राजनीति

‘कर्मचारीको सक्रियताविना सुशासन असम्भव’

इकागज |
असोज ४, २०७८ सोमबार १८:४९ बजे

जनकपुरधाम – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले निजामती कर्मचारीको सक्रियताविना प्रदेशमा सुशासन कायम नहुने बताएका छन् । प्रादेशिक सुशासन केन्द्रले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत सोमबार बर्दिवासमा आयोजना गरेको स्थानीय तहको संस्थागत स्वमूल्यांकनसम्बन्धी समीक्षा एवम् अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।

उनले कुनै पनि अनियमितता जनप्रतिनिधिबाट प्रत्यक्ष रूपमा नभई कर्मचारीको सहयोगमै हुने गरेको दाबी गर्दै जनप्रतिनिधिलाई नियम कानून बुझाउने जिम्मासमेत रहेको उल्लेख गरे । उनले स्थायी सत्ताका रूपमा रहेका कर्मचारीहरू इमान्दार भए अनियमितता नहुने स्पष्ट पार्दै स्थायी सत्तामा रहेका कर्मचारीहरूलाई इमान्दार हुन आग्रहसमेत गरे ।


सुशासन कायम गर्ने पहिलो चरण नै स्वमूल्यांकन रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले स्वमूल्यांकनलाई प्राथमिकतामा राख्न स्थानीय तहका प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिए । उनले प्रदेशका अधिकांश स्थानीय तहले स्वमुल्यांकन नतिजा प्रकाशन गर्न नसकेकोप्रति दुःख व्यक्त गरे । 

‘हामी आफनो मुल्यांकनसमेत हामीले गर्न नसक्दा सुशासन कायम गर्न असम्भव छ,’ उनले भने । कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव यमप्रसाद भुषाल, प्रमुख सचिव हरिप्रसाद मैनाली, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारी, मुख्यमन्त्री कार्यालयका सचिव विष्णु ढकाललगायतको सहभागिता थियो ।


Author

थप समाचार
x