राजनीति

प्रदेश १ मा कांग्रेसको सरकार बन्छ : शेखर कोइराला

इकागज |
असोज २, २०७८ शनिबार १७:३५ बजे

फाइल फोटो

विराटनगर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रदेश १ र बाग्मती मध्ये एउटा प्रदेशमा कांग्रेसकै सरकार बन्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले आफ्नो पहल प्रदेश १ मै कांग्रेस नेतृत्वको सरकार बनाउन केन्द्रित रहेको समेत स्पष्ट पारे । 

कांग्रेससँगको गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रदेश १ र बाग्मतीमा नेकपा (एस)कै नेतृत्वको सरकार बन्ने बताएको प्रति कोइरालाले त्यो जिम्मेवारपूर्ण कुरा नभएको टिप्पणी गरे ।


‘दुईटा प्रदेश मध्ये एउटा नेपाली कांग्रेसले लिन्छ, कुन हुन्छ थाहा छैन, म चाहन्छु १ नम्बरमा होस्’ कोइरालाले भने, ‘मैले पनि त भन्न सक्छु दुईटा प्रदेश लिन्छु भनेर, तर जिम्मेवार भएकोले मैले भनेको हो दुईवटा मध्ये एउटा लिन्छु भनेर, माधव नेपाल गैर जिम्मेवार कुरा गर्दैहुनुहुन्छ ।’ 

केन्द्रीय डा.कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार चल्नै नसकेको भन्दै टिप्पणी गरे । उनले पार्टी नै अलोकतान्त्रिक ढंगले अघि बढाइरहेको आरोप लगाए ।

सरकार कसरी चलिरहेको छ भन्ने प्रश्नमा कोइरालाले भने, ‘सरकार ? सरकार चलेको छ र ? कति दिने भयो ? ६४ दिन त भयो क्यारे ? यहि बिचमा सरकारले दलसम्बन्धि अध्यादेश ल्यायो, उनीहरुले पनि जे पनि अध्यादेशबाट गर्नुभयो नि त, संसदलाई छलेर ल्याउने काम त लोकतान्त्रिक होइन ।’

उनले अभिव्यक्ति स्वतन्त्रताविपरित सरकारले कडाभन्दा कडा कारवाही गर्ने भनेर भनेको स्मरण गर्दै त्यसलाई उनले अलोकतान्त्रिकको संज्ञा दिए । 

‘सरकार त हाम्रै नेतृत्वको छ, म भन्दिन हाम्रो नेतृत्वको छैन भनेर, तर हाम्रो नेतृत्व भएपनि गलत कुराहरुको बिषयमा हामीले बोल्नै पर्ने हुन्छ’ कोइरालाले भने, ‘यसैको विरुद्धमा हामीहरु लागेको हो, कांग्रेसलाई हामीले लोकतान्त्रिक त भन्यौं, तर अलोकतान्त्रिक प्रवृत्तिबाट जाँदैछ, विधि विधान सवै मिचेर जाँदैछ ।’ 

महाधिवेशनको तयारी भइरहँदा पार्टीका विभिन्न विभागहरुमा मनोनित गर्ने र नामहरु सार्वजनिक गर्ने क्रम भइरहेको भन्दै आफु त्यस्तो प्रवृत्तिको विरुद्धमा लडिरहेको बताए ।
 
‘सभापति जीको जिल्ला डडेल्धुरा, देशको प्रधानमन्त्रीको जिल्ला डडेल्धुरामा जसरी अधिवेशन सम्पन्न भयो, पुलिस प्रशासनको घरमा अधिवेशन सम्पन्न गराउन थाल्नु भयो भने के अवस्था हुन्छ ? उनले भने, ‘७५ बर्षको कांग्रेसको इतिहाँसमा कहिले पनि पुलिस प्रशासन लगाएर अधिवेशन भएको छैन, त्यसको विरोध गर्ने कि नगर्ने ?’

आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार घोषणा गर्न किन ढिलाई गर्नुभएको भन्ने प्रश्नमा कोइरालाले कोही पनि सभापतिको उम्मेद्दबार बन्नसक्ने जवाफ दिए । उनले पार्टीको विधानले योग्य भएको ‘इलिजीवल’ मानिस उम्मेदवार हुने बताए । सभापतिको उम्मेदवारीबारे आफु अझैपनि सरसल्लाहमै रहेको उनले बताए ।  

‘छिटै थाहा पाउनु हुन्छ, धेरै जिल्लाको त क्रियाशिलको विवाद बाँकी नै छ । एकएक वटा क्षेत्र भएका जिल्लाहरुको धेरै विवाद समाधान भएको छ, प्रदेश २ नम्बर पुरै बाँकी छ, जिल्ला अधिवेशनहरु बाँकी छ’ उनले भने, ‘महाधिवेशनबाट सबै नयाँ टिम आउँछ, कोइराला परिवारबाट मात्रै होइन, हामीमात्रै होइनौं, अरु साथीहरु पनि हुनुहुन्छ, कोइराला परिवारबाट पनि सवैले गर्नु भएको छ, तर यसको मतलब अरु हुँदै हुनुहुन्न भन्ने त होइन ।’

‘एमसीसीलाई मिलाउन सकिन्छ’

कोइरालाले संविधानभन्दा माथि एमसीसी लागु नहुने भन्दै सवैलाई बुझाएर अघि बढ्नुपर्ने सुझाव दिए । ‘त्यो हामीले बुझाउन सक्नुपर्यो, नेताहरुले बुझाउनु पर्यो, देशको प्रधानमन्त्री भइसकेका व्यक्तिहरु नै प्रधानमन्त्री हुँदा एमसीसी पारित गराउनु पर्छ भन्नुहुन्छ’ उनले भने, झलनाथदेखि प्रचण्डदेखि अहिलेसम्मले प्रधानमन्त्रीबाट निस्केपछि गर्नुहुँदैन भन्नुहुन्छ, यस्तो कुराले मुलुकलाई अप्ठेरो पार्छ, एमसीसीलाई मिलाउन सकिन्छ, देशका प्रधानमन्त्रीहरु एकठाउँमा बस्नुहोस्, सहमति गएर अगाडि जाऔं ।’ उनले विगतमा एमालेको विरोधका कारण ‘अरुण–३’ गएको र मुलुकलाई आर्थिक रुपमा पछि पारेको तर्क गरे । 


Author

थप समाचार
x