राजनीति

भ्रष्टाचार गर्ने नेतालाई छुट छैन : अध्यक्ष नेपाल

इकागज |
असोज २३, २०७८ शनिबार १८:२९ बजे

फाइल तस्बिर

काभ्रेपलाञ्चोक- कम्युनिस्ट आचरणबाट नेतृत्वमा पुगेका कुनै पनि नेतालाई भ्रष्टाचार गर्ने छुट नभएको पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । नेकपा एकीकृत समाजवादी काभ्रे जिल्ला पार्टी कार्यालयको शुभारम्भ एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचार गर्ने नेतालाई छुट नहुने बताएका हुन् ।
 
‘सत्तरी करोडको दागले काभ्रेली जनताको शिर निहुर्‍याउने काम भ्रष्टाचारीहरूले गरेका छन्,’ उनले भने, ‘त्यो दाग आगामी निर्वाचनमा मेटाउनु छ । त्यस्ता भ्रष्टाचारीहरूलाई अब यो मुलुकमा स्थान छैन भन्ने सन्देश निर्वाचनद्वारा गराउनु छ ।’

अबको दिन एकीकृत समाजवादीको भएको उनले बताए । 'एमालेका दिन गए । अब एमालेको कल्पना पनि नेपाली जनताले गर्न सक्ने छैनन् । फुर्ती नलगाए हुन्छ । विकृति, विसंगति, भ्रष्टाचार र अनियमितता भन्ने शब्द कम्युनिस्ट पार्टीमा हुन सक्दैन', अध्यक्ष नेपालले भने । 


कम्युनिस्ट पार्टी विचार प्रधान हुने नेता नेपालको भनाइ छ । 'विश्व इतिहासलाई कोट्याउँदा कस्ता–कस्ता बादशाह सत्ताच्युत भएका छन् भने केपी ओली के हो र ! जसले पाठ सिक्दैछ, अहम्ताले कहाँ पुर्‍याउँछ,’ उनले भने ।

केही दिनमै प्रदेश १ र बागमती प्रदेशको सत्ता पनि गुम्ने बताउँदै उनले यो सबैको कारण ओलीको अहमता भएको बताए । ओलीले विश्व इतिहासमा कम्युनिस्टमाथि कालो धब्बा लगाएको आरोप लगाए ।


Author

थप समाचार
x