राजनीति

४० किलोको माला लगाएपछि कर्णालीका मुख्यमन्त्री र मन्त्रीको तस्बिर भाइरल

इकागज |
असोज ९, २०७८ शनिवार २०:५४ बजे

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो प्रदेशलाई सुनको टुक्राको संज्ञा दिएका छन् । शनिबार जगदुल्ला गाउँपालिकाको प्रशासकीय भवन  उद्घाटन कार्यक्रममा उपस्थितलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री शाहीसहति तीन नेतालाई गाउँपालिकाले ४० किलोको माला लगाएर सम्मान गरेको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सुनको टुक्रो भएकाले सदुपयोग गर्न जान्नुपर्ने धारणा राखेका छन् । कर्णालीमा रहेका प्रचुर सम्भावनालाई सरकारले पहिचाहन गरेर आवश्यकताअनुसरा विकार र स्रोत परिचालन गरिरहेको पनि उनले बताए । ‘हाम्रो सरकार कर्णालीको भाग्यरेखा कोर्न दत्तचित्त भएर लागिपरेको छ,’ उनले भने ।


यस्तै अर्थमन्त्री गोपाल शर्माले जगदुल्ला हाइड्रोपावरले नै यहाँका जनताको भविष्य सुनिश्चित गर्ने बताए । पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली आनन्द प्राप्ति गर्ने भकारी भएको उल्लेख गरे । स्थानीय सरकार गठन भएको दोस्रो वर्षदेखि निर्माण सुरु गरिएको उक्त भवन केही समयअघि सम्पन्न भएको हो ।

उक्त भवन जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा पहिला निर्माण गरिएको सुविधासम्पन्न प्रशासकीय भवन भएको रहको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले दाबी गरे । भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाही, अर्थमन्त्री शर्मा, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, पूर्वमन्त्री भण्डारी, प्रदेशसभा सदस्य वद्मीक्वारी बोहोरालगायत हेलिकोप्टर चढेर जगदुल्ला पुगेका थिए ।

स्थानीय सरकार र संघीय सरकारको साझेदारीमा साढे चार करोड रूपैयाँ लागतमा ३२ कोठे भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष  रोकायले जानकारी दिए ।कार्यक्रममा मुख्यमन्त्री शाही, मन्त्री बुढा र अध्यक्ष रोकायलाई ४० किलोको मालाले सम्मान गरिएको उनले बताए । कार्यक्रममा प्रदेशसभा सदस्य वीरबहादुर शाही, पूर्वमन्त्री नरबहादुर बुढा, प्रजिअ माधवप्रसाद ढकाललगायतको उपस्थिति थियो । यससँगै मुख्यमन्त्री शाहीले वडा नम्बर ६ मा कक्षा ५ सम्म पढ्न मिल्ने गरी निर्माण गरिएको दलित आवासीय विद्यालयकोसमेत उद्घाटन गरेका छन् ।

यो कार्यक्रममा पुगेर ४० किलोको माला लगाएका मुख्यमन्त्री शाही, अर्थमन्त्री गोपाल शर्मा, पर्यटनमन्त्री नन्दबहादुर बुढाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । एउटा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न हेलिकोप्टर चढ्ने र ४० किलोको माला लगाएपछि उनीहरुको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो ।


Author

थप समाचार
x