राजनीति

धकेलियो मन्त्रिपरिषद् विस्तार

जसपा केन्द्रीय समिति बैठकपछि मात्रै सरकारमा जाने

कांग्रेसका थप मन्त्री पनि केन्द्रीय समिति बैठकपछि

मधुसुधन भट्टराई |
साउन २५, २०७८ सोमबार १९:२५ बजे

काठमाडौँ – सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) पार्टीको केन्द्रीय समिति बैठकपछि मात्रै सरकारमा सहभागी हुने भएको छ । जसपाले आगामी भदौ एक र दुई गते पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । 

त्यसपछि मात्रै सरकारमा सहभागी हुने सम्भावना प्रवल रहेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । ‘पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि मात्रै सरकारमा सहभागी हुने सम्भावना प्रवल छ,’ अध्यक्ष इकागजसँग भने, ‘पार्टीको केन्द्रीय कार्यसमिति बैठक र सरकारमा सहभागिता फरक विषय हुन् तर पार्टी बैठक बोलाइ सकिएकाले त्यसपछि मात्रै सरकारमा सहभागी हुने कि भन्ने छ ।’ 


सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट नटुंगिएकाले तत्काल सरकारमा सहभागी सम्भावना नरहेको अध्यक्ष यादवले बताए । ‘सत्ता गठबन्धनबीच मन्त्रालयको मागवण्डा नै टुंगिएको छैन । भागवण्डा टुंगिएपछि मात्रै सरकारमा जाने कुरा हो । त्यसको सुरसार अझै भएको छैन,’ यादवले भने ।

मन्त्रालयको भागवण्डा टुंग्याउने बैठक बोलाउने जिम्मेवारी आफूहरूले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको उनले बताए । ‘हामीले प्रधानमन्त्रीलाई मन्त्रालयको भागवण्डा टुंग्याउने बैठक बोलाउने अधिकार दिएका छौं । उहाँले बोलाएपछि अब छलफल होला । सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक भएकाले अब बोलाउनुहुन्छ, अनि टुंगिन्छ,’ यादवले भने । 

वर्तमान सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चा छन् । राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने बताइसकेको छ । एमालेको नेपाल समूहले पनि जाने नजाने निर्णय गर्न सकिरहेको छैन । 

यता प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसबाट पनि पार्टी केन्द्रीय समिति बैठक अगावै मन्त्री नथपिने भएका छन् । कांग्रेसले १४ औं महाधिवेशनबारे छलफल गर्न २८ साउनमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा निकट एक केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठक अघि सरकारमा थप मन्त्री नबनाउने देउवाले बताएको जानकारी दिए । 

‘अब पार्टीबाट मन्त्री केन्द्रीय समिति बैठक अघि थपिदैनन् । बैठकमा छलफल गरेर आगामी निर्वाचन र पार्टी महाधिवेशनलाई लक्षित गरेर मन्त्री थप्ने जानकारी हामीलाई गराउनु भएको छ,’ ती सदस्यले भने । 

२९ असारमा प्रधानमन्त्री नियुक्त देउवाले आफैले पद तथा गोपनियताको शपथ लिँदा चार मन्त्री बनाएका थिए । त्यसपछि एक राज्यमन्त्री बनाए पनि अरु मन्त्री बनाउन नसकेको भन्दै देउवाको आलोचना भइरहेको छ ।
 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x