राजनीति

प्रतिवेदन मस्यौदामाथि छलफलका लागि एमालेले बनायो १० वटा समूह

इकागज |
असोज ८, २०७८ शुक्रबार २१:५२ बजे

काठमाडौँ – नेकपा एमालेले पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न १० वटा समूह बनाएको छ । शुक्रबार ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन वटा प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएको हो । 

सोमबार बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत भएका राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संसोधनसम्बन्धी प्रतिवेदन शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा पेश गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । प्रतिवेदनमाथि छलफल गर्नको निम्ति १० वटा विभिन्न समूहमध्ये ७ वटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसंगठनलाई हेर्न पार्टीका इन्चार्जहरूको एक समूह, विभागीय प्रमुखहरूको समूह र प्रदेशमा सम्पर्क कमिटीहरू, उपत्यका विशेष कमिटीहरू,लगायतका समूहहरूलाई हेर्न अर्को समूह निर्माण गरेको उनले जानकारी दिए । प्रतिवेदनमाथि विभिन्न समूहहरूले शनिबार १ बजेसम्म अध्ययन गर्ने र १ बजे बस्ने केन्द्रीय कमिटीको बैठकमा आफ्ना सुझाव राख्ने बताए । 


‘नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानअनुसार पार्टीले विगतदेखि अवलम्बन गर्दै आएको केही अधिवेशनका प्रक्रियाहरूलाई केही मात्रामा बदलेका छौै । विगतमा नीति, विधान, नेतृत्व सबै महाधिवेशन एउटै हुन्थ्यो, त्यही महाधिवेशनमा राजनीतिक प्रतिवेदन र विधानहरू प्नि छलफल हुन्थ्यो, त्यही महाधिवेशनले पार्टीको नेतृत्व पनि चयन गथ्र्यो, त्यसबाट हामीलाई महाधिवेशनमा विधान, संगठनात्मक प्रस्ताव, राजनीतिक प्रतिवेदनमाथि कम ध्यान दिने, छलफल कम हुने, मुलतः प्रतिनिधिहरूको ध्यान र सिंगो पार्टीको ध्यान नेतृत्व चयनप्रति ज्यादा केन्द्रित भयो,’ स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले भने, ‘त्यसले गर्दा पार्टीमा कतिपय विचार निर्माणका सवालहरू गम्भीरताका साथ अगाडि बढेनन् भन्ने हाम्रो अनुभवलाई नवौं राष्ट्रिय महाधिवेशनले एउटा विधान महाधिवेशन र अर्को नेतृत्व निर्वाचनसम्बन्धी महाधिवेशन गर्नुपर्ने माग गरेकाले त्यसको पहिलो अभ्यास गरिएको हो ।’ एमालेको विधान महाधिवेशन ललितपुर गोदावरीस्थित सम्मेलन हलमा १५–१७ असोजमा हुँदैछ ।  


Author

थप समाचार
x