राजनीति

विश्वप्रकाशको असन्तुष्टी र व्यंग्य मिश्रित ट्वीट, 'राम्रो काम गरे भिडीयो जनताले बनाउँछन्'

इकागज |
साउन २१, २०७८ बिहिवार २२:१४ बजे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयको प्रचार शैलीप्रति असन्तुष्टी र व्यंग्य मिश्रित ट्वीट गरेका छन् । केही दिनयता देउवाको सचिवालयले तेश्रो व्यक्तिलाई बोल्न लगाएर ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने .....’ भन्ने शैलीमा प्रचारात्मक भिडीयो सामग्री बनाएर सामाजिक सञ्जालमा पोष्ट गरिरहेको छ । देउवामा प्रचारको भोक रहेको भनेर त्यसको व्यापक आलोचना भैरहेको छ । 

आफैं अहिले काम गरेर देखाउनुपर्ने कार्यकारी तहमा रहेका प्रधानमन्त्री देउवाको बारेमा, ‘के तपाईंलाई थाहा छ, .... कामका सूत्राधार, .... नायक’ लगायत नानाभाँती प्रचार सामग्रीले पूववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीकै झल्को दिएको टिप्पणी भइरहँदा नेपाली कांग्रेसकै प्रवक्ताको यो ट्वीटले नयाँ तरङ्ग सिर्जना गरेको छ । 


ट्वीटमा विश्वप्रकाश लेख्छन्, 'प्रधानमन्त्रीले काम गर्ने बेला हो यो l उहाँलाई सहि सल्लाह र साथ दिने बेला हो l काम राम्रो भए जनता आफैले बनाउने छन्- `भिडियो´, नत्र पार्टीले बनाउला ! पहिले फुल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ l `प्रधानमन्त्रीको सचिवालय´को ध्यानाकर्षण गराएको छु l जय नेपाल !'

सोही ट्वीटको थ्रेडमा उनले थप लेखेका छन्, 'खोपदेखि भोटसम्म´ को यो यात्रा तिन तहको निर्वाचन मार्फत संविधान कार्यान्वयनको अघिल्लो सफलता भन्दा चुनौतीपूर्ण छ l जति चुनौती उतिनै गम्भीरता अपेक्षित हुन्छ ! परिणाम राम्रो दिउँ, प्रचारको कमान्ड सम्हाल्न हजारौं स्वयंसेवी लामबद्द हुनेछन् l'


Author

थप समाचार
x