राजनीति

विश्वासको मत लिन मुख्यमन्त्री शाक्यले प्रदेशसभामा दर्ता गरिन् प्रस्ताव

इकागज |
असोज २२, २०७८ शुक्रबार १९:५१ बजे

फाइल फोटो

हेटौंडा - बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पेश गर्न सुचना दर्ता गराएकी छन् । शुक्रबार मुख्यमन्त्री शाक्यले बागमती प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्न सुचना गरेकी हुन् । 

मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल एमाले विभाजन भएसँगै दल विभाजन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने भएकोले विश्वासको मत लिने मुख्यमन्त्री शाक्यले बताइन् ।   


अब असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठक बस्नेछ ।  त्यसअघि आइतबार बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । बैठकले तय गरेको कार्यसूचि अनुसार प्रक्रिया अघि बढ्ने प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । 

नेकपा एमाले विभजान भएर बागमती प्रदेश सभामा गत भाद्र २५ गते एकीकृत समाजवादी बागमती प्रदेश सभा ससदीय दल गठन भएको थियो । सोही दिन एकीकृत समाजवादीको सांसद राजेन्द्र पाण्डे दलको नेतामा चयन भएका थिए । 

गत भाद्र २ गते बागमती प्रदेशको मुख्यमन्त्रीमा शाक्य नियुक्त भएकी थिइन् ।  बागमती प्रदेशको पहिलो महिला मुख्यमन्त्री बनेकी शाक्यले विश्वासको मत पाउन सक्ने सम्भावना न्युन देखिन्छ । नेकपा एमालेको अहिले प्रदेशमा ४३ सांसद छन् । बहुमत ल्याउन ५६ सांसदको मत आवश्यक पर्छ । 

यस्तै कांग्रेसको २२, माओवादीको २३, नेकपा एकिकृत समाजवादी २२, विवेकशील ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र १ सांसद छन् । साना दलहरुले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिए पनि बहुमत नपुग्ने अंकगणित छ ।
 


Author

थप समाचार
x