राजनीति

एमालेमा १० बुँदे कार्यान्वयन गर्न भीम रावलको नेतृत्वमा कार्यदल गठन

इकागज |
असोज ११, २०७८ सोमवार २१:१० बजे

काठमाडौँ – नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन गर्न उपाध्यक्ष डा. भीम रावलको नेतृत्वमा कार्यदल गठन गरेको छ । सोमबार ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले कार्यदल गठन गरेको हो । 

अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार बैठकले १० बुँदे सहमति कार्यान्वयनमा केही ठाउँमा समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधान गर्ने जिम्मेवारी पनि सो कार्य दललाई दिएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।


रावल संयोजक रहेको सो कार्यदलमा पार्टी महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्यहरू विष्णु पौडेल, घनश्याम भुसाल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य छन् । 

‘जहाँसम्म दश बुँदे कार्यान्वयनको कुरा छ । धरै मिडियाहरूमा पनि आई नै रहेको छ । यसमा पनि हामीले व्यापक छलफल गर्‍यौं । विभिन्न ठाउँका समस्याहरूको बारेमा पनि छलफल गरेपछि पार्टी अध्यक्षले यसलाई सकारात्मक ढंगले नै कार्यान्वयन गर्ने कुरा गर्नु भएको छ । त्यसमा प्रतिबद्धता दिनु भएको छ । र हाम्रा सबै साथीहरूलाई एकताबद्ध ढंगले समेटने कुरा नै पार्टी अध्यक्षले गर्नु भएको छ,’ भट्टराईले भने ।

बैठकले पार्टीको जनवर्गीय संगठनहरूमा देखिएको समस्या समाधानका लागि पनि कार्यदल गठन गरेको छ । जसको संयोजकमा ईश्वर पोखरेल र सदस्यहरूमा स्थायी कमिटी सदस्यहरू विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझी छन् ।

‘कार्यदलले विधान महाधिवेशन अघि नै यो समस्यालाई समाधान गरेर प्रतिनिधिहरू ल्याउने व्यवस्था गर्न अध्यक्षले बैठकमा निर्देशन गर्नु भएको छ,’ भट्टराईले भने ।एमालेले पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमा पार्टी सदस्यभित्र मिल्नै नसक्ने गरी फरक मत नदेखिएको पनि जनाएको छ ।

एमालेमा अहिले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीमा रावल र भट्टबीच टकराव छ । एमालेको विवादका बेला रावल माधव नेपालसँग लागेपछि ओलीले भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् । एमालेमा १० बुँदे कार्यान्वयन भए रावल त्यहाँको इन्चार्ज हुनेछन् ।


Author

थप समाचार
x