राजनीति

एमाले स्थायी कमिटी बैठक शुक्रबार बस्दै, यस्ता छन् एजेन्डा

इकागज |
भदौ २४, २०७८ बिहीबार २०:३५ बजे

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक शुक्रबार बस्ने तय भएको छ । अपराह्न ४ बजे ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने भएको हो । बैठकमा मुख्यगरी चार एजेन्डामा छलफल हुने बताइएको छ ।

विधान महाधिवेशन तयारी साथै चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने एमाले स्रोतले बताएको छ । यस्तै एमालेले कारबाही गरेका माधव नेपालसहित १४ जना सांसद्लाई पदमुक्त नगर्ने सभामुखको भूमिका र कारबाही गरेका सांसद् सम्मिलित दललाई मान्यता दिएको निर्वाचन आयोगको भूमिकाका बारेमा छलफल हुने एमाले स्थायी कमिटीका एक सदस्यले बताए ।


माधव नेपाल पक्षमा रहँदै आएका तेस्रो धारका नेताहरू एमालेमै आएपछि बस्न लागेको यो दोस्रो बैठक हो । एमाले स्थायी कमिटीको पहिलो बैठक ८ भदौमा बसेको थियो । सोही बैठकले १० बुँदे कार्यान्वयनको निर्णय गरेपछि अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईलगायत नेपाल पक्षमा खुल्दै आएका नेताहरू एमाले संस्थापनमै रहेका छन् ।


Author

थप समाचार
x