राजनीति

एमाले कर्णालीलाई २ जेठमा फर्काउन नेतृत्वबीच छलफल

लक्ष्मी भण्डारी |
भदौ १४, २०७८ सोमबार १९:१६ बजे

सुर्खेत – कर्णाली प्रदेशमा नेकपा एमालेलाई २ जेठ ०७५ कै संरचनामा फर्काउन नेतृत्वबीच बैठक बसेर छलफल भएको छ । एमाले पार्टी कार्यालय सुर्खेतमा सोमबार बसेको बैठकले कर्णाली प्रदेशमा एमालेका सबै संरचनालाई पुरानै अवस्थामा फर्काएर पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेको हो ।

एमालेका उपाध्यक्ष एवम् कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवाली, सहइन्चार्ज यामलाल कडेल, केन्द्रीय कमिटि सदस्य विष्णु रिजाल, दैलेख जिल्ला इन्चार्ज लक्ष्मीप्रसाद पोखरेल, केन्द्रीय सदस्य राजबहादुर बुढा, गुलावजंग शाह, गोविन्दविक्रम शाह, कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटीलगायत सहभागी बैठकले यस्तो निर्णय गरेको हो । 


‘बैठकमा एमालेलाई नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्नुपूर्वको २ जेठ ०७५ को अवस्थामा फर्काउनेबारे छलफल गर्दै सोहीअनुसार निर्णय गरिएको छ,’ गुलाबजंग शाहले भने । छलफलमा कर्णाली एमालेलाई एकताबद्ध बनाउने र पुरानै संरचनालाई व्यूँताएर जनतामाझ जाने निर्णय भएको पनि उनले बताए । ‘एमालेलाई पहिलेकै अवस्थामा फर्काएर जनतामा जानका लागि जिल्ला–जिल्लामा गएर भेला गर्ने निर्णय भएको छ,’ शाहले इकागजसँग भने ।  

त्यसैगरी पार्टीको महाधिवेशनकाबारेमा आवश्यक निर्णय गरेर कार्यान्वयनमा गर्नेलगायतका विषयमा छलफल भएको उनले जानकारी दिए । एमालेबाट केही व्यक्ति विभाजित भए पनि प्रदेशका सबै कमिटीमा एमालेकै बहुमत रहेको कर्णाली प्रदेश इन्चार्ज ज्ञवालीको भनाइ छ । बैठक उपाध्यक्ष ज्ञवालीको अध्यक्षतामा बसेको थियो ।


Author

थप समाचार
x