राजनीति

नेपाल-भारत सीमा सिल गर्ने निर्णय

सुभाष कर्ण |
भदौ २८, २०७८ सोमबार १६:१४ बजे

जनकपुरधाम- भारतमा हुन लागेकाे ग्राम पञ्चायतकाे चुनावलाई लक्षित गरेर नेपाल-भारत सीमा सिल गर्ने निर्णय गरिएकाे छ । दुई देशको सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ गर्ने उद्देश्यले नेपाल-भारत सुरक्षा अधिकारीहरू संयुक्त बैठकले सीमा सिल गर्ने निर्णय गरेको हो ।

आगामी सेप्टेम्बर २९ बाट भारतको बिहार राज्यको सीमावर्ती क्षेत्रको ग्रामपञ्चायतमा चुनाव हुँदै छ । आज जनकपुरमा दुई देशका सुरक्षा अधिकारीबीच भएको छलफलले चुनाव हुनुभन्दा ४८ घण्टा अगाडि नेपाल-भारतको सीमा नाका सिल गर्ने निर्णय भएको हो ।


विभिन्न ११ चरणमा हुने चुनावलाई निष्पक्ष, तटस्थ तथा धान्धलीरहित बनाउन नेपालबाट पूर्ण सहयोग हुने भारतीय सुरक्षाकर्मीले मागेकाे सहयाेगमा नेपाली सुरक्षाकर्मीले भारतीय पक्षलाई नेपालबाट पूर्ण सहयाेग हुने विश्वास व्यक्त गरेकाे छ ।

खास गरेर नेपाली सुरक्षा अधिकारीहरूले सीमावर्ती भारतीय क्षेत्रबाट नेपालतर्फ लागूऔषधिको ओसारपोसार बढेको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा अपराधीहरु लुकेर बस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीहरुलाई नेपाली अधिकारीहरूले ध्यानाकर्षण गराएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्ताेलाले जानकारी दिएका छन् ।

बैठकमा अवैध सामान ओसार-पोसारमा थप सूरक्षा सतर्कता अपनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीहरू सकारात्मक रहेको प्रजिअ बास्‍तोलाले बताए । साथै भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीबाट हुँदै आएको सहयोगको उच्च प्रशंसा समेत गरिएकाे उनले बताए ।

साे बैठकमा भारतकाे मधुबनी जिल्लासँग जाेडिएका धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरु, शसस्त्र प्रहरी उपरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु तथा भारतका तर्फबाट बिहार दरभंगाका डिभिजनल कमीसनर डा. मनिष कुमार, मधुबन्नी जिल्लाका डिएम अमित कुमार, मधुबन्नीका प्रहरी उपरीक्षक सत्यप्रकाश, एस.एस.वि.का प्रमुखसहितका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियाे ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x