राजनीति

फतिमासँग दाहालले भने- दलहरूबीच राष्ट्रिय सहमति र सत्ता गठबन्‍धनमा साझा धारणा हुनुपर्छ

इकागज |
भदौ २५, २०७८ शुक्रबार १०:७ बजे

काठमाडौँ- अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेकी छन् । शुक्रबार बिहान दाहाललाई भेट्‍न खुमलटार पुगेकी फतिमाले करिब एक घण्टा छलफल गरिन् ।

एमसीसी संशोधन नगरी पास गर्न नहुने अभिव्यक्ति दिँदै आएका माओवादी अध्यक्ष दाहालले फतिमासँग के छलफल गरे होला भन्‍ने आम चासो छ । छलफलमा बसेलगत्‍तै फतिमाले दाहालसँग भनेकी थिइन् 'मलाई यहाँ दलहरूलाई दबाब दिन आएको भनेका छन् । तर म यहाँका राजनीति दललाई दबाब दिन होइन । भेटघाट र छलफल गर्न आएको हुँ । दबाब दिने मेरो कुनै उदेश्‍य छैन । नेपालका राजनीतिक दलका शीर्ष नेताले सहमति गरेर एमसीसी परियोजना अगाडि बढाउनु हुन्छ भन्‍नेमा ढुक्‍छ छौँ ।'


फतिमाको कुरा सुनेपछि दाहालले कूटनीतिक जवाफ दिए । दलहरूबीच राष्ट्रिय सहमति गरेर एमसीसी अगाडी बढ्‍दा राम्रो हुने दाहालले बताएको उनका प्रेस संयोजक विष्णु सापकोटाले इकागजलाई जानकारी दिए । 'दलहरूबीच राष्ट्रिय सहमति गरेर एमसीसी अगाडी बढ्‍दा राम्रो हुन्‍छ' दाहालको भनाइ उदृत गर्दै सापकोटाले भने 'सत्तारुढ गठबन्‍धनमा आवद्ध दलहरूबीच साझा धारणा बनाएर अगाडी बढ्‍दा राम्रो हुन्छ ।'

माओवादीले यसअघि नै एमसीसी संशोधन नगरी पास गर्न नहुने बताउँदैछ । त्यस्‍तै जनता समाजवादी (जसपा),  नेकपा (एकीकृत समाजवादी), जनमोर्चालगायत दलहरू संशोधन नगरी एमसीसी पास गर्न नहुने पक्षमा छन् ।


Author

थप समाचार
x