राजनीति

प्रदेश-१ : समाजवादीमा जाने एमालेका सांसदले आज सनाखत गर्ने, को-को जाँदैछन् ?

इकागज |
भदौ १६, २०७८ बुधबार ९:२४ बजे

विराटनगर- नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) मा जाने प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिहरूले दल परिवर्तनको सनाखत गर्ने तयारी गरेका छन् । बुधबार निर्वाचन आयोगको प्रदेश कार्यालय विराटनगरमा पुगेर दल परिवर्तनको सनाखत गर्ने तयारी गरेका हुन् ।

मंगलबार राधाकृष्ण रथयात्राका दिन प्रदेश १ सरकारले झापा, मोरङ र सुनसरी जिल्लामा दिएको सार्वजनिक विदाका कारण उनीहरूले सनाखत गर्न पाएनन् । विराटनगरकै बिग होटलको ‘डिलक्स रुम’ मा राखिएका सांसदहरूले सार्वजनिक विदाका कारण सनाखत गर्न नपाउने भएपछि उनीहरूलाई मंगलबार धरान, भेडेटार र धनकुटा घुमाइएको थियो । उनीहरू मंगलबार राती बस्‍नका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेष्ट हाउस बुक गराएका थिए । धरानबाट बुधबार बिहान विराटनगर आएर १२ बजेपछि प्रदेश निर्वाचन कार्यालयमा दल परिवर्तनको सनाखत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।


प्रदेश १ मा एमालेका १० जना प्रदेश सांसद नेकपा (एस) मा जाने तयारी गरिरहेको उक्त समूहको नेतृत्व गरिरहेका सांसद राजेन्द्रकुमार राईले दाबी गर्दै आएका छन् । तर होटलमा राखिएका केहि सांसदहरूमाथि अझै विश्वास नभएपछि उनीहरूलाई निगरानीमा राखिएको छ । उनीहरूलाई सिमित व्यक्तिहरूको बाहेक अन्यको फोन नउठाउन निर्देशन गरिएको छ ।

उक्त समूहबाट मुख्यमन्त्री बन्‍ने तयारी गरिरहेका राईले आफ्नो समुहका सांसदहरू स्वतः मन्त्री पद पाउने भन्दै सांसद रिझाइरहेका छन् । एकीकृत समाजवादी निकटका केही विद्यार्थी नेताहरूलाई होटलमा आउने अन्य व्यक्तिहरूको निगरानीका लागि खटाइएको छ । प्रदेश सांसद उपेन्द्र घिमिरेले सकेसम्म बुधबार नै सनाखत गर्ने तयारी रहेको बताएका छन् । उनले एमाले छाडेर अरु सांसद पनि आउनसक्ने सम्भावना बढेको र त्यसको सुनिश्चितता भएको खण्डमा अझै एकदुई दिनपछि पनि सनाखत गर्ने बिषयमा छलफल भएको जानकारी दिए ।

नेकपा (एस) मा प्रदेश सांसदहरू राजेन्द्र राई, खिनु लङ्वा लिम्बु, सुनिता चौधरी, राजन राई, गणेशकुमार काम्बाङ, सावित्राकुमारी रेग्मी, सरिता थापा, कृष्णकुमारी राई र पदमकुमारी गुरुङ खुलेको उक्त समूहको दाबी छ ।

बुधबार उनीहरूमध्ये कम्तिमा ५ जनाले मात्रै नेकपा (एस) मा समावेश हुने गरी दल परिवर्तनको सनाखत गरेको खण्डमा ६ दिनअघि मुख्यमन्त्री बनेका भीम आचार्यको सरकार संकटमा पर्नेछ । ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा माओवादी केन्द्रका सांसद टंक आङ्बुहाङले एमालेमा प्रवेश गरेपछि उनको सांसद गुमिसकेको छ । ९२ सदस्यीय प्रदेशसभाबाट मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४७ जना सांसदको समर्थन चाहिन्छ ।

कोइराला र कार्कीको भेटले गठबन्धनमा तरंग
आफ्नै पार्टीको नेतृत्वमा भर्खरै बनेको सरकारको आयु संकटमा परेपछि नेकपा एमालेको नेतृत्व राजनीतिक दौडधुपमा केन्द्रित बनेको छ । त्यसको प्रत्यक्ष असर भने विपक्षी गठबन्धनमा देखिन थालेको छ । 

आफ्नो सरकार टिकाउन नसके प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई नै सत्ताको ‘नेतृत्व दिन तयार’ रहेको सन्देश दिने गरी एमाले केन्द्रीय सदस्य एवं पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई मंगलबार निवासमै गएर भेटेका छन् ।

सुनसरीको इनरूवास्थित कोइराला निवासमा उनीहरूबीच भेटघाट भएको हो । भेटका क्रममा प्रदेश १ को राजनीतिक अवस्थाबारे छलफल भएको कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताए । उनले एमालेभित्र पछिल्लो पटक उत्पन्‍न भएको सत्ता संकट र समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको जानकारी दिए । नियमित भेटघाटकै रूपमा कार्कीले आफ्नो दलको तर्फबाट कुरा राखेको भन्दै कोइरालाले उक्त भेटलाई ‘सामान्य रुपमा लिन’ आग्रह समेत गरे ।

यता पूर्वमन्त्री कार्कीले पनि पार्टीभित्र लोकतान्त्रिक मूल्यमान्यता स्थापित गर्ने र टुटफुटलाई प्रश्रय दिन नहुने बिषयमा कोइरालासँग छलफल भएको बताएका छन् । आफूले नेकपा एमाले संसदीय दलका नेता भीम आचार्यको नेतृत्वमा भर्खरै बनेको नयाँ सरकारलाई समर्थन गर्न नेता कोइराला समक्ष आग्रह गरेको कार्कीले बताए ।

उनले सत्तारुढ दलले सरकार चलाउन नसक्ने अवस्था आए प्रमुख प्रतिपक्षी दलको स्वभाविक रुपमा पालो आउने बताए । छलफलमा आचार्य नेतृत्वको सरकारलाई नै अहिले कांग्रेसले विश्वासको मत दिने, त्यसो नभए एमालेले कांग्रेसलाई समर्थन गरेर जाने बिषयमा कुराकानी भएको कार्कीले जानकारी दिए ।

स्रोतका अनुसार कोइरालासँगको भेट भएको फोटो कार्कीको सचिवालयले सार्वजनिक गरे लगत्तै नेकपा (एस) बाट मुख्यमन्त्रीका रुपमा अघि सारिएका प्रदेश सांसद राजेन्द्र कुमार राईले कार्कीलाई फोन गरेका थिए । फोनमा राईले ‘मलाई मुख्यमन्त्री हुन नदिने ?’ भन्दै गुनासो गरेको जनाइएको छ ।


Author

थप समाचार
x