‘अघिल्लो सरकारले १८ महिनामा ४२ लाखलाई खोप दियो, हामीले ७५ लाखलाई दिइसक्यौँ’
काठमाडौँ - स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले कोभिड १९ को नियन्त्रणका लागि प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले खोपको आयात दर बढाइएको बताएका हुन् । ‘प्रधानमन्त्रीको प्रतिबद्धता अनुसार खोपलाई प्राथमिकता दिइएको छ । खोप आयातको दर बढाइएको छ ।
नेपाली जनतालाई कोभिडविरुद्ध पाँच करोड ५० लाख खोपको आवश्यकता पर्छ,’ उनले भने, ‘पहिलेको सरकारले ९७ लाख खोप प्राप्त गरेर १८ महिनामा ४२ लाखलाई खोप दिइएको थियो । नयाँ सरकार आएपछि ७५ लाख खोप लगाइएको छ । वर्तमान सरकारले दैनिक एक लाख ५० हजारदेखि २ लाख खोप लगाउने गरेको छ ।’ उनले एक करोड भन्दा धेरै डोज खोप सुनिश्चित भइसकेको पनि बताए ।
स्वास्थ्य क्षेत्रमा राज्यले धेरै परिवर्तन गर्नुपर्ने भएकोले छिटै अल्पकालीन र दीर्घकालीन योजना समेटेर सदनमा प्रस्तुत गर्ने श्रेष्ठको भनाइ छ । सबै जनता स्वास्थ्यको पहुँचमा नभएकाले स्वास्थ्य दरबन्दी बढाउनुपर्ने अवस्था रहेको जानकारी दिए ।
अब खोप व्यवस्थापनलाई ध्यान दिएर जनघनत्व, उमेर समूह, औद्योगिक क्षेत्र, श्रमिकदेखि अग्रभागमा खटिनेलाई खोप दिइने उनले बताए । धेरै संक्रमित रहेका करिब १६ जिल्ला तत्कालका लागि खोप लगाउनुपर्ने जिल्लाको प्राथमिकतामा परेको पनि उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया