राजनीति

एमालेमा १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि

इकागज |
असोज ८, २०७८ शुक्रबार २२:६ बजे

काठमाडौँ – नेकपा एमाले सुदूरपश्चिमका नेताहरूले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा ती नेताहरूले पार्टी अध्यक्ष केपी ओलीसमक्ष असन्तुष्टि पोखेका हुन् । 

बैठकको प्रारम्भमै केन्द्रीय सदस्य झपट रावलले सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन हुन नसकेको भन्दै आपत्ति जनाएका थिए । उपाध्यक्ष भीम रावल र अर्का नेता भानुभक्त जोशीले पनि १० बुँदे सहमति कार्यन्वयन जस्ताको तस्तै कार्यान्वयन हुन नसकेको भन्दै यसमा अध्यक्ष ओलीको स्पष्टीकरण माग गरेका थिए । 


तीन नेताले १० बुँदेबारे प्रश्न राखेपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकलगत्तै स्थायी कमिटी बसेर सुदूरपश्चिममा उत्पन्न समस्या समाधान गर्ने आश्वासन दिएको भीम रावलनिकट एक केन्द्रीय सदस्यले बताए । शुक्रबारको बैठक विधान मस्यौदा र विधान महाधिवेशनमा केन्द्रित रहेकाले यसमै छलफल गर्न भन्दै ओलीले लगत्तै स्थायी कमिटी बसेर रावलको मागको सम्वोधन गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।

१० बुँदे सहमति लागू गरेर सुदूरपश्चिममा आफूलाई २ जेठ ०७५ अघिकै पद दिन रावलले ओलीसँग माग गरेका छन् । नेकपा विभाजनपछि हाल लेखराज भट्ट सुदूरपश्चिमको इञ्चार्ज छन् । हालका इञ्चार्ज भट्ट र केन्द्रीय कमिटी सदस्य कर्ण थापालगायतले एमालेमा १० बुँदेलाई जस्ताको तस्तै नभई रचनात्मक ढंगले लागू हुने तर्क गरेको ती सदस्यले बताए ।

एमाले विवाद चर्किएको बेला माधव नेपालसँग रहेका भीम रावल, जोशी र झपट रावल १२ भदौमा एमाले संस्थापनमा फर्किएका हुन् । एमालेको विवादका बेला भीम रावलले नेपाललाई साथ दिएपछि ओली रावलसँग बिच्किएका छन् भने माओवादी केन्द्रबाट एमालेमा रहेका भट्टलाई नै प्रदेश इञ्चार्ज दिएर ओलीले उनलाई एमालेमा सुरक्षित गरेका छन् ।


Author

थप समाचार
x