राजनीति

वीरगञ्जमा जसपा अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन

इकागज |
असोज २३, २०७८ शनिबार १७:४७ बजे

जनकपुरधाम - जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवको आफ्नै पार्टीका नेता कार्यकर्ताहरूले पुत्ला दहन गरेका छन् । पार्टीका प्रतिनिधि सभा सदस्य प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै वीरगञ्जमा शनिबार दोश्रो दिन पनि अध्यक्ष यादवको पुत्ला उनकै पार्टी नेता कार्यकर्ताहरुले दहन गरेका हुन् ।

मन्त्रिपरिषदको सूचि सार्वजनिक हुँदै शुक्रबार दिउंसो वीरगञ्जस्थित घण्टा घर अगाडि जसपाका कार्यकर्ताहरुले उपेन्द्र यादवलाई कालानागको संज्ञा दिदैं पुत्ला दहन गरेका थिए । प्रदीप यादव समर्थक जसपाका आक्रोशित कार्यकर्ताहरुले उपेन्द्र यादव मुर्दावाद, कालानाग उपेन्द्र मधेश छोड, उपेन्द्र यादव मुर्दावाद, जसपाका शान प्रदिप यादव जिन्दावाद, हाम्रो नेता कस्तो ? प्रदिप यादव जस्तो ! लगायतका चर्को नारा लगाउंदै शनिबार पनि दिउंसो घण्टाघर नजिकै पुत्ला दहन गरेका हुन ।


सांसद यादवनिकट जसपाका कार्यकर्ताहरूले अध्यक्ष यादवले पटक पटक वीरगञ्जलाई ठग्दै आएको आरोप लगाउंदै यसपटक पनि अन्तिम समयमा आएर षडयन्त्रपुर्वक ठगेको भन्दै पर्सा जिल्ला प्रवेश गर्न नदिने चेतावनी समेत दिएका छन् । पुत्ला दहन अघि कालो झन्डासहित सांसद यादव समर्थकहरूको मोटरसाइकल जुलुस सहित नगरको विभिन्न भागको परिक्रमा गर्दै घण्टाघर चोकमा पुगेका थिए ।

कुन्दन कुमार सिंहको नेतृत्वमा भएको प्रदर्शनमा जसपा वीरगंज महानगरका उपाध्यक्ष शेख रुस्तम, समाजवादी युवा संघका वीरगंज महानगर अध्यक्ष सद्दाम हुसैन, हरिन्द्र साह, अंशु साह कानू, समाजवादी विद्यार्थी यूनियन पर्साका अध्यक्ष एजाज बाबु रांकि लगायतका सयौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसैबीच सांसद प्रदीप यादवले मधेस आन्दोलनको अगुवाइ गर्ने वीरगञ्ज फेरि ठगिएको भन्दै समाजिक सञ्जालमा अध्यक्ष यादव विरुद्ध आक्रोश व्यक्त गरेका छन् । मन्त्रिपरिषद् विस्तारमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नालाई मात्रै च्यापेको कारण यसको ठूलो मूल्य चुकाउनुपर्ने सांसद प्रदीपले चेतावनी दिएका छन् । उनले समाजिक सञ्जाल फेसबूकमा आफ्नो प्रतिक्रिया दिदै भनेका छन ‘जनाधार र योगदानको कदर गर्न नेतृत्वबाट गम्भीर चुक भएको’ भनेका छन् ।

मधेश आन्दोलनको उद्दगम स्थल बीरगञ्ज भएको र विद्रोहको बिगुल फुक्ने तथा आन्दोलनको आधिबेरी ल्याउने स्थानलाई नजर अन्दाज र किनारा गरिएको भन्दै सांसद यादवले आक्रोश पोखेका हुन् ।

मधेशी जनअधिकार फोरम नेपाल स्थापनादेखि आफ्नो बलिदान र योगदान दिँदै आएको वीरगञ्ज आज फेरि ठगिएको र यसले पर्सेली जनता दुखित र आक्रोशित भएको भन्दै सांसद यादवले अध्यक्ष उपेन्द्रको ध्यानाकर्षण गराएका छन् ।

‘हाम्रो पार्टीका अध्यक्षज्यूले मन्त्रिमण्डलमा समावेश हुनेहरुको नाम छनोट गरिरहँदा सम्पूर्ण पर्सेली जनताको नजर थियो । यसपटक पक्कै पर्सा र वीरगञ्जलाई न्याय र सम्मान गरिनेछ भन्ने विश्वास थियो, योगदानको प्रतिफल दिइनेछ भन्ने विश्वास थियो । तर प्रतिफल उल्टो भयो,’ भन्ने गुनासो समेत उनले गरेका छन् । 
 


Author

थप समाचार
x