राजनीति

‘बीपीकै कारण नेविसंघकाे अध्यक्ष बनेँ, अब कांग्रेस सभापति बन्छु’

सन्तोष अधिकारी |
भदौ ११, २०७८ शुक्रबार १६:४८ बजे

काठमाडौँ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन हुने नहुने द्वीविधाकै बाबजुत उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारको सम्पर्क कार्यालय नै खोलिसके । सभापति पदमा उम्मेदवार दिने तयारीका साथ उनले काठमाडौँको नयाँबानेश्वरस्थित बानेश्वर बेंक्वेट नै भाडामा लिएर सम्पर्क कार्यालय खोलेका हुन् । 

निधिले आज शुक्रबार बिहान नौ बजेको शुभसाइतमा पशुपतिका भण्डारीदेखि जनकपुरका महन्थसम्मले पूजा-आजा गरेर आशीर्वाद लिएर सम्पर्क कार्यालय स्थापना गरेको बताएका छन् । ‘हिन्दु धर्म अनुसार पुजा गरेर सबैको आशीर्वाद लिएर बिहान नौ बजेको शुभसाइतमा मेरो कार्यकक्षको शुभारम्भ गरिएको छ,’ निधिले भने, ‘मलाई सभापति पदमा विजय प्राप्त होस् भनेर जनकपुरका महन्थ, पशुपतिका भण्डारी आएर आशीर्वाद दिएर जानु भएको छ ।’ 


सम्पर्क कार्यालयको शुभारम्भ गर्ने क्रममा उनले कांग्रेसका संस्थापक बीपी कोइरालाई विशेष रुपमा सम्झना गरे । ‘२०३६ सालमा बीपीकै आग्रहमा नेपाल विद्यार्थी संघको अध्यक्ष निर्विरोध रुपमा नेतृत्व प्रदान भयो,’ उनले भने, ‘बीपीकै कारण आज राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका प्रस्तुत गर्न पाएको छु । आज बीपीकै पार्टीको सभापति बन्न उम्मेदवारी दिने तयारीमा छु ।’ 

निधिले  पशुपति, जनकपुरको जानकी, डोलेश्वर, दक्षिणकाली, बंगलामुखीका पुजारीसँगै, बुद्ध धर्मका लामा गुरु, मुस्लिम, क्रिश्चियनका पुजारीलगायत सबैको आशीर्वाद लिएको बताएका छन् । यसअघि सभापति शेरबहादुर देउवाको विश्वासपात्रको रुपमा रहेका निधि आगामी महाधिवेशनमा आफैँ सभापतिको उमेदवार बन्ने तरखरमा जुटेका हुन् । उनले फेरि पनि सभापति लड्ने बताइरहेका सभापति देउवासँग आफूलाई सहयोग गर्न पनि आग्रह गरिसके । जवाफमा देउवाले एक पटक आफूलाई नै सहयोग गर्न भने । 

आजको कार्यक्रममा निधिले देउवालाई इंगित गर्दै भने, 'म कसैलाई हराउन सभापति बन्न खोजेको होइन। अर्को चुनावमा हामी रुख छापलाई जिताउन हामी सफल हुनेछौँ । म नेपाली कांग्रेसको सभापति हुने कुरा आगामी आम चुनावसँग जोडिएको छ। नेपाली कांग्रेसको रुख छापलाई बहुमत प्राप्त गराउनका लागि सबैलाई समेटेर भूमिकामा उत्रिनेछु। म कसैलाई पराजित गर्न, कसैलाई अक्षम घोषित गर्न, कसैलाई रिटायर गर्न सभापति भन्न खोजेको होइन ।’ 

निधिको यो भनाइले पनि सभापति देउवासँगको दूरी अझ बढ्ने पक्का छ । त्यसो त निधिले आज सम्पर्क कार्यालय स्थापना गरेर सभापति देउवासँगै सभापतिको उम्मेदवार बन्न धेरै आकांक्षी रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेतालाई पनि आफू अघि बढेको सन्देश दिएका छन् । 

निधिले सम्पर्क कार्यालय स्थापनाको उद्घाटन गरिरहँदा कांग्रेस युवा नेता चन्द्रभण्डारीदेखि विभिन्न जिल्लाका जिल्ला सभापति, कांग्रेस केन्द्रीय सदस्य तथा सांसदहरु पनि उक्त कार्यक्रममा पुगेका थिए । प्रदेश २ का सरकारका मन्त्री पनि उक्त कार्यक्रममा थिए । निधिले आफूले युवाहरुलाई सहजीकरण गर्नका लागि सभापति पदमा उमेदवारी दिने तयारी गरेको पनि बताए । उनले आफू वैचारिक रुपमा प्रष्ट व्यक्ति रहेको पनि दाबी गरे ।

कार्यक्रममा सभापति देउवाको गृह जिल्ला डडेल्धुराका जिल्ला सभापति कर्ण मल्ल, नुवाकोट सभापति जगदीशनरसिंह केसी, सुर्खेत सभापति कमलराज रेग्मी, धादिङ सभापति रमेश धमला, संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ, धनुषा सभापति महेशचन्द्र गिरी, काभ्रेसका सभापति मधु आचार्य पनि कार्यक्रममा उपस्थित थिए । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरत शाह, प्रदेश २ का मन्त्री रामसरोज यादवलगायत पनि निधिलाई समर्थन गर्न आइपुगेका थिए ।

‘कांग्रेसको नेतृत्वमा बैचारिक रुपमा स्पष्ट मान्छे चाहिन्छ । कांग्रेस गुट उपगुटबाट माथि उठेर आओस् भन्ने जनताको चाहना छ । कांग्रेसले संविधान कार्यान्वयन गरिदियोस् भन्ने पनि चाहना छ,’ उनले भने, ‘म यही विषयहरु कार्यान्वयन गर्नको लागि उम्मेदवारी दिने तयारी गरेको छु । युवालाई अघि बढाउन सहजकर्ता बन्नको लागि उम्मेदवारी दिने तयारी गरेको छु ।’ 

उनले क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न माग गरेर अनसनरत जिल्ला सभापतिहरुको मागमा ऐक्यबद्धता पनि जनाए । ‘महाधिवेशन हुँदैछ । क्रियाशील सदस्यको सूचि पनि अन्तिम हुँदैछ । जिल्ला सभापतिहरुले सूची सार्वजनिक गरेर आन्दोलन गरिरहनु भएको छ,’ उनले थपे, ‘सूची त सार्वजनिक हुनै पर्छ ।’ निधिले ‘हिमाल, पहाड, तराई–मधेश, सबैको देश, सबैको कांग्रेस’ नारा लिएर सभापतिको उम्मेदवारी दिने तयारी गरेका छन् । 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x