राजनीति

एमसीसी लागू गर्दा विदेशीले चलखेल गर्ने ठाउँ पाउँछन् : कँडेल

इकागज |
भदौ २९, २०७८ मंगलबार १९:३४ बजे

जनकपुरधाम - मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य हरिभक्त कँडेलले मुलुकलाई विदेशीको गुलामीबाट बचाउन एमसीसी लागू गर्न नहुने बताएका छन् । मंगलबार जनकपुरधाममा मधेशी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश २ का ईन्चार्ज समेत रहेका कँडेलले भने, ‘एमसीसी लागू गर्दा देश विदेशीको गुलाम बन्छ । साथै देश र जनताका दुवैका लागि घातक हुनेछ । विदेशीको चलखेल गर्ने ठाउँ हुन नदिन सबैले एमसीसीको विरूद्धमा लाग्नु पर्छ ।’

उनले बहुमतको कम्यूनिष्ट सरकार वा गठबन्धनको वर्तमान सरकारले जनतालाई बेवास्ता गर्दै एमसीसी लागू गराउन देश र जनता विरोधी कार्य गर्ने दुस्साहस गरिरहेकाले यस्तो नगर्न भन्दै सरकारविरूद्ध आन्दोलनमा जाने चेतावनी समेत दिए । 


कँडेलले भने, ‘भारतमा जसरी ईष्ट ईण्डिया कम्पनीको नाममा भारतलाई कब्जा गरे । त्यसभन्दा पनि खतरनाक ढंगले केही नेताहरूले आफ्नो निजी स्वार्थ पूरा गर्न हाम्रो मुलुकलाई विदेशीहरूले कब्जा गर्ने रणनिती एमसीसी परियोजना लागू गराउन खोजेकाले तत्काल राष्ट्रभक्तहरु एक जुट भई एमसीसीलाई खारेजीको लागि एक जुट भएर अघि बढनु पर्ने आवश्यकता छ ।’


Author

थप समाचार
x