राजनीति

हमालको मन्त्रीमा नियुक्ति

हमालको नियुक्तिमा दाहाल ‘दूधको साक्षी बिरालो’

इकागज |
असोज २३, २०७८ शनिबार १७:१३ बजे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारमात्रै उद्योग वाण्ज्यि तथा आपूर्तिमन्त्रीमा बाँकेका गजेन्द्र हमाललाई नियुक्त गरे । गैरसांसद उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सिफारिसमा मन्त्री बनाइएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । 

हमाल नाताले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका जेठान हुन् । धेरैले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन बदरको फैसलाको गुन तिर्न उनको सिफारिसमा जबराका जेठान हमाललाई मन्त्री बनाइएको बताइरहेका छन् ।


नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले मन्त्री बनाए पनि कांग्रेसकै नेताहरूले सार्वजनिक रूपमा विरोध गरिरहेका छन् । तर, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने हमाललाई मन्त्री बनाइएको बारे चर्चा परिचर्चा गर्नुको कुनै तुक नभएको बताउँछन् । 

शनिबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरूसँग दाहालले भने, ‘हमाललाई मन्त्री बनाएको विषयमा होहल्ला गर्नु आवश्यक नै छैन । त्यस्ता कुनै अनावश्यक चर्चाको केही तुक छैन ।’

गैरसांसद पनि निश्चित समयका लागि मन्त्री बन्न पाउने संवैधानिक प्रवधान रहेको र यसअघि पनि यस्तो काम धेरै भएको हुँदा हमालको विषय कुनै नयाँ नभएको दाहालले बताए । ‘उहाँ कांग्रेसको मान्छे हो । कांग्रेसको कोटामा मन्त्री हुनु भएको हो । त्यसैले यताको र उताको किन भनिरहने,’ दाहालले भने । 

तर, कांग्रेसका युवा नेता गगन थापाले भने गैरसांसदलाई मन्त्री बनाइएकोमा असहमति जनाएका छन् । शनिबार सामाजिक सञ्जाल ट्वीटरमा थापाले कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्ने उल्लेख गरेका छन् । 

‘हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो ? लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र पुग्दैन,’ उनले ट्वीटरमा लेखेका छन्, ‘त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउँछ।नत्र कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म  लखेट्छ भन्ने खै हेक्का राखेको ?’


Author

थप समाचार
x