राजनीति

कांग्रेस महाधिवेशन

३९ जिल्लामा वडाअधिवेशन सम्पन्‍न

कांग्रेस नेता कार्यकर्तामा महाधिवेशनकाे रौनक

इकागज |
भदौ १८, २०७८ शुक्रबार २१:४७ बजे

काठमाडौँ - मुलुककै जेठो दलको रुपमा परिचित नेपाली कांग्रेसको महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । पार्टी अधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक समय सीमाको दबावका कारण यो प्रक्रिया सुरु भएको हो । सत्तारुढ नेपाली कांग्रेसले साढे ५ वर्ष (अनेकन सुविधासहित) को समयसीमासमेत पुरा गरेर बाध्यकारी अवस्थामा पुगेपछि अधिवेशन थालेको हो । यो अधिवेशनले गाँउगाउँमा एक प्रकारको रौनक ल्याएको छ । 

मुलुकभरका ६ हजार ७ सय वडामा एकै दिन अधिवेशन गर्ने तयारी यसअघि गरेको भए पनि केही जिल्लामा देखिएको विवादको कारण अधिवेशन प्रभावित छ । अहिलेसम्मको सूचनामा २१ जिल्लामा अधिवेशन प्रभावित भएको छ । क्रियाशील सदस्यताको कारण यस्तो अवस्था आएको हो ।


प्रतिनिधिले केन्द्रीय निर्वाचन समितिको समन्वय र अनुमतिमा १ भदौमा तोकिएको अधिवेशनलाई केही दिन ढिलो गर्न सक्ने सुविधा पार्टी केन्द्रीय समितिले दिएको छ ।५६ जिल्लामा सुरु भएको अधिवेशनले अन्य जिल्लालाई पनि दबाबमा राख्नेछ । कांग्रेसले यो पटकबाट क्रियाशील सदस्यले वडा अधिवेशनमा मात्रै भाग लिन पाउने व्यवस्था गरेकाले पनि त्यहाँबाट नै चुनिएर आउने छन् । अगामी २७ भदौमा गाउँ र नगर स्तरको अधिवेशनका लागि तयार भएको कांग्रेसले वडा अधिवेशन सकेपछि त्यसमा लाग्नेछ । तर अहिले नै वडा अधिवेशन सकिएन भने समस्या हुने र सबै तर्फ ढिलाइ हुँदै जाने देखिएको छ ।

हुन त आगामी २७ गते अगावै सबै प्रक्रिया पुरा भएर अघि बढ्ने बताइएको छ । कांग्रेसले मुलुकभर वडामा एकसाथ अधिवेशन सम्पन्न गर्ने भनिए पनि सदस्यता विवादका कारण समस्या आएको हो । आफ्नो पक्षधरलाई पार्टीमा क्रियाशिल बनाउने कारणले समस्या निम्तिएको हो । वा त्यही विवाद देखाएर अधिवेशन धकेल्दै जाने नीति माथि रहनेहरूले गरेका हुन । 

कांग्रेसको नेतृत्व पारदर्शी नहुँदा नै क्रियाशील सदस्यताले समस्या निम्ताएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता वितरण पारदर्शी बनाउन आफूहरूले विगतदेखि नै संघर्ष खेपिरहनु परेको बताए । अहिले झनै पेचिलो भएके भन्दै यसको समाधान भनेको पारदर्शिता नै रहेको बताए । पौडेल पक्षधर केही नेताहरू पार्टी कार्यालयमै धर्नामा नै बसेर भए पनि क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्न लगाए । कतिपय सार्वजनिक हुने प्रतिबद्धता कांग्रेस नेतृत्वले दिएको छ ।

प्रदेश–२ मा देखिएको समस्याको बारेमा छलफलहरु भइरहेको छ । ०७२ फागुनमा १३ औँ महाधिवेशन गरेको कांग्रेसले २३ भदौभित्र अधिवेशन गर्न नसके वैधानिकतामाथि नै प्रश्न उठ्ने थियो । त्यसअगावै प्रक्रिया सुरु गरेर आफ्नो साख बचाएको छ । यसरी अधिवेशन हुँदा गाउँ तहसम्म आर्थिक चलायमान हुने हुनाले यो नै लोकतन्त्रको महत्वपूर्ण पाटो हो । सहरमा खाँदिएका नेताहरु गाँउ जानेछन् संगठन गर्नेछन् । प्रतिशपर्धा हुनेछ । जसले गर्दा कांग्रेसको संगठन चलायमान त हुन्छ नै त्योभन्दा पनि एउटा लोकतान्त्रिक पार्टीको यस प्रकारको गतिले अन्यलाई पनि मार्गदर्शन गर्नेछ । 

कांग्रेसले अघिल्लो अधिवेशन सम्पन्न गरेको पाँच वर्ष र ६ महिना भदौ २३ गते पुग्ने भएकाले त्यसअघि नै महाधिवेशनको कार्यक्रम सुरु गर्न लागिएको प्रवक्ता शर्माले बताए । तीन पटकसम्म पछि सरेको सूचि पछि कांग्रेस केन्द्रीय महाधिवेशन आगामी ९–१३ मंसिरमा हुने छ । त्यसअघि १२ कात्तिकभित्र प्रदेश र असोज १० भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने सूची तय छ ।

शुक्रबार ३९ जिल्लामा वडामा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । सुदूरपश्चिमका बझाङ, अछाम, कञ्चनपुरमा अधिवेशन सम्पन्न भएको उनले जानकारी दिए । बाजुरा, दार्चुला, बैतडी, डडेलधुरा र कैलालीमा बाँकी रहेको उनले बताए ।

यस्तै कर्णाली प्रदेशका जुम्ला, हुम्ला, जाजरकोट, दैलेखमा अधिवेशन सम्पन्न भएको छ भने रुकुम पश्चिम, सल्यान, डोल्पा, मुगु, कालीकोट र सुर्खेतमा अधिवेशन हुन बाँकी छ । यस्तै लुम्बिनी प्रदेशका नवलपरासी, अर्घखाँची, रुपन्देहीमा अधिवेशन सम्पन्न भएको छ भने कपिलवस्तु, गुल्मी, पाल्पा, रुकुम (पूर्व), प्युठान, दाङ, बाँके र बर्दियामा अधिवेश हुन बाँकी छ ।

यस्तै गण्डकी प्रदेशका गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, पर्वत, स्याङ्जा, म्याग्दीमा अधिवेशन सम्पन्न भएको उनले जानकारी दिए । सोही प्रदेशका बाग्लुङ र नवलपुरमा अधिवेशन हुन बाँकी रहेको उनले बताए । बागमती प्रदेशमा भक्तपुर, दोलखा, सिन्धुलीमा निर्वाचन सम्पन्न भएको छ । ललितपुर चितवन धादिङ नुवकोट, मकवानपुर, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक काठमाडौंमा बाँकी छ ।

प्रदेश २ मा धनुषाबाहेक सबै जिल्लामा अधिवेशन सम्पन्न भएको उनले बताए । यस्तै प्रदेश १ का झापा, मोरङ र सुनसरीबाहेकका जिल्लामा अधिवेशन सम्पन्न भएको उनले जानकारी दिए  । ‘बाँकी जिल्लामा क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान भएलगत्तै अधिवेशन हुन्छ,’ घिमिरेले भने ।  


Author

थप समाचार
x