राजनीति

विपक्षी गठबन्धनद्वारा सांसदलाई बन्दक बनाउने र निर्देशन दिने मुख्यमन्त्रीलाई कारबाहीको माग

इकागज |
साउन २१, २०७८ बिहीबार १५:१९ बजे

बुटवल- लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्रीकै निर्देशनमा सांसदलाई बन्धक बनाएको घटनाको निन्दा गरेका छन्। माओवादी केन्द्रकी सांसद विमला कुमारी खत्री वलीलाई साउन १५ गते मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरणको शैलीमा मुख्यमन्त्री निवासमा पुर्‍याएर ५ दिनसम्म बन्धक बनाएर राखेको भन्दै गठबन्धनले विज्ञप्ति निकालेर कानुनी उपचारको माग गरेको हो । 

कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खान, माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगर, जसपाका उपनेता सुमन शर्मा र राष्ट्रिय जनमोर्चाका तारा जिसीले विज्ञप्ति निकालेर सरकारकै नेतृत्वले अपहरण जस्ता अपराधिक घटनामा संलग्न हुनुले लोकतन्त्र नै धरापमा पर्ने खतरा रहेको भनेका छन्। 


'अविश्‍वासको प्रस्तावको सामना नगर्ने, बजेट पेश नै नगर्ने, संसद बहिष्कार गर्ने अन्य पार्टी तोडफोड गर्ने जस्ता घटना त गरी नै रहेका छन्, अब पछिल्लो चरणमा केन्द्रीय संसद्‍मा जस्तै यहाँ पनि मुख्यमन्त्री स्वयम् सांसद अपहरण, धम्की र किनबेचको आपराधिक तरिका अपनाउँदै सांसदलाई शरीर बन्धक अपहरणमा संलगन्न हुँदै गैरहरेको त होइन भनी गम्भीर आशंक जन्माएको छ' विज्ञप्तिमा भनिएको छ।

गठबन्धनले घटनामा संलग्नलाई तत्काल कानुनी कठघरामा उपस्थित गराउन माग गर्दै कानुनी दायरामा ल्याउने बताएको छ। विज्ञप्तिमा भनिएको छ, 'लुम्बिनी प्रदेश सरकारलाई यस्ता अपराधिक घटनामा प्रत्यक्ष संलग्न अपराधीलाई तत्काल कानुनको कठघरामा उपस्थित गराउने माग गर्दै अपराधको बलमा सरकारमा टिकिरहने दुस्वप्न नदेख्न चेतावनी दिन चाहन्छौं।'


Author

थप समाचार
x