राजनीति

लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक अपरिहार्य छ : राष्ट्रपति

इकागज |
असोज ६, २०७८ बुधबार १९:१६ बजे

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी मान्यताप्राप्त निकाय प्रेस काउन्सिलले सञ्चार क्षेत्रलाई अब्बलरूपमा उभ्याउन कोसिस गर्नुपर्ने बताएकी छन् । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उनले त्यसका लागि काउन्सिललाई स्वतन्त्र, स्वायत्त र प्रभावकारी बनाउन सबै निकायबाट सहयोग हुनुपर्ने आवश्यकता औँल्याइन् ।  

राष्ट्रपति भण्डारीले भनिन्, “जिम्मेवार पत्रकारिता, सुसूचित आमजनता र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । लोकतन्त्रको अभ्यासमा आमसञ्चारको क्षेत्रमा देखिएका कमीकमजोरी हट्दै जानेछन् । पत्रकारजगत्बाट आचारसंहिता पालना हुनेछ ।”


दुई वर्ष सञ्चारमाध्यम र पत्रकार जगत्ले कोभिड-१९ को महामारीबाट पीडित हुने परेकामा दुःख लागेको बताउँदै उनले सङ्क्रमणको जोखिमपूर्ण परिस्थितिमा पनि समाचार सम्प्रेषणका माध्यमद्वारा पेशाप्रतिको दायित्व बहन भएको भनी सराहना गरिन् ।

लोकतन्त्र र आमसञ्‍चार क्षेत्र एकअर्काको परिपूरक भएकाले लोकतन्त्र र मानवअधिकार प्रवर्द्धनका लागि आमसञ्चार क्षेत्रले अभिन्न अङ्गका रूपमा काम गरिरहेको बताउँदै राष्ट्रपति भण्डारीले भनिन्, “लोकतन्त्रको सफलताका लागि अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक अपरिहार्य छ ।”
 
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वमा विकसित भएका नयाँ प्रविधिको प्रयोगलाई आत्मसात् गरी परिमार्जित र व्यवसायी बन्दै अघि बढेकै कारण नेपालको सञ्चार क्षेत्र उदाहरणीय बन्न सफल भएको बताए ।

उनले भने, “सञ्चार क्षेत्रको विकास, सदृढीकरण र सुव्यवस्थित गर्न सरकार जिम्मेवारी लिन तयार छ, समाजलाई सुसंस्कृत र अनुशासित बनाउन सञ्चार क्षेत्र जिम्मेवार भई काम गर्नुपर्छ । यस मामिलामा नेपाली सञ्चारक्षेत्र निष्ठावान रहिआएको छ ।” 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले पत्रकारिता क्षेत्रको नियमन निकायका रूपमा रहेको प्रेस काउन्सिलले सजग, सतर्क र चनाखो भएर सत्यतथ्यसहितको सान्दर्भिक सूचना सम्प्रेषण गर्ने गराउने विषयमा क्रियाशील हुन आवश्यक रहेको बताए ।

उनले भने, “पत्रकारितालाई गतिशील, मर्यादित, निष्पक्ष र विश्वसनीय तुल्याउने सवालमा मन्त्रालयले सधैँ सहयोग पुर्‍याउने छ ।” काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलबाट पत्रकारिता क्षेत्रलाई स्वच्छ, निष्पक्ष र मर्यादित तुल्याउन भइरहेका विभिन्न प्रसासबारे जानकारी गराए । 
 
कोभिड–१९ का कारण आमसञ्चार क्षेत्र निकै प्रभावित भएका, कैयौँ सञ्चारगृह बन्द भएका र पत्रकारले रोजगारी गुमाउन परेका घटनाबारे जानकारी दिए । पुरस्कृत व्यक्तित्व भारतदत्त कोइरालाले पत्रकारिता क्षेत्रमा बौद्धिक, आँटिलो र जोसिलो व्यक्तित्वको परिचय स्थापित गरेर बिदा हुनुभएका स्व गोपालदास श्रेष्ठका नाममा स्थापित पुरस्कार प्राप्त भएकामा त्यसबेलाका व्यक्ति र पत्रकारिताको स्मरण भएको बताए ।  

समारोहमा राष्ट्रपति भण्डारीले काउन्सिलको पहिलो प्रकाशन वार्षिक अङ्ग्रेजी संस्करण ‘पीसीएन इयर बुक २०२०/२१’ संहिता र काउन्सिलको ४६औँ वार्षिक प्रतिवेदनको लोकार्पण गरिन् । (रासस)
 


Author

थप समाचार
x