सुर्खेत पुगेका प्रधानमन्त्री देउवाले भने : बाढी प्रभावितलाई सरकारले राहत दिन्छ
सुर्खेत - प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकहरूलाई तत्काल राहत उपलब्ध गराउने घोषणा गरेका छन् । लगातारको वर्षाका कारण आएको बाढी–पहिरोबाट पीडित बनेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने घोषणा गरेका हुन् । प्रधानमन्त्री देउवाले बुधबार मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट बाढी–पहिरोमा मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय भएको बताउँदै भौतिक क्षति भएका परिवारलाई पनि राहत प्याकेज उपलब्ध गराइने बताए ।
सुदूरपश्चिममा बाढी–पहिरोले पुर्याएको क्षतिको स्थलगत निरीक्षणमा निस्किएका प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘मृतकका परिवारलाई राहतको घोषणा गरिसकेका छौं, भौतिक क्षतिको मूल्याङ्कन गरेर थप राहत उपलब्ध गराउँछौं ।’ बाढी–पहिरोका कारण भएको पुननिर्माणको काम पनि तत्कालै अघि बढाइने देउवाको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले कृषकले बाली थन्क्याउने बेला आएको बाढी–पहिरोले ठूलो क्षति पु¥याएको बताउँदै त्यसको मूल्याङ्कन गरेर कृषकलाई पनि राहत दिइने बताए । प्रधामन्त्री देउवाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सुरक्षा अंगका प्रमुखबाट कर्णालीमा बाढी–पहिरोले पुर्याएको क्षतिका विषयमा जानकारी लिएका छन् ।
‘अहिलेको वर्षाले जनधनको ठूलो क्षति पुर्याएको छ,’ देउवाले भने, ‘बाढी प्रभावितलाई क्षतिको एकीन गरेर तत्कालै राहत उपलब्ध गराइने छ ।’ प्रधानमन्त्री देउवाले कात्तिक तेस्रो साता हुने संयुक्त राष्ट्रसंघीय जलवायू परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा जलवायू परिवर्तनले नेपालले भोग्नु परेको चुनौतिका विषयमा आफूले धारणा राख्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया