राजनीति

प्रदेश १ सरकार ढल्नेमा शंका छैन : राजेन्द्र राई

इकागज |
असोज ३, २०७८ आइतवार २१:२३ बजे

विराटनगर – नेकपा एकीकृत समाजवादी पार्टी, प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले नेकपा एमाले नेतृत्वको वर्तमान सरकार कुनै पनि हालतमा ढालेरै छोड्ने दाबी गरेका छन् । आइतबार उदयपुरको गाईघाटमा नेकपा एसले आयोजना गरेको बृहत जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै नेता राईले यस्तो बताएका हुन् । एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्य नेतृत्वको सरकारले बहुमत गुमाइसकेकाले कुनै पनि हालतमा यो सरकार ढालेरै छोडिने राईले ठोकुवा गरे । 

‘एमालेमा ४० जनामात्रै रहेकोले यो सरकार ढल्नेमा कुनै शंका रहेन, आँधी हुरी चले पनि बम र बारुद पड्किए पनि यो सरकार त ढल्छ, ढल्छ’ उनले भने, ‘एमालेबाहेकका दललाई समेटेर हामी सरकार बनाउँछौं ।’ प्रदेश १ मा सरकार बन्न प्रदेश सभाका ४७ जना सांसदको समर्थन आवश्यक पर्ने र त्यो संख्या आफूहरूसँग रहेको राईले बताए । नेपाली कांग्रेसको २१, नेकपा माओवादी केन्द्रको १५, जनता समाजवादी पार्टी, नेपाल (जसपा) को ३, नेकपा एसको १० र लिम्बुवान मुक्ति मोर्चाको १ गरी ५० सांसद्को गठबन्धन गरेर नयाँ सरकार बनाइने राईको भनाइ छ ।


नेता राईले केन्द्रमा यसअघि नै कांग्रेस, नेकपा (एस) र माओवादीले २, २ वटा प्रदेशको मुख्यमन्त्री र जसपाले एउटा प्रदेशको मुख्यमन्त्री लिनेमा सहमति भइसकेको जनाउँदै प्रदेश १ मा आफ्नै नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गरे । ‘केन्द्रमा गठबन्धन दलबीच भएको सहमतिअनुसार हाम्रो पार्टीले दुईवटा प्रदेशमा मुख्यमन्त्री पाउने छ । त्यसमा प्रदेश १ र बागमती प्रदेश हामीले पाउने पक्का छ,’ कार्यकर्ताकाबीच उनले भने ।

उनले एमालेमै रहँदा तत्कालीन मुख्यमन्त्री शेरधन राईले पार्टीले सरकारलाई कुनै सल्लाह दिनै हँुदैन भन्ने मान्यता लिएर सरकार चलाएको आरोप लगाए । उनले जहाँसुकै पनि सरकार र पार्टीको अन्तरसम्बन्धका विषयमा छलफल हुने भए पनि संघमा केपी ओली र प्रदेश १ मा शेरधन राईले त्यसो नगरेको जिकिर गरे । ‘कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर हल्लाउने ? उदाहरण नराम्रो भए पनि पार्टी भनेको कुकुर हो, पुच्छर भनेको सरकार हो, पार्टीले नै सरकार चलाउनु पर्छ’ उनले भने, ‘त्यसको हामी खिलाफमा छौं, अब मेरो नेतृत्वमा सरकार बन्यो भने अथवा हामी सरकारमा सहभाागी भयौं भने पार्टीको निर्देशन सल्लाह सुझावअनुसार सरकार चलाउने छौं ।’


Author

थप समाचार
x