'दलका नेताले संविधानमाथि राजनीति गर्न हुँदैन'
काठमाडौँ- पूर्वप्रधानन्यायाधीशहरूले संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरूलाई सचेत गराएका छन् । पूर्व प्रधानन्यायाधीशद्धय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरूको अहमताका कारण संविधान माथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति समेत जनाए । नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संविधानमाथि राजनीति नगर्न नेताहरूलाई सचेत गराए ।
उनले संविधानलाई कसैले पनि गम्भिरतापूर्वक नलिएको आरोप समेत लगाए । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, 'संविधानमाथि राजनीति भयो, संविधानलाई जुन ढंगले गम्भीरतापूर्वक लिने हो, त्यो लिएको जस्तो हामीलाई लाग्दैन, सत्ता कब्जा गर्ने दृष्टिकोण अहं रह्यो, संविधानले कायम गरेका कुराहरूमा आवद्ध रहने क्रम अलिकम रह्यो ।'
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अहिलेको राजनीति राजाको पालोको नमूना जस्तो भएको बताए । उनले संविधानको गलत व्याख्या र प्रयोग गरेर राजाको नमूना जस्तो राजनीति दलहरूले गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । अहिलेको राजनीतिमा सबै मै हुँ भन्ने अहंकार र आफ्नो दलको नेताहरूलाई समेत मिलाउन नसकेर दलमा कोलाहल पैदा भईरहेको पूर्व प्रधानन्यायाधीश कार्कीको भनाइ ।
पूर्व प्रधानन्यायाधीश कार्कीले भने 'राजनीति वा देशको शासन कुनै एउटा दलले चलाउँछ भने त्यो दलले एउटा नमूना, उदाहरण बनेर कसरी मुलुकलाई सञ्चालन गरेर जाने, कसरी राम्रो भन्दा राम्रो काम गर्दै लिएर जाने भन्ने हुन्छ, तर यहाँ त भताभुङ्ग, राजाको नमूना जस्तो भयो, आफ्नै दलभित्र पनि कोलाहल, दलका नेताहरूलाई मिलाउन नसक्ने, जे कुरा पनि आफैँ मै हुँ भन्ने खालको अहमता, प्रवृत्ति देख्यौँ ।'
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले अहिलेको सरकार सर्वोच्चको परमादेशबाट नआएको दाबी गरिन् । उनले सांसदहरूले धारा ७६(५) अनुसार आफ्नो अधिकारलाई प्रयोग गरेर हस्ताक्षर बुझाएपछि मात्रै सर्वोच्चले प्रधानमन्त्रीको नियुक्ति प्रारम्भ गरेको बताइन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता खिमलाल भट्टराईले अहिलेको मुख्य समस्या भनेको संविधानको व्याख्या र प्रयोगमा भएको बताए । उनले संविधानको धारा ७६ बनाउँदा कुन हिसाबले संविधान लेखिएको थियो त्यसको स्पष्टता आवश्यक रहेको पनि बताए ।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री वर्षमान पुनले संविधानको नेतृत्व गर्ने दलहरू नै संविधान कमजोर पार्न लागि परेको आरोप लगाए । 'जसले संविधानको बिरोध गरे, च्याते, जलाए उनीहरू संविधानको रक्षामा आए, जसले नेतृत्व गरेका थिए उसले यसलाई भत्काउने, च्यात्ने, कमजोर बनाउने जस्तो अवस्था आएको छ, यसमा बहस गर्न आवश्यक छ' उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया