्वाद, राज्यमार्फत पाउने र अरुलाई दिलाउने सुविधा, नेतृत्वमा ल्याउने र फाल्ने तिकडम, सफलता तथा असफलता, ताली र गाली सबैबारे विशेष अनुभवीसमेत हुनुहुन्छ ।

आफू सत्तामा हुँदा चुनावमा हार्ने थाहा हुँदा पनि चुनाव गराउने र संसदीय लोकतन्त्रको रक्षा गरेको इतिहास बोक्ने पार्टी र अनुभव तपाईसँग छ । जनतामा तपाईंबाट त्यति ठूलो अपेक्षा पनि छैन । थोरै मात्र पनि सकारात्मक र लोककल्याणकारी काम हुँदा नागरिकमा निराशा पैदा हुनेछैन । सबै नेपाली जनतालाई जतिसक्दो चाँडो कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नु अहिलेको अवस्थामा पहिलो प्राथमिकता हो ।


जनस्वास्थ्यका मापदण्डलाई कडाइसाथ लागू गर्दै जनताको दैनिक जीवनयापनमा सहजताको वातावरण तयार गर्नु दोस्रो प्राथमिकता हो । युवा जनशक्तिलाई ‘जिन्दावाद र मुर्दावाद’, ‘चाकरी र चाप्लुसी’ होइन, उत्पादन क्षेत्रमा लगाउनु, उनीहरूले राज्यलाई कर तिर्नु, तथा राज्यले गरिब र अशक्तलाई आर्थिक सहायता र सामाजिक सहयोगको व्यवस्था गर्नु तेस्रो प्राथमिकता हो । चीन र भारतलाई समदुरीमा राख्दै अन्य देशसँग समानताको आधारमा सम्बन्ध बढाउँदै आफ्नो देशको सर्वोपरि हितमा काम गर्नु सरकारको चौथो प्राथमिकता हो । 

तपाईंको नेतृत्वको सरकारले नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएबमोजिम ‘वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माणमा’ थोरै मात्र सकारात्मक काम गरेमा नेपाली जनता खुसी हुनेछन् । संविधानसभामार्फत लेखिएको संविधानको भावना र मर्मअनुसार कार्यान्वयन गर्ने जिम्मेवारीवाट राजनैतिक पार्टी र सरकार भाग्न मिल्दैन । 

नेपाली जनता लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा गर्दै शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षामा एक कदम अगाडि बढेको सरकार भएको अनुभूति गर्न चाहन्छन् । थोरै मात्र राम्रो काम गरेमा विगतमा गरेका नराम्रा कामलाई नेपाली जनताको सजिलै बिर्सिन सक्छन् । 

यो छोटो आलेखमा मैले विभिन्न समय र परिवेशमा प्रधानमन्त्री हुँदा भए र गरेका कामबारे उल्लेख गर्न गइरहेको छैन । विश्वविद्यालयहरूका कुलपतिको हैसियतले एउटा सानो तर महत्पूर्ण निर्णय गरी नेपालका विश्वविद्यालयको सुधारमा भूमिका खेल्न अनुरोध गर्दै छु ।

नेकपा नेतृत्व : सत्ता उन्माद र लघुताभास 

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले चुनावको समयमा स्थिर सरकार र विकासका नारा लिएर जनतासामु वाचा गर्दै भोट मागेका थिए । जनताले पनि उनीहरूलाई सरकार चलाउने र नेपाली कांग्रेसलाई प्रतिपक्षको भूमिकामा राखिदिए । नेपाली कांग्रेसले पनि जनमतको कदर गर्दै प्रतिपक्षको भूमिका स्वीकारेको अवस्था थियो । नेतृत्वमा सत्ताको उन्माद र लघुताभासले जनतासामु गरेका वाचालाई पूरै बेवास्ता गर्‍यो । 

नेपालको सात दशक लामो ‘बहुदलीय संसदीय कम्युनिस्ट’ पार्टीको इतिहासमा त्यो जनमत नेकपाका लागि महत्त्वपूर्ण सफलता थियो । देशलाई उत्पादन र निर्माणमा केन्द्रित गरी पार्टी तथा सरकार चलाउने, अन्य शक्तिलाई विश्वासमा लिनुको सट्टा सत्ता उन्मादमा नेतृत्व लाग्यो । कोरोनासँग जुध्दै देशको आर्थिक अवस्था कसरी मजबुद बनाउने, शिक्षा र स्वास्थ्यमा देखापरेका विसंगति र विकृतिलाई कसरी हटाउने जस्ता विषयको छलफल तथा बहस भएनन् । जनताको मतको कदर गर्न सकेनन् । 

 

विश्वविद्यालयका ऐनहरूमा परिमार्जन गरौँ, प्रधानमन्त्री कुलपति हुने र अन्य पदाधिकारीहरूको नियुक्ति प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीमार्फत हुने प्रावधान हटाई प्राज्ञिक थलोको विकासमा राजनैतिक हस्तक्षेप सधैँका लागि बन्द गरौँ । तपाईंको ६० वर्षभन्दा लामो राजनैतिक यात्रामा यो निर्णयले नेपालको उच्च शिक्षामा ऐतिहासिक महत्व राख्नेछ । 

जनमतप्रति इमानदारी र नैतिकता देखिएन । यसरी अस्थिरताको मूल कारण व्यक्तिगत सत्ता स्वार्थबाहेक केही हैन । कृत्रिम शत्रु खडा गर्ने र जनतालाई अलमल्याउने काममा जिम्मेवार नेतृत्वमा बसेका व्यक्तिहरू लागे । अन्ततः आपसमा विश्वासको संकट पैदा भयो । दुई दुई पटक संसद् भंग हुन पुग्यो, अदालतले संसद् पुनःस्थापना गरिदियो । सत्ता समीकरण बदलियो । 

नेकपाको स्थापना कालदेखि नै व्यक्ति केन्द्रित राजनीति हाबी हुँदा कम्युनिस्ट विचार र व्यवहारबारे प्रश्न खडा भयो र इतिहासका लामो कालखण्डसम्म बहसको विषय हुने नै छ । सत्तामा हुँदा आफू सबै विषयको ज्ञानले पूर्ण र अरु सबै अज्ञानी तथा मूर्ख ठान्ने भ्रमबाट मुक्त हुँदा सहयोगी हात पाइन्छन भन्नेमा विश्वास राख्दा कम क्षति र पार्टीलाई मिलाएर लैजान सकिन्थ्यो । नेतृत्व आत्मकेन्द्रित र वैचारिकरूपमा गन्तव्यहीन तथा विचलन हुँदा र मलाई सल्लाह दिने मान्छेहरूको आफ्नै स्वार्थलाई जोडेर काम गरिरहेका छन् भन्ने हेक्का नहुँदा नेकपाको आन्तरिक लोकतन्त्र कमजोर हुन गयो । यो सबै परिस्थितिको बीचमा तपाईंको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।

ज्योतिषीका कारण प्रधानमन्त्री बन्नुभएको होइन

प्रधानमन्त्रीज्यू, तपाईं ज्योतिषीले भनेको कारणले प्रधानमन्त्री बन्नुभएको होइन । नेकपाका नेताहरूको अकर्मण्यता, स्वेच्छाचारी प्रवृत्ति, गैरलोकतान्त्रिक चरित्र र आआफ्नो मान्छेलाई आर्थिक लाभको पदमा नियुक्ति गर्न नपाउँदा जन्म भएको गुटबन्दीको कारणले यो जिम्मेवारी प्राप्त गर्नुभएको हो । नेकपाका नेताहरूले वैचारिकरूपमा भिन्नता देखाउन खोज्नु केवल कार्यकर्ता बचाउने रणनीति मात्र थियो र अहिले पनि छ । 

त्यसो त संवैधानिक परिषद्मा विपक्षी पार्टीको नेताको हैसियतले उपस्थित हुँदा र नहुँदा दुवै समयमा आफ्नो मान्छेलाई कसरी भर्ती गर्ने भन्ने तपाईंको रणनीति पनि अचम्मको थियो । आफ्नो अनुकूल नहुँदा पूर्वप्रधान न्यायाधीशमाथि महाअभियोग दर्ता गराउन लगाउने, प्राडो पजेरो संस्कृतिको सुरुवात गर्ने तपाईंको नेतृत्वको सरकारको गैरलोकतान्त्रिक काम–कारबाही आलोचनात्मक चेत भएका कुनै पनि व्यक्तिका लागि स्वीकार्य थिएन ।

नेपाली कांग्रेस पार्टीभित्र पनि सत्ता स्वार्थका कारण एकल बहुमतको सरकार ढलेको र मध्यावधि निर्वाचनमा जान बाध्य पारिएको इतिहास ताजै छ । इतिहासको यो घडीमा तपाईंले अब आफूले प्राप्त गर्नुपर्ने केही बाँकी छैन । लोकतान्त्रिक आन्दोलनमा देखाएको प्रतिबद्धताले जीवनको उत्तरार्धमा गिरिजाप्रसाद कोइरालाले पाउनु भएको जनसम्मानबारे तपाईं पूर्ण जानकार हुनुहुन्छ । प्रधानमन्त्रीज्यू, छोटो समयमा केही राम्रो काम गर्नुस्, नेपाली जनताले तपाईंको सकारात्मक मूल्यांकन गर्न पाऊन् । 

प्रधानमन्त्री तथा कुलपतिलाई सार्वजनिक रूपमा अनुरोध

विश्वविद्यालय ज्ञान उत्पादन गर्ने ठाउँ हो । यो पत्रमा मैले विश्वविद्यालयलाई राजनैतिक हस्तक्षेपबाट मुक्त गर्नका लागि देशको प्रधानमन्त्रीलाई सार्वजनिकरूपमा अनुरोध गर्दै छु । तपाईं पाँचाँै पटक प्रधानमन्त्री भइसकेको व्यक्ति भएकाले सरकार परिवर्तन हुनेबित्तिकै विभिन्न विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी र कर्मचारी आफ्नो स्वार्थका लागि बधाइ दिने निहँुमा भेटघाट बढाउनुको कारणबारे पूर्ण जानकार हुनुहुन्छ । 

पार्टी र नेताका घरघरमा चाकरी गर्ने र कुन–कुन विश्वविद्यालयमा उपकुलपति, रेक्टर, रजिस्ट्रार, डीन, परीक्षा नियन्त्रक जस्ता पद कहिले खाली हुँदै छ र यो पटक हामीले छोड्नु हुँदैन भन्दै चाकरीमा धाउनेहरू नपढाउने र अनुसन्धान नगर्ने प्राध्यापक हुन्, कक्षामा कहिल्यै नजाने विद्यार्थी हुन् र आफ्नो जिम्मेवारी पूरा नगर्ने कर्मचारी हुन् । विश्वविद्यालयलाई सुधार्ने हो भने यो चाकरीको परिपाटी र दलालीकरणको अन्त गर्नै पर्छ ।

अहिले विश्वविद्यालयहरू दलगत र गुटगत राजनीतिले थला परेका छन् । यसको सुधारमा छलाङ मार्न त सकिँदैन तर सकारात्मक सुरुवात गर्न सकिन्छ । विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ । उपकुलपति, रेक्टर र रजिस्ट्रारको नियुक्ति प्रधानमन्त्रीले गर्ने व्यवस्थाले गर्दा उहाँहरूको काम प्रधानमन्त्री र पार्टीलाई खुसी पार्नु हुन्छ । नेताको चाकरीको भरमा बनेको नेतृत्वले प्राज्ञिक काम गर्न सक्दैनन् ।

आफ्नो खेमाको नेतृत्व आएमा प्राध्यापक, विद्यार्थी र कर्मचारीहरू आफ्नो स्वार्थपूर्तिका लागि सहयोगी हुन्छन् । अन्यथा राम्रा कामको पनि गलत अर्थ लगाउँदै चर्को विरोध गर्छन् । त्यस्तो अवस्थामा असल नेतृत्व टिक्न सक्दैनन् । राजीनामा दिन्छन् वा आफ्नो पद कसरी सुरक्षित हुन्छ भन्नेमा ध्यान दिन बाध्य हुन्छन् । गर्न सकिने थुप्रै सुधार पनि गर्न सक्दैनन् । 

पदाधिकारीहरूको नियुक्तिमा स्पष्ट आधार नहुँदा पार्टी, गुट, उपगुटको राजनीतिले विश्वविद्यालयहरू थला परेका छन् । तालाबन्दी र हड्ताल नभएको अवस्था पाउन कठिन छ । विश्वविद्यालयहरूमा सानो सानो विषयमा हुने झगडाले प्राध्यापकहरूले असुरक्षा महसुस गर्छन् । सांघातिक हमलामा पर्छन् । प्रधानमन्त्रीज्यू, आफ्नो स्वार्थभन्दा माथि उठेर विश्वविद्यालयमा हुने राजनैतिक भागबन्डाको सट्टा पढाइ र ज्ञान निर्माण गर्ने विषयमा छलफल र बहस गर्ने वातावरण तयार गरौँ, ज्ञान र सीपको विकासका लागि पुस्तकालयमा नयाँ नयाँ पुस्तक थप्ने र अनलाइन जर्नलको व्यवस्था हरेक क्याम्पसमा कसरी गर्ने भन्नेबारे स्पष्ट योजना बनाउन लागौं । अनुसन्धान गर्ने र गराउने वातावरण तयार पारौं । पढ्ने र पढाउने काममा बाधा तथा व्यवधानलाई हटाउन लागौं ।

विश्वविद्यालयको मूल नेतृत्वमा प्राज्ञिक जगत्मा महत्वपूर्ण योगदान गरेका व्यक्तिहरूको मात्र प्रतिनिधित्व हुने गरी बोर्ड अफ ट्रस्टीको व्यवस्था गरौँ । बोर्डको अध्यक्ष प्राज्ञिक व्यक्ति हुने र सोही ट्रस्टीले कुलपति, उपकुलपति छनोट गर्दा कार्ययोजना प्रस्ताव, योग्यता, अनुसन्धान क्षेत्रमा पुराएको योगदान, कार्य अनुभव र व्यवस्थापन क्षमतासमेतलाई आधार मानेर खुला र पारदर्शी प्रतियोगितामार्फत कुलपति, उपकुलपति, रेक्टर, रजिस्ट्रार तथा डीनहरूको नियुक्तिको व्यवस्था गरौँ । यो व्यवस्थाले विश्वविद्यालयलाई कुशल तथा क्षमतावान् व्यक्तिहरूले नेतृत्व दिन्छन् ।

अन्त्यमा, 

जुनसुकै सत्तासँग न्याय र समताको पक्षमा हरदम आँखा जुधाएर बोल्ने, लेख्ने, लोकतन्त्रको रक्षा गर्ने, विज्ञान तथा प्रविधिको प्रयोग गर्ने, अनुसन्धान र प्रकाशन गर्ने जनशक्ति उत्पादन गर्ने थलोका रूपमा विश्वविद्यालयलाई विकास गरौँ । तपार्इं प्रधानमन्त्री भएकै बेला विश्वविद्यालयका ऐनहरूमा परिमार्जन गरौँ, प्रधानमन्त्री कुलपति हुने र अन्य पदाधिकारीहरूको नियुक्ति प्रधानमन्त्री र शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीमार्फत हुने प्रावधान हटाई प्राज्ञिक थलोको विकासमा राजनैतिक हस्तक्षेप सधैँका लागि बन्द गरौँ । तपाईंको ६० वर्षभन्दा लामो राजनैतिक यात्रामा यो निर्णयले नेपालको उच्च शिक्षामा ऐतिहासिक महत्व राख्नेछ । 



Author

मधुसूदन सुवेदी

सुवेदी चिकित्सा समाजशास्त्री तथा मानवशास्त्री हुन् ।


थप समाचार
ad
x