राजनीति

स्थायी कमिटीमा दाहाल-नेपालको पल्‍लाभारी : के हटाउन सक्‍लान् त ओलीलाई ?

जीवन कुँवर |
मंसिर २१, २०७७ आइतवार ११:३५ बजे

काठमाडौं : शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् । ओलीको अडानकै बीच आज नेकपाको स्थायी कमिटी बैठक आज १ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव पेश हुने बताइएको छ । दुई पदमध्ये एक पद छुटाउन रडाको गराएको भन्दै यसमा आफू तयार नभएको ओलीले बताएका थिए । उनले गत भदौं २६ को सहमतिमा अडेर काम अघि बढ्ने सचिवालय बैठकमा जानकारी गराएका थिए ।

स्थायी कमिटी सदस्यहरु आफूतिर तान्‍न दुवै पक्ष तीब्र कसरतमा छन् । दवै पक्षले स्थायी कमिटी सदस्यलाई विभिन्‍न पद र प्रलोभनको खेल बढाएको नेकपा नेतृत्व नै बताउँछन् । स्थायी कमिटी सदस्य 'यता-उता' गर्ने प्रवृत्ति बाक्लिएको छ ।


४५ सदस्यीय स्थायी कमिटीमा पूर्वमाओवादीका अग्‍निप्रसाद सापकोटा सभामुख भएपछि ४४ सदस्यीय भएको हो । स्थायी कमिटीमा ओली समूहका १२ जना छन् । पछिल्‍लो समय पूर्वमाओवादीका पाँच स्थायी कमिटी सदस्यहरु पनि ओली समूहमा लागेको दाबी गरिएको छ । तर आजको स्थायी कमिटी बैठकमा ती पाँच जनाले के गर्छन् भन्‍ने अझै टुंगो लागेको छैन् । ओली समूहमा उनीहरु खुलेर लागे भने ओलीतिर १७ जना स्थायी कमिटी सदस्य पुग्छन् ।

त्यस्तै दाहाल समूहमा सुरुमा १८ सदस्य थिए । जसमध्य पाँच जना ओली समूहमा लागेको दाबी गरिएको छ । त्यसो हो भने दाहाल समूहमा १३ सदस्य बाँकी रहनेछन् । तर ओलीतिर लागेका पूर्वमाओवादीका पाँच स्थायी कमिटी सदस्य अन्तिममा आफूतिर आउने दाहाल समूहको बुझाइ छ । त्यस्तै माधव नेपाल, वामदेव गौतम र झलनाथ खनाल समूहका स्थायी कमिटी सदस्यहरु १४ जना छन् ।

नेकपाभित्र अहिले ओलीलाई ईश्‍वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापाको साथ छ । दाहाललाई माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको साथ छ । यसरी हिसाव गर्दा स्थायी कमिटीमा दाहाल नेपाल समूहको पल्लाभारी छ । ओली समूहका १७ जना छन् भने दाहाल-नेपाल समूहमा २७ जना पुग्‍छन् । नेकपा नेताहरु भन्‍छन् 'अहिलेको चलखेलले संख्या तलमाथि हुन सक्छ ।'

गत कात्तिक २५ मा ओलीले दाहाललाई पत्र लेखेका थिए । त्यसको जवाफ दाहालले कात्तिक २८ को सचिवालय बैठकमा १९ पृष्ठको राजनीतिक प्रस्ताव नै पेस गरेका थिए । ओलीको पत्रको जवाफ दाहालसहित नेकपाका पाँच सचिवालयको सदस्यले संयुक्त रुपमा फर्काएपछि नेकपाभित्र विवादले झन उग्र रुप लियो । लगत्तै २८ कात्तिकमा ओलीले दाहाल समूहलाई 'काउन्टर' ३८ पृष्ठ लामो जवाफि प्रस्ताव पेस गरे । दाहालको पत्रलाई फिर्ता लिनुपर्ने भन्दै ओलीले सचिवालय बैठकसमेत 'बंक' गरे । तर ओलीको केही सीप चलेन अन्तत शनिबारको सचिवालय बैठकमा सहभागी भए । स्थायी समिति सारेर भए पनि साझा प्रस्ताव लैजानुपर्ने पक्षमा ओली समूह थिए । साझा प्रस्ताव लैजान नसकिएमा दाहालले प्रस्ताव फिर्ता वा संशोधन गर्नुपर्ने धारणा ओली पक्षको थियो । तर दवै अध्यक्षको प्रस्ताव पेस हुने गरि आज स्थायी कमिटी बस्दैछ ।

'स्थायी समिति बैठकमा दुवैको प्रस्ताव पेस हुनेछ । बैठकले पार्टीको संकट र निवारणका सन्दर्भमा छलफल गरेर निष्कर्ष निकालिनेछ,' प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘दुवै प्रस्ताव पेस भएर मिहिन ढंगको बहस हुनेछ । जसबाट निकास निस्कने विश्‍वास सबैको छ । यो विषयमा आजै निष्कर्ष आउने सम्भावना न्यून थियो । प्रस्तावलाई स्थायी समितिमा लगर नै छलफल गर्नुपर्ने विषय उठाउँदै आएका हौं । अब यसले गति पाउनेछ । पार्टीको निर्णय सबै नेताले मान्‍नुपर्छ ।’ श्रेष्ठले अब पार्टीको निर्णय अनुसार चल्‍नुपर्ने बताए । 

अब स्थायी कमिटीमा बहुमत र अल्पमतको कुरा हुन्छ भन्‍ने इकागजको प्रश्‍नमा श्रेष्ठले घुमाउरो शैलीमा भने 'हामीले भन्दै आएको व्यक्तिभन्दा पार्टी ठूलो हो भनेका थियौं अब त्यही कुरा अघि बढ्‌छ' श्रेष्ठले इकागजसँग भने 'पार्टी संस्थागत हुने गरी अगाडी बढेको छ ।'

ओली समूहका स्थायी कमिटी सदस्यहरु
- केपी ओली
- विष्णु पौडेल
- ईश्वर पोखरेल
- सुवास नेम्वाङ
- पृथ्वीसुब्बा गुरुङ
- शंकर पोखरेल
- विष्णु रिमाल
- प्रदीप ज्ञवाली
- किरण गुरुङ
- सत्यनारायण मण्डल
- छविलाल विश्वकर्मा
- रघुवीर महासेठ

दाहाल समूह स्थायी कमिटी सदस्यहरु
- पुष्पकमल दाहाल
- नारायणकाजी श्रेष्ठ
- रामबहादुर थापा (पछिल्‍लो समय ओली समूहमा देखिएका)
- देव गुरुङ
- टोपबहादुर रायमाझी (पछिल्‍लो समय ओली समूहमा देखिएका)
- गिरिराजमणि पोखरेल
- हरिबोल गजुरेल (पछिल्‍लो समय ओली समूहमा देखिएका)
- वर्षमान पुन
- शक्ति बस्‍नेत
- जनार्दन शर्मा
- पम्फा भुसाल
- मात्रिका यादव
- गणेश साह
- लेखराज भट्ट (पछिल्‍लो समय ओली समूहमा देखिएका)
- देवेन्द्र पौडेल
- चक्रपाणि खनाल
- लिलामणि पोखरेल
- मणि थापा (पछिल्‍लो समय ओली समूहमा देखिएका)

नेपाल, गौतम र खनाल समूहका स्थायी कमिटी सदस्यहरु
- वामदेव गौतम
- माधवकुमार नेपाल
- झलनाथ खनाल
- भीम रावल 
- युवराज ज्ञवाली
- अष्टलक्ष्मी शाक्य 
- वेदुराम भुसाल 
- घनश्याम भुसाल 
- सुरेन्द्र पाण्डे
- रघुजी पन्त
- योगेश भट्टराई
- गोकर्ण विष्ट
- मुकुन्द न्यौपाने
- भीम आचार्य

र, यो पनि
सचिवालय बैठकमा त्यो प्रश्‍न : जसकारण वामदेवविरुध्द उत्रिए सूर्य थापा
राष्ट्रपतिको सक्रियताले पनि मिलेनन् ओली-दाहाल
राष्ट्रपतिको तारन्तारले होला त ओली-दाहालको विवाद समाधान ?
गुटगत राजनीतिको मारमा मर्यादित राष्ट्रपति पद
ओली र दाहालले बिहीबार छुट्टाछुट्टै भेटे राष्ट्रपति भण्डारीलाई
सचिवालयमा एक्लिदै ओली
एक्लिएको थाहा पाएपछि बैठक छल्दै ओली
संसद् विघटन र नेकपा फुटबारे पोखरेल भन्छन्- संविधान र कानुनलाई नजरअन्दाज गर्न मिल्दैन्


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x