राजनीति

बजेट आभावमा खानेपानी क्षेत्रमा काम गर्न समस्या : मन्त्री शर्मा

सुभाष कर्ण |
भदौ ३१, २०७८ बिहीबार १८:४४ बजे

जनकपुरधाम - प्रदेश २ का खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माले बजेट आभावका कारण खानेपानी क्षेत्रमा काम गर्न समस्या भएको बताएका छन् ।बिहीबार आयोजित मन्त्रालयअन्तर्गत निकायहरूको प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले खानेपानीमा बजेट न्यून रहने गरेकाले यो क्षेत्रमा काम गर्न समस्याका साथै ठूलै चुनौती रहेको स्पष्ट पारे ।

उनले आवश्यक बजेट र दक्ष कर्मचारीको आभाव रहे पनि उपलब्ध बजेटमै तोकिएको समयावधिभित्र काम सम्पन्न गरी बजेट फ्रिज हुनबाट जोगाउन कर्मचारीहरूलाई निर्देशन दिए ।


‘बजेट र दक्ष कर्मचारीको आभाव छ भन्ने कुरा हामी सबैलाई थाहा भएकै  छ । तर थोरै बजेट भए पनि जनताको पैसा फ्रिज हुनु भएन । तपाईंहरू बजेटलाई ठिक ठाउँमा खर्च गर्न प्रयास गर्नूहोस् थप बजेट ल्याउने जिम्मेवारी मेरो हो,’ मन्त्री शर्माले बजेट अभावको बहानामा कार्य नरोक्न कर्मचारीहरूलाई निर्देशन दिँदै भने, ‘बजेट व्यवस्थापनका लागि मैले विभिन्न क्षेत्रबाट कुराकानी अगाडि बढाई सकेको छु विभिन्न निकायबाट थप बजेट निश्चित नै आउने छ ।’

बैठकमा सो मन्त्रालय मातहतका चार वटा डिभिजन कार्यालयका प्रमुखहरूले आ-आफ्नो कार्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यालय प्रमुखहरूले खानेपानी क्षेत्रमा काम गर्न वार्षिक ६ अर्ब रूपैयाँ आवश्यकता रहेकोमा सम्बन्धित निकायबाट ८ करोड रूपैयाँ मात्र विनियोजन भएको उल्लेख गरे ।

प्रदेशका ८ जिल्लामा ४ सय ३६ आयोजना रहेको जसलाई सम्पन्न गर्न २५ अर्ब रूपैयाँ आवश्यकता तर हालसम्म करिब ७० करोड रूपैयाँ मात्र विनियोजन भएको जानकारी गराए । यति बजेटले सञ्चालित आयोजना अपुरै रहने उनीहरूको भनाइ छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x