राजनीति

एमालेले सत्ताबाट बाहिरिएपछि पनि लालपूर्जाको लोभ देखाइरहेको छ  : साउद

इकागज |
साउन २०, २०७८ बुधबार २०:४१ बजे

कञ्चनपुर - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेकपा एमालेले सत्ताबाट बाहिरिसकेपछि पनि लालपूर्जाको लोभ देखाइरहेको बताएका छन् । बुधबार कञ्चनपुरको झलारीमा आयोजित कार्यक्रममा साउदले एमालेले बिक्री मूल्यभन्दा पनि महँगोमा जग्गा वितरण गर्ने र पार्टीलाई पोस्‍ने योजना बनाएको टिप्पणी गरे । 

उनले भने, 'एमालेले सत्तामा हुँदा साढे तीन वर्षसम्म केही पनि गरेन । तर, सत्तामा टिक्नै नसक्ने अवस्था भएपछि लालपूर्जा बाड्ने हल्ला गरेर आयोग गठन गर्‍यो । विगतमा हामीले बनाएका आयोग पनि कम्युनिस्ट आएपछि खारेज गरेकै हुन् । आज हामीले पनि आयोग खारेज गर्ने निर्णय गरेका छौं । फरक यत्ति हो कि कम्युनिस्टहरुले ५० औं वर्षदेखि भोगचलन गरेको जग्गालाई बिक्री मूल्यभन्दा पनि महँगोमा नापजाँच गर्ने र पार्टी पोस्ने रणनीति बनाएका थिए ।' 


कांग्रेस नेतृत्वको सरकारले उक्त रणनीतिलाई असफल पार्दै जग्गाको सही मूल्यांकन गरेर सस्तोमा जग्गा उपलब्ध गराउने साउदले बताए । आरक्षको समस्या आफूले नै सुशील कोइराला नेतृत्वको सरकारमा मन्त्री हुँदा समाधानको तहमा काम गरेको र केहीलाई पैसासमेत वितरण गरेर टुग्याएको बताए । 

साढे तीन वर्षसम्म एकजना आरक्ष पीडितलाई पनि जग्गा उपलब्ध गराउन नसकेको कम्युनिस्ट सरकारले अहिले सत्ताबाट बाहिरिएपछि भ्रम फैलाइरहेको उनले बताए । सुकुम्बासी आयोग गठन गर्ने कुरामा ढिलाइ नगरिनेसमेत प्रतिबद्धता साउदले व्यक्त गरे । 


Author

थप समाचार
x