राजनीति

महन्थलाई कारागारबाटै रेशम चौधरीको समर्थन (पत्रसहित)

सन्तोष अधिकारी |
भदौ ४, २०७८ शुक्रबार १५:४९ बजे

काठमाडौँ – जनता समाजवादी पार्टी विभाजनपछि महन्थ ठाकुर समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । यसअघि जनता समाजवादी पार्टी (लोकतान्त्रिक) नाम प्रस्ताव गरेकोमा निर्वाचन आयोगले नाम संशोधन गरेर निवेदन दिन भनेपछि लोकतान्त्रिक समाजवादी पार्टी नाम राखेर आज शुक्रबार अर्काे निवेदन दर्ता गराइएको हो । 

ठाकुर समूहले प्रस्ताव गरेको नयाँ पार्टीलाई जसपाका निलम्बित सांसद रेशम चौधरीले पनि समर्थन जनाएका छन् । चौधरीले डिल्ली बजार कारागारबाट महन्थ ठाकुर समूहले दर्ता गर्ने नयाँ पार्टीलाई मञ्जुरी नामा पठाएका हुन् । 


चौधरीले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम प्रस्ताव गर्दैमा समर्थन गरेर निर्वाचन आयोगमा पत्र पठाएका हुन् । यो नाम संशोधन भए पनि आफ्नो समर्थन ठाकुर समूहलाई नै रहने जानकारी गराएको बताइएको छ ।  

‘म रेशम चौधरी आवद्ध रहेको राजनीति दल जनता समाजवादी पार्टी छुट्टै दलको रुपमा जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) महन्थ ठाकुरको नेतृत्वमा तहाँको कार्यालयमा आजै दर्ता हुने हुँदा उक्त पार्टीमा म कार्यकारिणी सदस्यको रुपमा जिम्मेवारी बहन गर्न तयार रहेको र मेरो निम्न बमोजिमको हस्ताक्षर निर्वाचन आयोगले आधिकारिकताको रुपमा स्वीकार गरिदिनुहुन अनुरोध छ’ चौधरीले पठाएको पत्रमा भनिएको छ ।  

चौधरीले जसपा लोकतान्त्रिकका लागि समर्थन जनाएर पठाएको पत्र नाम संशोधन भएर लोकतान्त्रिक समाजपार्टी दर्ता गर्दा काम लाग्ने नलाग्ने भन्ने विषयमा आयोगले अध्ययन गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले इकागजलाई जानकारी दिए । 

‘हिजो जनता समाजवादी पार्टी लोकतान्त्रिकलाई समर्थन छ भनेर उहाँ (रेशम चौधरी)ले पत्र पठाउनु भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘त्यो प्रस्ताव गरेको नाम नै संशोधन भइसकेको अवस्था छ । यस्तो अवस्थामा फेरि मञ्जुरीनामा लिन पनि सकिन्छ । आयोगले त्यसलाई सदर गर्न पनि सक्छ ।’ ठाकुर समूहले छुट्टै दल बनाउन समर्थन गरी हस्ताक्षर गरेको कार्यकारिणी सदस्यहरुको समर्थन पत्र भनेर १७ जनाको नाम र १६ जनाको हस्ताक्षर भएको पत्र आयोगमा बुझाएको छ । १७ औँ नम्बरमा नाम भएका चौधरीले हस्ताक्षर गरेका छैनन् । उनले हस्ताक्षर गर्ने ठाउँ खाली छोडिएको छ । 

कारागाराबाट स्वीकृत लिएर पत्र र हस्ताक्षर पठाउनुपर्ने भएकोले आयोगमा बुझाएको पत्रमा चौधरीको हस्ताक्षर नभएको नेता केशव झाले इकागजलाई बताए । ‘उहाँको समर्थन हाम्रै समूहलाई छ । उहाँले कारागारबाटै पत्र पठाउनु भएको छ । निर्वाचन आयोगमा उहाँको हस्ताक्षर पनि पुगिसकेको छ’ झाले भने । 

जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता डम्बर खतिवडाले भने चौधरीको स्वतन्त्रताको विषयमा आफू आबद्ध रहेको पार्टीको कुनै प्रतिक्रिया नरहेको बताए । ‘दलको आधिकारिकताको हस्ताक्षर गर्ने बेलामा उहाँ तटस्थ बस्नु भयो,’ खतिवडाले भने, ‘अध्यावधिक गर्दा टेलिफोनमा म तपाईंहरुसँगै बस्छु भन्नु भएको थियो । हामीले उहाँको नाम समावेश गरेकै हो । तर, अहिले उहाँले कुरा बदल्नु भयो भने त हाम्रो भन्नु केही छैन ।’  


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x