राजनीति

पूर्वमुख्यमन्त्री पोखरेलविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी

विक्रम खड्का |
भदौ २९, २०७८ मंगलबार २१:१० बजे

बुटवल - पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्रीले अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छिन् । साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धकसम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै खत्रीले किटानी जाहेरी दिएकी हुन् । 

उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्‍वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेकी छिन् । 


रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले खत्रीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टि गरे । उनले जाहेरी दाङमा दर्ता गराउन सुझाव दिएको बताए । 

'हामीकहाँ आउनुभएको थियो, हामीले यसलाई दाङमै दर्ता गरेर अघि बढाउँदा उपयुक्त हुन्छ भन्‍ने सुझाव दिएका हौं' उनले भने ।

खत्री र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएका थिए । डिएसपी कुँवरले उनले घटनाको शुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने वातावरण मिलाउने प्रतिवद्धतासहितको पत्र दिएका खत्री र घर्तीलाई दिएका छन् । 

'हामीले प्रदेश प्रहरी कार्यालय दाङसँग परामर्श गरी इलाका प्रहरी कार्यालय बुटवलमा दर्ता गर्न गएका थियौं,' माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले भने, 'उहाँले घटनाको शुरुवात भएकै स्थानमा दर्ता गरिदिन्छौं भन्ने प्रतिवद्धतासहितको पत्र हामीलाई दिनुभएको छ।'

दाङ प्रहरीले भने जाहेरी आफू कहाँ आइनपुगेको बताएको छ। दाङ प्रहरी प्रवक्ता सुरेश काफ्लेले दाङमा उजुरी आइनपुगेको बताए। राजनितिक दबाबका कारण प्रहरीले दर्तामा आनाकानी गरको पिडित पक्षको आरोप छ ।

खत्रीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ले व्यवस्था गरेको छ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x