राजनीति

कांग्रेस अधिवेशन: कतै कछुवा गति, अधिकांश हात्तीको चालमा, थोरै स्थानमा खरायो दाैड

इकागज |
असोज २१, २०७८ बिहीबार १८:२८ बजे

काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन अन्तर्गतका अधिवेशन गरिरहेको छ । गत भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको कांग्रेसका जिल्ला, पालिकाका अधिवेशन भइरहेका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार पाँच सय २० पालिकाको अधिवेशन सम्पन्न भएको छ । एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका १० जिल्लाको अधिवेशन सम्पन्न भएको छ भने बाजुरा र बझाङमा आज जिल्ला अधिवेशन भइरहेको छ ।

बाजुरामा अधिवेशन भइरहेको हो भने बझाङमा सभापतिमा दोस्रो चरणको अधिवेशन भइरहेको छ । दोस्रो चरणमा संस्थापनबाट कविराज पण्डित र सस्थापन इतरबाट रामबहादुर रावलबीच प्रतिष्पर्धा भइरहेको छ । 


हिमाली २१ जिल्लाको अधिवेशन दसैं अगाडि सक्ने निर्णय कांग्रेसको निर्वाचन समितिले गरेको थियो । आफूहरूको घोषणा अनुरुपका जिल्लाको अधिवेशन सक्ने तयारीमा लागिरहेको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । ‘दसैं अगाडि एउटा प्रतिनिधि सभा क्षेत्र भएका हिमाली २१ जिल्लाको अधिवेशन गर्ने निर्णय गरेका थियौं । त्यो अनुरुप काम भइरहेको छ,’ सदस्य घिमिरेले भने । 

उनका अनुसार अहिलेसम्म दोलखा, रामेछाप, हुम्ला ताप्लेजुङ, संखुवासभा, गोरखा, मनाङ, मुस्ताङ, कालिकोट र मुगुको अधिवेशन सकिएको छ । बझाङ र बाजुरामा आज सकिएपछि १२ जिल्लाको अधिवेशन सकिन्छ । निर्णय भएका बाँकी नौ जिल्लामा पनि अधिवेशन गर्ने प्रयास भइरहेको उनले बताए ।

दसै‌ं अगाडि सम्भव नभए दसैं र तिहारको बीचमा ती जिल्लामा जसरी भए पनि अधिवेशन सक्ने तयारीमा आफूहरू रहेको उनले बताए । ‘यी जिल्लामा हामीले सकभर दसैं अगाडि नभए दसैं र तिहारको बीचमा जसरी पनि अधिवेशन सक्छौं ।’  

अरु जिल्लामा कसरी अगाडि बढ्ने भन्ने विषयमा शुक्रबार केन्द्रीय निर्वाचन समितिको बैठक बस्दैछ । निर्वाचन समितिले विवादका कारण अधिवेशन हुन नसकेका र क्रियाशील सदस्यता फाइनल नभएका जिल्लाबारे निर्णय लिन पार्टी पदाधिकारी र एक पटक केन्द्रीय समिति बैठक पनि बस्‍नुपर्ने माग गरेको छ । त्यसबारेमा नेताहरूले ठोस जवाफ नदिएको समितिका एक सदस्यले बताए । 

केही जिल्लाको क्रियाशील सदस्यताको लिष्ट नै पार्टीले निर्वाचन समितिलाई दिएको छैन भने केही जिल्लामा सदस्यता दिए पनि विवाद छ । सदस्य घिमिरेका अनुसार कांग्रेसले रौतहट बारा र रसुवाको फाइल निर्वाचन समितिलाई दिएको छैन । 

नतिजा आएकामा कुन पक्ष हावी भन्नेमा आ–आफ्ना दाबी

नतिजा आएका १० जिल्लामा जितेका सभापति संस्थापनका ५ र संस्थापन इतरका ५ छन् । तर संस्थापन इतर पक्षले आफ्नो पक्षका ६ सभापतिले जितेको तथ्यांक राखेको छ । इकागजले निर्वाचन भएका जिल्लाका नेताहरूलाई सोध्दा भने ५/५ जना सभापति दुवै समूहका छन् । मनाङ सभापति शंकर गुरुङ, हुम्ला सभापति मोहनविक्रम सिंह, ताप्लेजुङ सभापति गजेन्द्र तुम्याहाङ, रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) र रुकुमपूर्वका सभापति केशरमान रोका संस्थापन निकट हुन् । त्यस्तै संस्थापन इतरबाट मुस्ताङमा रोमी गौचन थकाली, कालिकोटमा अम्मबहादुर शाही, संखुवासभामा दीपक खड्का, गोरखामा नन्दप्रसाद न्यौपाने र दोलखामा बर्मा लामाले सभापति जितेका छन् ।

जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लाबारे प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले मंगलबार बालुवाटारमा आफू पक्षीय नेताहरूसँग छलफल गरेका थिए । त्यो छलफलमा अहिलेसम्म अधिवेशन भएका स्थानमा आफूहरू बहुमतमा रहेका निष्कर्ष निकालिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

तर, संस्थापन इतर समूह भने त्यो मान्न तयार छैन । उसले आफूहरू केही मात्रामा भए पनि बहुमतमा रहेको बताउँछ । ‘हामी धेरै फराकिलो अन्तरले त होइन, केही मात्रामा अहिलेसम्म बहुमतमा छौं,’ इतर समूहका एक नेताले भने । तर समूह एक रहने हो कि होइन भन्ने विषयले भने समूहलाई पिरोलेको छ ।

यता १३ औं महाधिवेशनमा तेस्रो धार बनाएको नेता कृष्णप्रसाद सिटौलाको समूहले संस्थापनलाई सहयोग गर्ने छाट अहिलेसम्मका अधिवेशनले देखाएको छ । काठमाडौंमा भएका पालिका अधिवेशनमा पनि सिटौला समूह संस्थापनतर्फ ढल्केको देखिएको छ । संस्थापनमा पनि उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले सभापति लड्ने बताएकाले कतातिर पल्ला भारी हो भन्ने यसै भन्न सक्ने अवस्था भने छैन ।

केन्द्रीय महाधिवेशनको मिति फेरि धकेलिने 

अहिलेको अधिवेशनको चाला हेर्दा केन्द्रीय महाधिवेशन फेरि धकेलिने सम्भावना बढको छ । निर्वाचन समितिका एक सदस्य भन्छन्, ‘अहिलेसम्म तीन जिल्लाको क्रियाशील सदस्यताको फाइल आएको छैन ।

सदस्यताको फाइल आएका स्थानमा पनि धेरै नै विवाद देखिएको छ । यो पार्टीले नटुंग्याए त कसरी निर्धारित मितिमा अधिवेशन होला र ।’ स्रोतका अनुसार सभापति देउवा पनि महाधिवेशन मंसिर मसान्तसम्म सार्न चाहन्छन् । अहिले कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्मका लागि महाधिवेशनको मिति तोकेको छ ।  


Author

थप समाचार
x