राजनीति

लुम्बिनी प्रदेश

लुम्बिनीमा जसपाको अर्को ‘एक्सन’ : सांसद कल्पनाको ठाउँमा निर्मलालाई पठाउने तयारी

विक्रम खड्का |
साउन १७, २०७८ आइतबार १५:३३ बजे

बुटवल - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन आयोगबाट आधिकारिताको मान्यता पाएसँगै आफ्‍ना सांसदमाथि कारबाही गर्दै नयाँ सांसद नियुक्ति गर्न अघि बढेको छ । दुई दिनअघि कारबाही गरी लुम्बिनीको प्रदेश सभा सदस्यबाट पदमुक्त भएकी कल्पना पाण्डेको ठाउँमा नयाँ सांसद मनोनयन प्रक्रिया शुरु भएको छ ।

उता जसपाको उपेन्द्र पक्षले आधिकारिता पाएपछि लुम्बिनीमा मुख्यमन्त्री शंकर पोख्रेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । आधिकारिकता पाएपछि जसपाले पाण्डेसहित लुम्बिनीका तीन प्रदेस सभा सदस्यलाई पदमुक्त गर्ने निर्णय लिएको थियो । पदमुक्त भएकामध्ये सन्तोषकुमार पाण्डे र विजयबहादुर यादव प्रत्यक्ष निर्वाचित हुन् । कल्पना पाण्डे समानुपातिक सांसद हुन् । समानुपातिक सांसदको पद रिक्त भएमा बन्द सूचीबाट अर्को नाम सिफारिश गर्ने व्यवस्था छ । तिनलाई प्रदेश सभा सचिवालयले पनि सांसदहरुको सूचीबाट हटाएको सूचना जारी गरेको छ ।


जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले नयाँ समानुपातिक सांसद नियुक्ती प्रक्रिया सुरु भइसकेको जानकारी दिए । उनले इकागजसँग भने, ‘प्रदेश सभा सचिवालयले पद रिक्त भएको जानकारी निर्वाचन आयोगलाई गराएपछि पाण्डे निर्वाचित भएको समूहबाटै अर्का सांसद नियुक्तीको काम हुन्छ ।’
पाण्डे तत्कालीन राजपामा महिला समूहबाट प्रदेश सभा सदस्य बनेकी थिइन् । निर्वाचन आयोगमा बुझाएको तत्कालीन राजपाको बन्द सूचीमा उक्त समूहबाट पाण्डेपछि निर्मला मुडभरी भट्टराईको नाम छ । जसपा लुम्बिनी अध्यक्ष अशोक यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समितिले निर्णय गरेपछि नयाँ सांसदको टुंगो लाग्ने बताए ।

त्यसो त, पहिलो पटक लुम्बिनी प्रदेश सांसदबाट पदमुक्त भएपछि जसपाका ४ सांसदले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा विचराधीन छ । त्यसमध्ये सुमन शर्मा रायमाझीले राज्यमन्त्रीबाट राजीनामा दिएर जसपाको मूलधारमा फर्किसकेकी छन् । उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि तीन सांसद दोस्रो पटक कारवाहीमा परेर पदमुक्त भएका छन् । पदमुक्त भएपछि उनीहरु पुनः सर्वोच्च अदालत गएका छन् । 

विपक्षीहरुले तत्काल बहुमतको सरकार गठनको बाटो खोल्न आग्रह गर्दै नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनालाई लिखित रुपमा आग्रह पनि गरेका छन् । सत्तारुढ नेकपा एमालेका ३८ मात्र सांसद छन्, जबकि बहुमत निम्ति गणितीय संख्यामा ४१ सांसद आवश्यक पर्छ । विपक्षी गठबन्धनमा भने सभामुखसहित ४२ सांसद छन् । 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x