राजनीति

दार्चुला घटनाका दोषीलाई कारबाही गर्न जनगणतान्त्रिक मोर्चाको माग

इकागज |
भदौ १६, २०७८ बुधबार १९:९ बजे

काठमाडौँ – देशभक्त जनगणतान्त्रिक मोर्चाले दार्चुला घटनामा संलग्न भारतीय एसएसबीलाई कडा कारबाही गर्न सरकारसमक्ष माग गरेको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । घटना छानविनका लागि १७ साउनमा गठित छानबिन समितिले दिएको प्रतिवेदन प्रतिवेदन कार्यान्वयन गर्न मोर्चाले सरकारसँग माग गरेको हो  ।

‘सरकारद्वारा गठित कार्यदलले नियतपूर्वक भारतका एसएसबी जवानले तुइनको लठ्ठा खोलेका कारण उनी महाकाली नदीमा डुबी बेपत्ता भएको प्रमाणसहित सरकारलाई प्रतिवेदन बुझाइसकेको जानकारी प्राप्त भएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘अतः उक्त प्रतिवेदन तुरुन्त कार्यान्वयन गर्न र अपराधमा संलग्नहरूलाई कडा कारवाही गराउन भारत सरकारसँग अविलम्ब सार्थक कूटनीतिक पहल गर्न हामी जोडदार माग गर्दछौं ।’


१५ साउनमा दार्चुलाको ब्यास गाउँपालिका– २ निवासी ३३ वर्षीय जयसिंह धामी गाउँबाट सदरमुकाम खलंगा जाने क्रममा मालघाट भन्ने ठाउँमा महाकाली नदी तर्ने क्रममा खसेर बेपत्ता भएका थिए । भारतीय एसएसबीले तुइनको तार खुस्काएपछि धामी महाकालीमा बेपत्ता भएको सरकारद्वारा गठित छानबिन समितिले बताइसकेको छ ।


Author

थप समाचार
x