राजनीति

एमसीसीमा राष्ट्रिय सहमति आवश्यक : सभामुख सापकोटा

इकागज |
साउन २७, २०७८ बुधबार १८:४२ बजे

काठमाडौँ – सभामुख अग्नि सापकोटाले अमेरिकी सहयोग परियाजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)मा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।बुधबार (आज) सञ्चारकर्मीहरूसँग आफ्नै कार्यकक्षमा कुराकानी गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् । एमसीसी परियोजना जनताको घर–घरसम्म जोडिएको विषय भएकाले यसमा राष्ट्रिय सहमति बनेपछि मात्र अगाडि बढाइनुपर्ने आफ्नो धारणा भएको स्पष्ट पारे ।

‘एमसीसी पारित गर्न राष्ट्रिय सहमति आवश्यक हुन्छ, त्यो नभए पनि कमसेकम संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरूबीच समझदारी हुन आवश्यक छ,’ उनले भने । १३ साउनमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले, ‘यो सरकारले एमसीसी पारित गरेर राष्ट्रघाती कदम चाल्न लागेको,’ भन्दै यही हालतमा एमसीसी पारित गरे आफ्नो दलले गठबन्धन छोड्ने चेतावनी दिएका थिए । 


१५ साउनमा प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमाले सांसद भीम रावलले पनि सरकारले एमसीसी पारित गरेर राष्ट्रघाती काम गर्न लागेको दाबी गरेका थिए ।मंगलबार (हिजो) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे गठबन्धन सरकार मौन रहेर जनतालाई ढाँटेको भन्दै आपत्ति जनाएका थिए । 

यसै सन्दर्भमा सभामुख सापकोटाले एमसीसीबारे सञ्चारकर्मीहरूसँग आफ्नो धारणा राखेका हुन् । ‘देश विकासका लागि विदेशी सहयोग आवश्यक हुन्छ तर यसमा राष्ट्रहितबारे गम्भीर रुपमा ध्यान दिनुपर्छ,’ सभामुख सापकोटाले सञ्चारकर्मीहरूसँग भने, ‘एमसीसीका सबै पक्षबारे म पनि अध्ययन गरिरहेको छु, निष्पक्ष भएर, खुला दिमागले छलफल गरिरहेको छु।’ 


Author

थप समाचार
x