राजनीति

नेपालले स्पष्टता खोजेका बुँदामा एमसीसीले पठायो जवाफ (प्रश्नको उत्तरसहित)

खुला छलफल र पारदर्शीताका लागि सधैं तयार छौं, तर सम्झौता संशोधन हुँदैन : अमेरिका

पुष्पराज आचार्य |
भदौ २३, २०७८ बुधबार २१:१३ बजे

काठमाडौँ– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालले स्पष्टता खोजेका बुँदामा १५ पृष्ठ लामो जवाफ पठाएको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ १८ मा एमसीसीलाई पत्र लेखेर नेपालमा सांसदहरू र नागरिक अगुवाहरू र आम नागरिक एमसीसीको अनुदान सहयोग सम्झौता (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) सम्बन्धी सम्झौतामा स्पष्ट हुन चाहेको भन्दै प्रश्नहरू पठाएका थिए । 

नेपालले सोधेका प्रश्नमा जवाफसँगै मन्त्री शर्मालाई सम्बोधन गरी लेखिएको र प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत बोधार्थ दिएको पत्रमा नेपालले खुला र पारदर्शी छलफलका लागि पठाएको प्रश्नका लागि धन्यवाद दिइएको छ । 


यो पत्र एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले लेखेकी हुन् । उनी बिहीबार चार दिने भ्रमणका लागि नेपाल आउँदैछिन् । चार वर्षअघि सम्झौता भएपनि संसदबाट अनुमोदन भएपछि मात्र सहयोग परिचालन हुने भएकाले यसले लक्ष्य गरेका विकास आयोजनाको काम अघि बढ्न सकेका छैनन् । ३१२ किमी उच्च क्षमताको विद्युत् प्रसारणलाइन र अन्तरदेशीय विद्युत् व्यापार संरचनाका साथै सडक स्तरोन्नति गरी दुई परियोजना एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलर समकारक कोषमार्फत् कार्यान्वयन गर्ने सम्झौता छ । 

एमसीसीका तर्फबाट प्राप्त पत्रमा एमसीसी सहयोगको उद्देश्य गरिबी निवारण र सबै नेपालीका लागि समावेशी आर्थिक विकासको लाभ सिर्जना गर्नु हो भनिएको छ । 
अमेरिका र नेपालबीच ७० वर्षदेखि मित्रवत् सम्बन्ध रहेको भन्दै उक्त पत्रमा नेपाल र अमेरिकाबीचको सम्बन्ध साझा मूल्यमान्यता र सबै देशको सार्वभौमसत्ताको सम्मानको जगमा अडिएको उल्लेख छ । एमसीसीको उद्देश्य पारस्पारिक मित्रताको निरन्तरता रहेको भन्दै नेपालको लोकतान्त्रिक मूल्यमान्यताप्रतिको प्रतिवद्धता र सबै नेपालीको सुन्दर भविष्य निर्माण गर्ने प्रतिवद्धतामा सहयोग रहेको पत्रमा उल्लेख छ । 

सुमारले  सुरुवातका भ्रमणमा एमसीसीको सहयोगका सम्बन्धमा सरकारदेखि सबै राजनीतिक पार्टीहरू, व्यवसायिक समुदाय, निकै सकारात्मक प्रतिक्रिया पाएको उल्लेख गरेकी छिन् । ‘दुर्भाग्यवश, मेरो अघिल्लो भ्रमणमा एमसीसीको सहयोगलाई लिएर धेरै नै अतिरञ्जनापूर्ण र भ्रामक प्रचार र अभिव्यक्तिहरू आएको जानकारी पाएँ । एमसीसीमा कुनै पनि गोप्य एजेण्डा छैन,’ उनले भनेकी छिन्, ‘यो पत्र र त्यहाँबाट सोधिएका प्रश्नको जवाफ आम जनतामाझ सार्वजनिक गरियोस् भन्ने हाम्रो चाहना छ ।’ 

पत्रमा एमसीसीको अनुदान सहयोगमा निर्माण हुने परियोजनाले २ करोड ३० लाख नेपालीलाई विश्वसनीय उर्जा आपूर्ति गर्नुका साथै विद्युत प्रसारणको लागत कम गर्ने उल्लेख गरिएको छ । उनले नेपालले सोधेका प्रश्नको जवाफ अंग्रेजी र नेपाली दुवै भाषामा पठाइएको भन्दै पत्रमा यसले एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउन सहयोग पुग्ने विश्वास लिएको उल्लेख  गरिएको छ । 

एमसीसीले खुला जवाफ र पारदर्शी प्रक्रियाका लागि हर्दम तयार रहेको भन्दै अब सम्झौता संशोधन हुन नसक्ने उल्लेख गरेको छ । 

यस्तो छ एमसीसीबाट प्राप्त जवाफ
 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x