राजनीति

कांग्रेस कालिकोटको वडादेखि जिल्लासम्म सर्वसम्मत

इकागज |
असोज १८, २०७८ सोमबार १८:२१ बजे

सर्वसम्मत नेतृत्व चयनपछि खुसी साट्दै कांग्रेस कालिकोटका नेता तथा कार्यकर्ता । तस्बिर लक्ष्मी भण्डारी / इकागज

सुर्खेत – कालीकोटमा कांग्रेसले वडादेखि जिल्ला नेतृत्वसम्म सर्वसम्मत चयन गरेको छ । जिल्लाका  ८२ वडामध्ये ८१ वडा, नौं स्थानीय तह, दुई प्रदेश निर्वाचन क्षेत्र हुँदै जिल्ला नेतृत्वसमेत सर्वसम्मत रूपमा चयन भएको हो । सान्नी त्रिवेणी गाउँपालिकाको तीन नम्वर वडामा मात्र निर्वाचन गर्नुपरेको थियो ।

कालिकोटमा नेपाली कांग्रेसको जिल्ला सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अम्मर शाही चयन भएका छन् । संस्थापन पक्ष र इतरपक्षबीचको छलफलपछि शाहीलाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरिएको हो । आइतबार सम्पन्न पाँचौं जिल्ला सभाले सर्वसम्मत रूपमा शाहीलाई सभापतिमा चयन गरेको छ । उनी कांग्रेसका पुराना नेता हुन् । कालिकोटमा सभापतिका लागि देउवा खेमाबाट दमनबहादुर शाहीको दाबेदारी थियो । यस्तै हिक्मत विष्ट, मोतीराज बम, दानबहादुर बमको नाम पनि चर्चामा थियो ।


यसैगरी पार्टी उपसभापतिमा मीनबहादुर बोगटी र नन्दबहादुर शाही, सचिवमा नगेन्द्र विष्ट र मातृका सिंह चयन भएका छन् । उपसभापति बोगटी र सचिव सिंह कांग्रेस संस्थापन समूहका हुन् भने सभापति शाही, अर्का उपसभापति शाही र सचिव विष्ट पौडेल समूहका हुन् । अन्य कार्यसमिति र प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन् ।

कालिकोट नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीको गृह जिल्ला  भएकाले उनले सर्वसम्मत रूपमा नेतृत्व चयनमा योगदान गरेका छन् । सभापति पद पाएको पौडेल पक्षले एक सचिव, एक उपसभापति र नौ जना महाधिवेशन प्रतिनिधि पाएको छ भने देउवा पक्षले बहुमत पदाधिकारीसहित १८ जना महाधिवेशन प्रतिनिधि पाएको छ । कार्यसमिति सदस्यहरूमा देउवा पक्षले ६० प्रतिशत र पौडेल पक्षले ४० प्रतिशत पाएको छ । जिल्लामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएकोमा तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले खुसी व्यक्त गरे । 
 


Author

थप समाचार
x