राजनीति

प्रदेश सभामा यी १६ स्थानमा उपनिर्वाचन हुने

केही सांसद निर्णय उल्ट्याउन न्यायालय धाउँदै

मधुसुधन भट्टराई |
साउन २०, २०७८ बुधबार १९:९ बजे

इन्फोग्राफिक्स : यमन मानन्धर

काठमाडौँ – प्रदेश सभामा सात प्रदेशका १६ सांसदको पद रिक्त भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश–१ मा एक, प्रदेश–२ मा तीन, बागमती प्रदेशमा एक, गण्डकी प्रदेशमा एक, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा पाँच र सुदूरपश्चिम प्रदेशमा एक गरी १६ सांसदको पद रिक्त भएको हो । रिक्त भएकामध्ये आठ जनाले दल त्याग गरेको, दुई जनाले राजीनामा दिएको, पाँच जनालाई सम्बन्धित दलबाट निष्काशन गरिएको छ भने एकजनाको मृत्यु भएको हो । 

रिक्त हुने आठ सांसद माओवादीबाट निर्वाचित भएका छन् । सात जना एमालेबाट निर्वाचित भएका छन् । एकजना राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश–१ मा माओवादी केन्द्रबाट ताप्लेजुङ १(२) बाट निर्वाचित टंक आङ्बुहाङ लिम्बुले गत चैत २६ गते दल त्याग गरेपछि रिक्त भएको छ । प्रदेश–२ मा माओवादी केन्द्रबाटै धनुषा १(२) बाट निर्वाचित रामचन्द्र मण्डल, रौतहट ३(२) बाट निर्वाचित कुन्दनप्रसाद कुशवाहा, बारा ३(१) बाट निर्वाचित ज्वालाकुमारी साहले गत चैत ३० गते दल त्याग गरेपछि रिक्त भएको छ । 


बागमती प्रदेशमा नेकपा एमालेबाट दोलखा १(२) बाट निर्वाचित पशुपति चौलागाईको गत बैशाख २८ गते मृत्यु भएपछि रिक्त भएको छ । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाबाट बागलुङ १(२)बाट निर्वाचित कृष्ण थापालाई गत जेठ २८ गते पार्टीले निष्काशन गरेपछि रिक्त भएको छ । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट रुपन्देही १(२) बाट निर्वाचित दधिराम न्यौपाने, गुल्मी २(२) बाट निर्वाचित दिनेश पन्थीले गत चैत २४ गते दल त्याग गरेपछि रिक्त भएको छ । त्यस्तै लुम्बिनी प्रदेशमै नेकपा एमालेबाटै कपिलवस्तु २ (१) बाट निर्वाचित दृगनारायण पाण्डेले गत वैशाख १९ गते र दाङ २(२) बाट निर्वाचित अमरबहादुर डाँगीले गत बैशाख २२ गते राजीनामा दिएपछि रिक्त भएको छ । 

कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट दैलेख १(१) बाट निर्वाचित धर्मराज रेग्मीले गत चैत ३० गते दल त्याग गरेपछि रिक्त भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट अछाम १(२) बाट माओवादी केन्द्रबाट निर्वाचित झपटबहादुर बोहोराले गत बैशाख ६ गते दल त्याग गरेपछि रिक्त भएको छ । कर्णाली प्रदेशमा एमालेबाट निर्वाचित प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले १८ साउनमा सदर गरेपछि रिक्त भएका छन् । 
त्यो सूची भने निर्वाचन आयोगमा पुगिनसकेको आयोगको  नामावली शाखाका उपसचिव ऋषि भुसालले जानकारी दिए ।

‘अहिलेसम्म हामीसँग १२ स्थानमा प्रदेश सभा सदस्य रिक्त भएको जानकारी आएको छ । चार जनाको केही दिन अघिमात्रै सर्वोच्च अदालतले पार्टीले गरेको कारबाहीलाई सदर गरेको खबरहरू सार्वजनिक भएका छन्,’ उपसचिव भुसालले इकागजसँग भने । ज्वाला सल्यान १(१) बाट, शाही कालिकोट १(१), बुढा डोल्पा १(१) र थापा दैलेख १(२) बाट निर्वाचित भएका थिए । उनीहररूलाई ह्वीप उल्लंघन गरेको आरोपमा पार्टीले कारबाही गरेको थियो । त्यसविरुद्ध सर्वोच्च गएका उनीहरूको पक्षमा सर्वोच्चले पनि फैसला गरिदिएन । 

लुम्बिनीमा जसपा तीन सांसद पार्टी कारबाहीविरुद्ध सर्वोच्चमा

यसैबीच लुम्बिनी प्रदेशसभाका तीन सांसदलाई पार्टीले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । त्यो कारबाहीको जानकारी प्रदेश सभा सचिवालयमा गराएपछि प्रदेश सभा सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे पदमुक्त भएको जनाएको छ । जसपा केन्द्रीय कार्यालयको निर्णय अनुसार, तीनै जना पद मुक्त भएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले विज्ञप्तिमा उल्लेख छ । उनीहरूले पार्टी कारबाहीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन् । उनीहरू मुद्दाको सर्वोच्चमा भोलि बिहीबार पेसी तोकिएको छ ।  

संविधानको धारा १७६ (८) मा ‘प्रदेश सभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ती गरिने,’ उल्लेख छ । प्रदेश सभा निर्वाचन हुने समय आउन अझै एक वर्षभन्दा बढी समय रहेकाले उपनिर्वाचन गर्नुपर्ने हुन्छ । यसले राज्यलाई निर्वाचनको व्यवभार थप्ने निश्चित छ । 
 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x