राजनीति

सभामुख र अर्थमन्त्रीले पदीय मर्यादा भुलेकाे एमाले सांसदकाे टिप्पणी

इकागज |
भदौ २५, २०७८ शुक्रबार २२:४ बजे

काठमाडौँ –  प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद्हरूले सभामुख र अर्थमन्त्रीको तरिका गलत भएकाले सदनमा त्यसको विरोध जनाएको प्रतिक्रिया दिएका छन् ।शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै एमाले सांसद्हरूले यस्तो बताएका हुन् ।

आफूहरूले सदनमा अवरोध नगरेको तर सभामुख र अर्थमन्त्री गलत तरिकामा प्रस्तुत भएपछि आफूहरू त्यसको विरोध गर्न बाध्य भएको उनीहरूको प्रतिक्रिया छ । ‘सबै दलको सहमतिबिना प्रतिस्थापन विधेयक ल्याइनु राम्रो होइन । जनताका प्रतिनिधिको छलफलमा मात्र प्रतिस्थापन विधेयक ल्याइनुपर्छ । विधेयक तत्काल पेश गर्नुपर्ने कुनै हतारो थिएन,’ पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले सांसद् सुरेन्द्र पाण्डेले भने । 


एमालेका अर्का सांसद् गोकुल बास्कोटाले सभामुखले निर्वाह गर्नुपर्ने न्यूनतम भुमिका पनि निर्वाह नगरेको आरोप लगाए । ‘सभामुखले त्यो कुर्सीमा बसिरहँदाखेरी सबै दलप्रति समान व्यवहार गर्नुपर्छ । उहाँले त्यो काम गर्नुभएन । हाम्रो विरोध त्यसप्रति हो । यतिसम्म असहिष्णुता देखाइसक्नु भएको छ कि कार्यव्यवस्था परामर्श समितिको बैठकमा त्यसका सदस्यहरूलाईसमेत कार्यसूची र एजेण्डा उहाँले दिनुभएन भनेपछि उहाँले संसद् कसरी चलाउनुहुन्छ ? हामीले अवरोध गर्न खोज्या हो र ? उहाँको तरिका गलत भयो त्यसको विरोध गरेका हौं,’ पूर्वसञ्चारमन्त्री पनि रहेका बास्कोटाले भने, ‘हामीले सभामुखको गैरजिम्मेवार भूमिकाको प्रतिवाद गरेको हौं ।’

यस्तै नेकपा एमालेकी सांसद गंगा चौधरीले सभामुख र अर्थमन्त्री पदीय मर्यादा भुलेर बाहिर गएको टिप्पणी गरिन् । ‘सभामुख र अर्थमन्त्रीले जनयुद्धको गुरिल्ला चरित्र देखाउनु भयो,’ सञ्चारकर्मीहरूसँग उनले भनिन्, ‘उहाँहरूको यस्तो तरिकाले संसदीय मर्यादाको धज्जी उडेको छ ।’ प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेर अघि नबढेर अर्थमन्त्री शर्माले चोरबाटो र जंगली पाराले लुकेर प्रतिस्थापन विधेयक पेश गरेको उनले आरोप लगाइन् । एमाले सांसद रेखा झाले सभामुख र अर्थमन्त्रीको यो कदम गैरसंवैधानिक रहेको टिप्पणी गरिन् ।


Author

थप समाचार
x