राजनीति

टिप्पणी

भीम रावल-घनश्याम भुसाललगायतले माफी माग्‍नुपर्छ !

अहिलेसम्म भन्दै आएको प्रतिगमन बालकोटको एकै भेटमा कसरी सच्चियो ? जनतालाई जवाफ दिनु पर्दैन ?

विनोद देवकोटा |
भदौ ८, २०७८ मंगलबार १७:१४ बजे

काठमाडौँ - तत्कालीन नेकपा विवाददेखि नै नेकपा एमाले दुई धारमा विभाजित थियो । आन्तरिक अन्तरसंघर्षबाट सुरु भएको विवाद समयक्रमसँगै बढ्यो । नेताहरूको दूरी बढ्दै गयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गरेपछि एक अर्काविरुद्ध संघर्षमै उत्रिए एमालेजनहरू । विघटनविरुद्ध आम हड्तालसम्मका कार्यक्रम गरेका नेताहरूले त्यति बेला सार्वजनिक मन्चमा गरेका भाषण, सञ्चार माध्यममा दिएका अभिव्यक्ति स्मरणीय छन् ।

एक अर्काविरुद्ध प्रयोग/प्रहार गरिएका शब्दको ओज घटेको छैन । विघटनलाई अलोकतान्त्रिक, असंवैधानक र निरंकुशतावादी कदमको संज्ञा संस्थापनइतरले दिए । मुलुकलाई प्रतिगमनतर्फ धकेल्न खोजेको, राज्यसत्ताको चरम दुरुपयोग गरेकोलगायतका आरोप उनीहरूले केपी शर्मा ओलीमाथि लगाए । एक अर्काविरुद्ध शब्द वाण प्रहार गर्ने मात्रै होइन परे भौतिक रूपमै भिड्न तयार थिए उनीहरू ।


शक्ति प्रदर्शनको होडबाजीमा दुवै पक्ष उत्रिए । परिणाम प्रतिनिधि सभा पुनःस्थापना भयो । प्रतिगामी कदमको संज्ञा दिएको एक पक्षले पुनःस्थापनामा लड्डु बाँडे । मुख मिठ्याए । राजनीतिक रूपमा संस्थापनको हार भयो । संघर्षमा उत्रेकाहरू रमाए । 

सयमक्रमसँगै पहिलो पटक ब्युँतिएको प्रतिनिधि सभामा ओलीले दोस्रो पटक कुदृष्टि लगाए । त्यसअघि नै तत्कालीन नेकपा बदर भइसकेको थियो । एमाले र माओवादी ब्युँतिसकेका थिए । पार्टी अलग्गिए पनि मन अलग्गिएको थिएन । दोस्रो विघटनविरुद्ध पनि उनीहरू खरो रूपमै उत्रे । ओलीविरुद्धको संघर्षमा अग्रपङ्तिमा थिए दाहाल-नेपाल । उनीहरू पछि पछि थिए, भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराईलगायतहरू । जति चर्को ओलीविरुद्ध दाहाल-नेपाललले बोले त्यो भन्दा दुई गुणा बढाएर भीम-घनश्यामहरूले भाषण गरे । ‘शब्द कोषबाट शब्द खोजीखोजी’ ओलीमाथि प्रहार गरे । 

पहिलोभन्दा दोस्रो विघटन विशेष रह्यो । संघर्ष र परिणाम पनि । पहिलो पटक व्यवस्थापिकाका निर्वाचित सांसदहरू सर्वोच्च अदालतमा लाम लागे । पुनःस्थापना माग गरे ।  अग्रपङ्तिमा उनै थिए माथि उल्लेखितहरू । अघिअघि दाहाल-नेपाल, पछिपछि भीम-घनश्यामहरू । उनीहरूले परमादेश मागे । अदालतले दियो । विघटन दोस्रो पटक असफल भयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । जुन उनीहरूको माग दाबी थियो । ओली बालुवाटारबाट बालकोट पुगे । भीम-घनश्यामहरू फेरि जिते । 

दोस्रो विघटन र यसले ल्याएका परिणाम एमालेका लागि खास रह्‍यो । ऐतिहासिक रह्‍यो । दोस्रो विघटनपछि ऐतिहासिक घटना घटे । आफ्नै पार्टीका सांसदले आफ्नै पार्टीको सरकार हटाएर विपक्षीलाई विश्वासको मत दिएर खुसी मनाए । अन्ततः विभाजन भयो । 

तर, विभाजनपछि देखिएका केही राजनीतिक दृष्ट रोचक, नाटकीय र अनपेक्षित छन् । ती हुन् नयाँ अवतारमा देखिएको 'तेस्रो धार' को चलाखीपूर्ण (अ)राजनीतिक कदम । जो विगतमा विघटनविरुद्ध कुर्ले, ओलीविरुद्ध उर्ले र चर्को भाषण गरे, उनीहरूनै अन्तिममा लत्रिए । ओली सामू आत्मसर्मपण गरे । युद्धमा सामेल लडाकूलाई बाटोमै छोडेर उनीहरूले हतियार बिसाए । विना कुनै राजनीतिक सहमति विलीन भए । 

प्रस्तावित नेकपा समाजवादीका नेता खिमलाल देवकोटाको प्रश्‍न छ, ‘प्रतिनिधि सभा पुनःस्थापनालाई दुर्भाग्य र ऐतिहासिक भन्नेहरूको मिलनबिन्दु कहाँनिर हो ?’ कि प्रतिनिधि सभा पुनःस्थापना ऐतिहासिक उपलब्धी ठान्नेले ऐतिहासिक भूल भयो भन्नुपर्‍यो ? होइन भने  निश्चित छ विपरीत ध्रुवका यी दुई धार सँगसँगै रहन सक्दैनन् ।

‘नेकपा एमालेले प्रतिनिधि सभा पुर्नस्थापनालाई दुर्भाग्य भनेको र यसको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ । भीम रावल-घनश्यामलगायतका कथित तेस्रो धारका नेताले प्रतिनिधि सभा पुनःस्थापनालाई महान र ऐतिहासिक भनेका छन्, देवकोटाको तर्क छ, ‘प्रतिनिधि सभा विघटन जालसाँझ र अपराध थियो भन्ने धारणा समेत उनीहरूको थियो/छ । अब प्रतिनिधि सभा पुर्नस्थापनालाई दूर्भाग्य भन्ने र ऐतिहासिक उपलब्धी ठान्नेका बीचको मिलनविन्दु कसरी र कहाँनेर हुन्छ ? विपरीत ध्रुवका यी दुई धार सँगसँगै जानसक्लान  ? निश्चित छ । सक्दैनन । ऐतिहासिक उपलब्धी ठान्नेले ऐतिहासिक भूल भयो भन्नै पर्दछ ।’ उसो त देवकोटाले भनेजस्तै असहमतिका बुँदा अरु पनि छन् । पहिला विचारमा सहमति/एकरूपता नभएसम्म भागवण्डामै मिलेको तेस्रो धार कति समय रहला ? 

कुनै पनि पार्टी विभाजन हुनु दुखद हो । यसले आम नेपाली कसैलाई पनि फाइदा गर्दैन । कुनै दल वा व्यक्तिलाई हुने क्षणिक लाभले मुलुक र जनतालाई दीर्घकालीन हानी पुर्‍याउँछ ।

तर, यहाँ कुरो विभाजन वा एकताको मात्रै होइन । उनीहरूले प्राप्त गरेको उपलब्धी के हो ? उनीहरूबीचको राजनीतिक सहमति के हो ? प्रतिनिधि सभा विघटन वा पुनःस्थापनालाई हेर्ने दृष्टिकाण फेरियो ? प्रतिगमन सच्चियो ? विघटन असंवैधानिक थियो कि बाध्यता ? भीम रावल-घनश्यामलगायतले जनतालाई जवाफ दिनुपर्छ । विगतमा गरिएको संघर्ष र शक्ति प्रदर्शन के का लागि ? उनीहरू आफैले उत्तर खोज्नुपर्छ । विगतमा गरिएका भाषण र दिइएका अभिव्यक्तिका आर्काइभ हेर्ने, सुन्ने र पढ्ने हिम्मत गर्नुपर्छ । 

१० बुँदे जुन देखाएर उनीहरू फर्किए । संविधानमाथिको जालसाजीमार्फत गरिएको असंवैधानिक त्रुटि ? असंवैधानिक कदम ? प्रतिगमनको मतियार को थियो ? के त्‍यो सच्‍चिसक्‍यो ? कि विघटनलाई प्रतिगमन भन्नु गलत थियो भनेर आत्मालोचना गर्दै पुनःस्थापना गर्ने सर्वोच्चको आदेशविरुद्ध भण्डाफोर अभियानमा लाग्नुपर्‍यो ।

होइन भने राजनीतिमा कुनै नैतिकता हुँदैन ? खेलमा सहभागी भएपछि बिचमै भाग्न पाइन्छ ? कथित तेस्रो धार मात्रै एमालेमा समाहित भएर विभाजन रोकिन्छ ? एमाले विभाजन रोक्ने उनीहरूको जिम्मेवारी होइन ? उनीहरूले विभाजन रोक्‍न किन सकेनन् ? अहिलेसम्म भन्दै आएको प्रतिगमन बालकोटको एकै भेटमा कसरी सच्चियो ! कि तेस्रो धार त्यसै थच्चियो ? जवाफ दिनुपर्दैन ?


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x