राजनीति

सुदूरपश्‍चिम प्रदेश

मन्त्रीकी सम्धिनीले कर्मचारीलाई हैरान पारेपछि...

दीपक उपाध्याय |
साउन ३१, २०७८ आइतबार १७:१२ बजे

कैलाली– सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीले मन्त्रालय सम्हालेको एकसाता नबित्दै निजी सचिवालयमा नाताले ‘सम्धिनी’ पर्ने कर्मचारीलाई मन्त्रालयमा भित्र्याए । लालबहादुर खड्का जेठ १४ मा सामाजिक मन्त्रीमा नियुक्त भएका थिए । उनले निजी सचिवालयमा नाताले सम्धिनी पर्ने लिलावती विष्ट भाटलाई सरुवा गरी भित्र्याएका थिए । मन्त्रीले विष्टलाई ‘काज सरुवा’मा ल्याएका हुन् ।

मन्त्रीको सचिवालयमा जिम्मवारीसँगै भाटको मनोमानी बढ्दै गएपछि सामाजिक विकास मन्त्रालयका कर्मचारीहरुले आफूहरु आतंकित भएको गुनासो गरेका छन् । उनले मन्त्रालयमा मन नपरेका कर्मचारीलाई लखेट्ने, आफन्त र नजिकका कर्मचारीलाई पोस्ने काम गरिरहेको आरोप मन्त्रालयका कर्मचारीहरु लगाउँछन् ।


उनी कञ्चनपुरको भीमदत्त नगरपालिकामा सिनियर अनमी पदमा कार्यरत थिइन् । मन्त्री भएको ७ दिनमै जेठ २१ म नगरपालिकालाई पत्र लेखेर काजमा खटाउन आदेश दिएका थिए ।
मन्त्रालयको आदेशका आधारमा उनलाई मन्त्रालय पठाएको भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए । स्थानीय तहको कर्मचारीलाई सरुवा गर्न संघीय सरकारको अनुमति लिनुपर्ने भएतापनि मन्त्रालयले नियम विपरित ठाडो आदेशमा पत्र लेखेर उनलाई मन्त्रालय बोलाएको हो । सूचना अधिकारी धामीले मन्त्रालयले नै पत्र पठाएपछि बाध्यतावस पठाउनु परेको बताए ।

स्थानीय तहको कर्मचारीलाई प्रदेशको कुनै पनि मन्त्रालयले सीधँै काजमा खटाउन आदेश दिन नपाउने कानूनी व्यवस्था छ । प्रदेश सरकार मातहतको कार्यालयमा स्थानीय तहको कर्मचारी काम गर्न खटाउने निर्णय गर्न संघीय सरकारको सामान्य प्रशासन मान्त्रालयले मात्रै पाउँछ ।

त्यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत संघीय सरकारलाई अनुरोध गर्नुपर्ने हुन्छ । तर मन्त्री खड्काले भने अधिकृत छैठौंको दरबन्दीमा सहायक पाचौँकी विष्टलाई निजी सचिवालयमा तानेका हुन् ।

मन्त्रालयमा काज सरुवासँगै दोहोरो भ्रमण भत्ता लिने प्रयत्न गरेको पनि भेटिएको छ । एकै दिनमा दोहोरो भ्रमण भत्ता बुझ्न लागेको सूचना मन्त्रालयबाट बाहिर आएपछि उनले दोहोरो भ्रमण भत्ता भने बुझ्न पाएकी छैनन् । विष्टले एकै मितिमा दोहोरो भ्रमण गरेको कागजात अभिलेख खातामा भने देखिएको छ ।

भाटले काजमा आएकै दिन असार १८ गतेदेखि २२ गतेसम्म ५ दिन बैतडी र दार्चुलामा भ्रमण गरेको अभिलेखमा उल्लेख छ भने असार २० गतेदेखि २३ गतेसम्म चार दिन अछाम जिल्लाको भ्रमण गरेको दोहोरो अभिलेख छ । विष्टले बैतडी र दाचुर्लाको भ्रमण गरेको समय र मितिमा अछामको पनि भ्रमण गरेको अभिलेखमा उल्लेख छ । यस विषयमा जानकारी लिन खोज्दा उनले फोन भने उठाइन्न ।उता सामाजिक विकास मन्त्री लालवहादुर खड्काले भने भ्रमणबारेमा बुझेर मात्र प्रतिक्रिया दिने बताए ।
 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x