राजनीति

'एमाले छोड्नुपर्दा पीडा भए पनि विद्रोहमा जानुपर्‍याे'

इकागज |
असोज ९, २०७८ शनिवार २१:१८ बजे

पोखरा – नेकपा एकीकृत समाजवादीका नेताहरूले एमाले पार्टीविरुद्धको विद्रोह बाध्यतात्मक परिस्थितिको उपज भएको बताएका छन् । पार्टीको जिल्ला भेला तथा कमिटी घोषणा कार्यक्रममा उनीहरूले कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन र एकीकृत गर्न चुनौतीपूर्ण बाटो रोजेको जनाए ।

पार्टी केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इञ्चार्ज केशवलाल श्रेष्ठले नेकपा एमाले दक्षिणपन्थी विसर्जन र आत्मसर्मपणवादतिर गएकाले विद्रोहमार्फत नयाँ पार्टी गठन गर्नुपरेको बताए । ‘पार्टीभित्र सैद्धान्तिक, विचारधारात्मक र राजनीतिक समस्या देखियो,’ उनले भने, ‘नवौं महाधिवेशनका कार्यभारलाई नेतृत्वले पूरा नगरेपछि हामीले एमालेमा बसिरहनु उचित देखेनौं ।’


एमाले निर्माणमा जीवनकाल बिताएका, रगत, पसिना बगाएका नेता/कार्यकर्ताका लागि पार्टी छोड्नुपर्दा पीडा भए पनि विकल्पविहीन स्थितिमा विद्रोहमा जानुपरेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । उनले कम्युनिष्ट आन्दोलनको पुनःनिर्माण र एकीकरणको जगमा समाजवादको लक्ष्यमा पुग्न नसकेमा नयाँ पार्टी निर्माणको औचित्य पुष्टि नहुने उल्लेख गरे । 

पार्टीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले एमालेसहित अन्य कम्युनिष्ट पार्टीसँग प्रतिस्पर्धा गर्दै नेकपा एसलाई नयाँ उचाइमा पुर्याउनुपर्ने दायित्व आफूहरूमा आएको बताए । नयाँ पार्टी बनाउनु रहर नभई बाध्यता भएको उनको भनाइ छ । सदस्य श्रेष्ठले एमालेले कम्युनिष्ट सिद्धान्त र आदर्शलाई लत्याउँदै गएको आरोप लगाए ।

नेकपा एसका नेता रामजीप्रसाद शर्माले कमजोर हातले क्रान्तिको झण्डा उठाउन नसक्ने भन्दै आफूहरू समाजवादी क्रान्तिमा होमिएको बताए । नेता श्रीप्रसाद शर्माले वाम विचार राख्ने पार्टीहरु विकृत हुँदै गएकाले सिद्धान्तनिष्ठ कम्युनिष्ट पार्टी निर्माण र समाजवादी लक्ष्यका लागि नेकपा एसमा लामबद्ध हुन नेता, कार्यकर्तालाई आह्वान गरे ।


Author

थप समाचार
x