राजनीति

एमाले सुदूरपश्चिम इञ्चार्ज टुंगिएको छैन : भीम रावल

इकागज |
भदौ ३१, २०७८ बिहीबार २०:० बजे

अछाम – नेकपा एमाले स्थायी कमिटी सदस्य भीम रावलले एमाले सुदूरपश्चिम प्रदेश इञ्चार्ज पार्टीले नतोकेको स्पष्ट पारेका छन् । बिहीबार एमाले आछामले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष केपी शर्मा ओली निवासमा आइतबार एमाले एकताको विषयमा छलफल भए पनि सुदूरपश्चिम प्रदेशको इञ्चार्जबारे टुंगो नलागेको रावलको भनाइ छ । ‘पार्टी उपाध्यक्षको हैसियतले सुदूरपश्चिममा तपाईंले संयोजन गर्नुहोस् । उहाँहरू (कर्ण थापा र लेखराज भट्ट) लाई परिचालन गर्दै पालिकाबाट समस्या समाधान गर्दै आउनुहोस्, विवाद देखिए पार्टीमा छलफल गरौंला,’ बालकोट छलफलमा ओलीको भनाइ उधृत गर्दै रावलले कार्यकर्ताबीच भने । 


एक वर्षपछि गृह जिल्ला पुगेका रावलले १० बुँदे कार्यान्वयन गर्न आफूसहित थापा र भट्टलाई अध्यक्ष ओलीले जिम्मेवारी दिए पनि इञ्चार्जको विषयमा ठोस कुरा नभएको बताए । प्रदेश इन्चार्जको जिम्मेवारी दिने अधिकार एक व्यक्तिमा नभएको पनि रावलको भनाइ छ । पार्टी कमिटीको निर्णयबाट इञ्चार्ज तोकिने र त्यसका लागि अध्यक्ष र महासचिवले बैठकमा प्रस्ताव लानसक्ने रावलले बताए ।

‘सुदूरपश्चिमको हकमा स्थायी कमिटि सदस्य लेखराज भट्ट र पोलिटब्यूरो सदस्य कर्ण थापालाई पनि सहभागि गरौं । हामी त्यहाँ सहमति गरेर अघि बढौं भनेर मेरै प्रस्तावमा बालकोटमा आइतबार छलफल भएको थियो,’ रावलले भने ।

१० बुँदे कार्यान्वयन भए आफू नै प्रदेश इञ्चार्ज हुने रावलको भनाइ छ । नेकपा माओवादी केन्द्रबाट एमालेमै रहेकाले भट्टले पनि इञ्चार्जको दाबी गरेका छन् । भट्टले यसअघि पनि अध्यक्ष ओलीले भीम रावललाई संयोजन गर्न र आफूलाई इञ्चार्जको रूपमा काम गर्न निर्देशन दिएको बताएका थिए ।

रावलले एमाले छोडेर माधव नेपालको पार्टीमा गएका नेता, कार्यकर्ता र जनप्रतिनिधिको भविष्य संकटमा परेको तर्क गरेका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले गठबन्धनमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरे । आगामी निर्वाचनमा सुदूरपश्चिममा मात्र होइन देशभरि नै एमाले पहिलो दल बन्ने रावलको दाबी छ ।


Author

थप समाचार
x