राजनीति

माओवादीद्वारा पार्टी विधान पारित

इकागज |
भदौ २९, २०७८ मंगलबार १९:१९ बजे

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान पारित गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्ने गरी पार्टीको विधान पारित गरेको हो । 

बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । आयोगलाई पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने ? भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि बैठकले दिएको छ । 


प्रवक्ता महराले स्थायी कमिटीको बैठकले अहिलेसम्म सम्पर्कमा आएका ४५ वटा पार्टीबाट विद्रोह गरेका नेताहरुलाई कसरी समायोजन गर्ने र यस सम्बन्धी कार्यान्वयनका लागि बनेको गठित कार्यदलले प्रतिवेदनको पूरा रूप दिन आग्रह गरिएको बताए । 

पार्टी प्रवक्ता महराले भने, ‘पार्टीको विधानलाई अन्तिम रूप दिनको निमित्त भाषा सम्पादन गर्ने केही साथीहरूलाई जिम्मेवारी दिइएको थियो, आज अलिकति थपघट भाषामा हेरफेर गर्नुपर्ने आवश्यक्ता रहेकोले त्यो सक्ने र केही चिज परिमार्जन गर्ने भएमा परिमार्जन गर्ने तर त्यो आगामी केन्द्रिय समिति वा राष्ट्रिय सम्मेलनले अनुमोदन गर्ने गरी विधान पास गरियो,' प्रवक्ता महराले भने । 

प्रवक्ता महराले फेरि सर्वदलीय बैठक बसेर वा छुट्छुट्टै बैठक बसेर भएपनि संसद राम्रोसँग चलाउनुपर्छ भन्ने कुरामा नै नेकपा माओवादी अडिक रहेको बताए । 


Author

थप समाचार
x