राजनीति

दार्चुलाको तुइन प्रकरणमा संसद्ला‌ई गृहमन्त्रीको जवाफ : बोल बोल मछली मुखमा पानी

खरो प्रश्‍नको टालटुले जवाफ

विनोद देवकोटा |
साउन १९, २०७८ मगलवार १८:४५ बजे

काठमाडौँ – मंगलबारको प्रतिनिधि सभा बैठक दार्चुला घटनामय बन्यो । शून्य समयदेखि विशेष समय र सांसद–गृहमन्त्री प्रश्नोत्तरमा समेत सांसदहरूले घटनाका विषयमा खरो प्रश्न गरे । प्रतिपक्षीका मात्रै होइन सत्तापक्षकै सांसदले पनि घटनाबारे गम्भीर प्रश्न उठाए । सरकारको जवाफ माग गरे । तर, गृहमन्त्री बालकृष्ण खाणले गोलमटोल जवाफ फर्काए । सांसदका प्रश्न एकातिर, गृहमन्त्री खाणको जवाफ अर्कोतिर ।

गत शुक्रबार तुइनमार्फत महाकाली तर्ने क्रममा ‘भारतीय एसएसबीले तुइन फुकालिदिँदा’ व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए । हालसम्म पनि उनको अवस्था अज्ञात छ । भारतीय एसएसबीको क्रुर र अमानवीय ज्यादतीका कारण महाकालीमा बेपत्ता धामीका विषयमा प्रतिनिधि सभामा बोल्ने अधिकांश सांसदले यो कुरा उठाए । भारतीय सीमा सुरक्षा बलको मानवता विरोधी अपराधको विषयमा सरकारको जवाफ माग गरे । शून्य समयपछि गृहमन्त्री खाण रोष्ट्रममा चढे । गृहमन्त्री खाणले बेपत्ता धामीको खोजी कार्य भइरहेको दोहोर्‍याए । छानबिन समितिले स्थलगत अध्ययन गरेर प्रतिवेदन ल्याउने आश्वासन दिए ।


उनको यो जवाफले बुझाउँथ्यो, खाण आफैं उत्तरदायी भएर घटनाको सत्यतथ्य बताउनु साटो, उनी सबै कुरा छानबिन समितिको थाप्लोमा हालेर उम्किन बाटोमा छन् । उनले सोमबारको राष्ट्रिय सभा बैठकमा पनि छानबिन गरेपछि मात्र सरकारले औपचारिक प्रतिक्रिया दिने बताएका थिए । जबकि छानबिन समिति घटनास्थल पुगेकै छैन । छानबिन समिति पुगिहाल्यो भने पनि त्यसले सरकारको आसयलाई चुनौती दिनेगरी प्रतिवेदन दिन्छ भन्नेमा धेरैलाई आशंका छ । मन्त्रालयले समिति बनाएकोले उसैले सत्य–तथ्य ल्याउने भन्दै सांसदले उठाएका प्रश्नमा मौनता साँध्नुले गृहमन्त्रीको कमजोर मनस्थितिलाई प्रतिविम्बित गर्छ । शुक्रबारको एउटै घटनाले नवनियुक्त गृहमन्त्रीको बोहनी पनि खराब पारेको छ । 

सांसदका खरा प्रश्न, गृहमन्त्रीको निम्छरो जवाफ

घटनाबारे गृहमन्त्रीले सदनलाई जानकारी गराइसकेपछि सांसदहरूले घटनाका विषयमा प्रश्न गर्न सुरु गरे । यसरी प्रश्न गर्नेमा विपक्षी मात्रै होइन सत्ता पक्षकै सांसद पनि थिए ।  प्रायः सबै सांसदका प्रश्नमा एउटा समानता थियो, ‘भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन फुकालिँदा धामी बेपत्ता बेपत्ता भएका हुन् । यसबारे प्रत्यक्षदर्शीका भनाइसहित सञ्चार माध्यममा समाचार आएका छन् । यसबारे सरकार किन मौन ?’ यस विषयमा कूटनीतिक रूपमा सरकारले भारतीय पक्षसँग कुनै कुरा ग-यो ?’ कांग्रेस सांसद देवेन्द्रराज कँडेलले प्रश्न गरे, ‘सीमामा विवाद हुँदा दुई पक्षको संयुक्त टोली बनाएर खोजबिन र छानबिन गरिन्छ । यो घटनामा किन गरिएन ?’  कँडेलको प्रश्नमा सांसद दिलेन्द्र बडले थपे, ‘छानबिनका क्रममा भारतीय पक्षसँग के  कुरा भएको छ ?’ 

सदा विपक्षीलाई खरा प्रश्न सोध्न कहलिएका कांग्रेस सांसद गगन थापाले त छानबिन समितिले सत्य तथ्य प्रतिवेदन दिनेमा नै आशंका व्यक्त गरे । ‘दार्चुला घटनामा भारतले कुनै संलग्नता नरहेको प्रतिक्रिया दिएको भनेर मिडियामा आएको छ । के यस्तै हो ? सत्यतथ्य पत्ता लगाएर छानबिन समितिले लिएर आउँछ भन्ने विश्वास कसरी दिलाउनुहुन्छ ? सत्यतथ्य बाहिर आइसकेपछि नेपालले भारतसँग डटेर लड्छ भन्ने हामीलाई कसरी दिलाउनुहुन्छ ?’ गगनका प्रश्न थिए ।

प्रत्यक्षदर्शीले तुइन काटेको बताए पनि गृहमन्त्रीले यसबारे नबोलेकामा पनि गगनले आपत्ति जनाएका थिए । एमाले सांसद शान्ता चौधरीले यस विषयमा सरकार मौन रहे आफूहरू चुप लागेर नबस्ने चेतावनी दिइन् । ‘गृहमन्त्रीको प्रस्तुति हल्का देखियो । प्रत्यक्षदर्शीले एसएसबीले तुइन काटेको भनेर भनिरहेका छन् । गृहमन्त्रीले भन्नुहुन्छ जानकारी लिइरहेका छौं । यो प्रमाण खोजिरहने बेला हो ? प्रत्यक्षदर्शी प्रमाण होइनन् ?’ उनको प्रश्न थियो । एमाले प्रमुख सचेतक विशाल भट्टराईले सहसचिव स्तरीय समितिभन्दा पनि संसदीय छानबिन समिति नै बनाउनु पर्ने माग गरे । ‘सानो टोली गठन गरेर हुँदैन । उच्चस्तरकै पहल आवश्यक छ । संसदीय समितिको माग गरिरहेका छौं । यसमा यहाँको धारणा के छ ?’ उनको प्रश्न थियो । 

सांसदहरूका दर्जनौँ प्रश्नपछि गृहमन्त्री खाण जवाफ दिन रोस्ट्रममा चढे । सांसदका दर्जनौँ प्रश्नको जवाफ दिन पोडियममा उभिएका गृहमन्त्री खाणले भने कुनै पनि सांसदले सोधेका प्रश्नको जवाफ दिने कष्ट गरेनन् ।  तुइट काटिएको विषयमा सांसदहरूले सबैभन्दा बढी प्रश्न उठाएका थिए । यो विषय पनि खाण एक शब्द पनि बोलेनन् । सांसदहरूको अर्को चासोको विषय थियो,  ‘सरकारले किन भारतीय पक्षसँग कूटनीतिक कुरा गर्न सकेन ? यस विषयमा केही कुरा भएको छ ? अब गर्न सक्छ कि सक्दैन ? यो प्रश्नको पनि गृहमन्त्री खाणले गोलमटोल जवाफ फर्काए । यो प्रश्नको जवाफ पनि उनले छानबिन समितिको थाप्लोमा राखेर उम्किए ।

‘सरकारले छानबिन समिति बनाएको छ र समितिले घटनास्थलमा पुगेरै छानबिन गर्नेछ,’ उनले भने, ‘सत्यतथ्य संकलन गरेरै प्रतिवेदन बनाइने छ । निष्कर्षलाई सरकारले दृढताकासाथ अगाडि बढाउने छ । समितिले जे प्रतिवेदन दिन्छ सरकारले त्यही सार्वजनिक गर्नेछ र पूर्ण रूपमा अडान लिने छ । जुनसुकै कदम चाल्न पनि तयार छौं । प्रतिबद्धता जाहेर गर्दछु ।’

आफ्नै जिल्ला सदरमुकाम आउन नेपालीले भारतीय भूमि प्रयोग गर्नुपर्ने विडम्बना सुदूरपश्चिमका केही जिल्लाले झेल्दै आएका छन् । तर, यसो गर्दा भौगोलिक विकटताभन्दा भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादतीले उनीहरूलाई सताउने गरेको छ । आफ्नै जिल्ला सदरमुकाम आउन बर्खाको उर्लँदो महाकालीमाथि तुइन चढ्न विवश नेपाली युवामाथि एसएसबीको क्रुर, अमानवीय अपराध अक्षम्य हो । एसएसबीले तुइन काटिँदिँदा महाकालीमा बेपत्ता भएको नागरिकका विषयमा सरकारको मौनता रहस्यपूर्ण मात्रै होइन गैरजिम्मेवार पनि हो ।

घटनाको चौतर्फी रूपमा विरोध भइरहेको बेला भारतीय पक्षको नामसमेत लिन नसक्ने र जवाफदेहिता समितिमा देखाएर उम्कले गृहमन्त्रीको प्रयास सरकारी लाचारीको पराकाष्ठा हो । संसदमा उनको कुरो चपाइले ‘बोल बोल मछली मुखमा पानी’ भने जस्तै भएको छ । गृहमन्त्रीलाई बोल्न मन छैन त्यसैले उनी छानबिन समितिलाई देखाएर उम्कन खोजिरहेका छन् । नत्र भने माछाले मुखमा पानी भएको बहाना बनाउनु कसैले पनि पत्याउन सक्ने कुरा होइन ।


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x