राजनीति

माओवादी केन्द्रले तीस लाख सदस्य बनाउँदै

इकागज |
असोज ९, २०७८ शनिवार १९:१६ बजे

फाइल तस्बिर

काठमाडौँ – २३ फागुन ०७७ मा नेकपाबाट ब्यूँतिएको नेकपा माओवादी केन्द्रले संगठन निर्माणलाई तीव्रता दिएको छ । शनिबार संगठन विभाग प्रमुख जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकले एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्य हुनुपर्ने नीतिसहित ३० लाख सदस्य पुर्याउने रणनीति सार्वजनिक गरेको हो । 

चार महिने संगठन निर्माण तथा विस्तारको अभियान चलाइरहेको पार्टीले  ‘टोलबाट देश निर्माण गरौं, सेलबाट पार्टी निर्माण गरौं’ भन्ने नारासमेत तय गरेको छ ।माओवादीले संगठित सदस्यको संख्या ३० लाख पुर्याउने लक्ष्य राखेको शर्माले बताए । ‘एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्यको नीति कार्यान्वयन गरे तीस लाख संगठित सदस्य सहिलै बनाउन सकिन्छ,’ शर्माले दाबी गरे ।


३०–३१ साउनमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले ११–१३ पुसमा राष्ट्रिय सम्मेलनको मिति तय गर्दै चार महिने संगठन निर्माण अभियान घोषणा गरेको थियो । यस्तै १० असोजमा देशका सबै सेल कमिटी र टोल भेला सम्पन्न गरेर २० असोजमा वडा, गाउँपालिका र नगरपालिकाको सम्मेलनसमेत गर्ने योजना बनाएको केन्द्रीय कमिटी सदस्य धर्मशिला चापागाईंले बताइन् ।

३० कात्तिकमा जिल्ला सम्मेलन र १५ मंसिरमा प्रदेश सम्मेलन गर्ने माओवादीको कार्ययोजना छ । हाल सत्तागठबन्धनमा रहेको माओवादीले पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)मा पनि नयाँ नेतृत्व चयन गर्दै संगठनलाई क्रियाशील बनाएको छ ।


Author

थप समाचार
x